Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

टिच फर नेपालले धनुषाका सामुदायिक विद्यालय सुधार्ने

विहीबार, २९ माघ २०७१

ललितपुर २९ माघ / टिच फर नेपालले आफ्नो कार्यक्रमलाई धनुषामा पनि विस्तार गरेको छ । संस्थाले सामुदायिक विद्यालयहरुमा (प्रज्ञार्थी) स्वयंसेवक शिक्षकबाट पठन पाठन गराउँदै आएको छ । १ हजार ५५ निवेदकबाट छानिएका ६० जना प्रज्ञार्थी मार्फत आउँदो शैक्षिक सत्रबाट धनुषाका विभिन्न सामुदायिक विद्यालयमा पठनपाठन गर्ने संस्थाको योजना छ । छनौट भएकाहरुलाई बुधबार देखि शुरु ४५ दिने प्रशिक्षण कार्यक्रममा राखिएको छ ।

तालिममा सिकेका कुराहरुलाई उनीहरुले आआफ्ना जिम्मामा परेका विद्यालयमा लागू गरेर सामुदायिक विद्यालयको पठन पाठन सुधार गर्ने छन् । शिक्षण सुधार सामुदायिक र संस्थागत विद्यालय विचको असमानता हटाउने उद्धेश्यले सन् २०१३ देखि संस्थाले ललितपुर जिल्लाका सामुदायिक विद्यालयबाट कार्यक्रम शुरु गरेको थियो ।

संस्थाले दोश्रो चरणका गत बर्ष देखि सिन्धुपाल्चोकमा कार्यक्रम विस्तार गरेको छ । अहिले सम्म दुई जिल्लाका २५ विद्यालयमा ४९ जना प्रज्ञार्थी कृयाशिल रहेको संस्थाकी सञ्चार अधिकृत श्वेता बानियाँले जानकारी दिईन् । धनुषामा कार्यक्रम विस्तार भएपछि करिव ३६ सय विद्यार्थीले पढ्ने मौका पाउने उनले बताईन् । कुन कुन विद्यालयमा कार्यक्रम गर्ने भन्ने यकिन हुन भने बाँकी रहेको उनको भनाई छ ।

धनुषामा कार्यक्रम विस्तार गर्न आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै श्रींलकाका सर्वोदय अभियान संस्थापक डा. ए टि आर्यरत्नले टिच फर नेपालले गरेको शिक्षाको अभियानलाई गाउँ पुर्याउन सफल भएकामा बधाई दिनु भयो । नेपालका लागी फिनलान्डका राजगुत अस्को लुक्काक्एनले युवाहरुले गरेको कामले प्रोत्साहन गरेको बताए । अमेरीकी राजदूतासको पब्लिक अफेयर्स सेक्सनका प्रमुख सुजन पार्कर वर्नसले टिच फर नेपाललाई सहयोग गर्न पाउनुमा खुसी भएको बताए ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डा. डिल्ली रिमालले यो अभियानले शिक्षामा परिवर्तन ल्याउन सघाएको बताए । मन्त्रालयका सह- सचिव डा. लवदेव अवस्थीले सरकारले पनि मात्रै गर्न नसक्ने काममा यस्ता संस्थाहरुको सहयोगले सम्भव हुने बताए । 

प्रतिक्रिया