Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

प्रधानमन्त्रीले अंग्रेजीमा भाषण गर्दा विद्यार्थीले सोधे ‘के अब अंग्रेजीमै पढाई हुन्छ ?’

बुधबार, १५ बैशाख २०७३

काठमाडौँ – कार्यक्रममा आएका स्वदेशी बाहेक विदेशीले अंग्रेजीमा भाषण गर्छन् भन्ने कुरा धेरैलाई अवगत छ । तर देशकै कार्यकारी प्रमुखले अंग्रेजीमा भाषण गर्छन भन्ने कुरा सायदैलाई अनुमान होला ? देशका प्रमुख पदमा बसेका केही नेतालाई त अंग्रेजी फिटिक्कै नआउने कुरा पनि सञ्चारमाध्यममा बेला बेला आइरहन्छ । केहीलाई भने खररर अंग्रेजी नआउने भएपनि अग्रेजी बोलेको बुझ्ने र त्यसको हल्काफुल्का जवाफ फर्काउने गर्छन् । 

तर मंगलबार एक कार्यक्रममा सहभागीले अनौठो अनुभव पाए । शिक्षा मन्त्रालयले भर्ना अभियान अन्तर्गतको निशुल्क पाठ्यपुस्तक वितरण अभियान कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोलाइएका प्रधानमन्त्री केपी शर्माले यस्तै अनौठो पारिदिए । 

कार्यक्रम सञ्चालक रवीन्द्र अधिकारीले नेपाली भाषामै कार्यक्रममा प्रधानमन्त्रीलाई स्वागत गरे । विद्यार्थीलाई पाठ्यपुस्तक वितरणपछि आफुलाई हतार भएको र बोल्न पालो दिन प्रधानमन्त्रीले संकेत गरेपछि कार्यक्रम सञ्चालक अधिकारीले उनलाई रोष्टममा बोल्न आग्रह गरे । 

तर प्रधानमन्त्रीले सबैलाई चकित पार्दै ‘हेलो, हाउ आर यु, आर यु ह्यापी, टुडे वी आर ह्यापी’ भनेपछि कार्यक्रममा सहभागी विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीले मुखामुख गरे । 

कार्यक्रममा एक घण्टा ढिलो पुगेका प्रधानमन्त्रीले करिब साढेँ २ मिनेटको भाषण अग्रेजीमै गरे ।  ‘टुडे वी डिस्ट्रिब्युट्र्स द बुक, सो वी ह्यापी, यु आर फ्युचर अफ दिस कन्ट्री, प्लिज डु वेल’

‘आज हामीले पाठ्यपुस्तक वितरण गर्यौँ । त्यसैले खुशी छौँ । तपाई सबै भोली यस देशका भविष्य हुनुहुन्छ । राम्रो गर्नुस ।’ प्रधानमन्त्रीले यति भन्दा उपस्थित शिक्षकले पनि मुखामुख गरे । उनीहरुको अनुमान प्रधानमन्त्रीले लामै राजनीतिक भाषण देलान भन्ने थियो । तर जम्माजम्मी तीन मिनेट मात्रै रोष्टममा उभिएका प्रधानमन्त्री ७ मिनेटमै कार्यक्रमबाट बाहिरिए । 

मुख्य अतिथि त्यसमा पनि प्रधानमन्त्रीले अंग्रेजीमा भाषण गरेर गएपछि विद्यार्थीहरु एक अर्कामा कानेखुशी गर्न थाले ।  ‘प्रधानमन्त्रीले त अंग्रेजीमा भाषण गरे’ कक्षा १० की रमिला खड्काले आश्चर्य व्यक्त गर्दै नजिकै रहेकी साथीलाई सोधिन् के अब अंग्रेजीमै पढाई हुन्छ ?’ स्वंयमसेवकका रुपमा खटिएकी उनकी साथीले ‘खोई ?’ भन्ने जवाफ दिइन् । 

प्रधानमन्त्रीले सबैको अनुमान विपरित अंग्रेजीमा भाषण त दिए । तर अग्रेजी माध्यममा पढाई हुनुपर्ने आवश्यकताबारे एक शब्द पनि बोलेनन् । त्यसैले पनि विद्यार्थी आश्चर्यमा परेका थिए । 

निःशुल्क पाठ्यपुस्तक वितरण गरेपछि विद्यार्थीमा खुशी व्यक्त गरेका प्रधानमन्त्री शिक्षा, भर्ना अभियान र बढ्दै गएको अंग्रेजी भाषाको महत्व र त्यसलाई कक्षाकोठामा लागु गर्ने कुरामा पनि केही बोलेनन् ।  

सोही विद्यालयमा कक्षा ८ मा पढ्ने प्रेम तामाङले पनि भने ‘यसरी प्रधानमन्त्रीले अंग्रेजीमा भाषण गर्लान भनेर हामीले सोचेकै थिएनौँ । उहाँले भाषण गर्दा त हामी अंग्रेजीमा नै पढिरहेका छौँ की भन्ने अनुभूति पनि भयो । तर अब कक्षाकोठामा के हुन्छ खोई, केही थाहा छैन् ।’

विद्यालयका प्रधानाध्यापक देवराज गुरुङले प्रधानमन्त्रीले अंग्रेजीमा गरेको सम्बोधन आफुलाई पनि मन परेको बताए । उनले अहिले कक्षा ५ सम्म मात्रै अंग्रेजी माध्यमबाट पढाई भइरहेको र ६ देखि १० कक्षासम्म पढाउन नसकिएको बताए । 

प्रधानमन्त्रीको अंग्रेजी सम्बोधनबाट अब सामुदायिक विद्यालयमा अनिवार्य रुपमा अंग्रेजी माध्यमबाटै पढाई हुनुपर्ने आवश्यकता औल्याएको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए । यसबारेमा सरकारले आवश्यक पहल गरिदिनुपर्ने पनि उनले आग्रह गरे । 

प्रधानमन्त्रीले बोलेपछि एक अर्कामा मुखामुख गरिरहेका विद्यार्थीको अनुहारमा अनौठो चमक पनि थियो ।  प्रधानमन्त्रीको अंग्रेजी भाषणपछि नजिकै टंंगाल उच्च माविका प्रधानाध्यापक राजेन्द्र अधिकारीले पनि आश्चर्य व्यक्त गर्दै भने ‘अब यसरी अंग्रेजीमा भाषण गरेको भए विद्यार्थीमा अग्रेजी माध्यमको पढाईप्रति थप लगाव बस्थ्यो । तर यसरी कार्यक्रम मात्र झ्ल्याकझुलुक अंग्रेजी बोलेर के होला र ?’ 

प्रधानमन्त्री देखि सरकारी कर्मचारी र शिक्षक सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाएर नै पठनपाठनमा सुधार ल्याउन सकिनेमा प्रअ अधिकारीले जोड दिए । कार्यक्रममा शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले सामुदायिक विद्यालयको गुणस्तर केही खस्किएको भएपनि त्यसलाई उकास्न आवश्यक प्रयास भइरहेको बताए । 

नतिजा र पठनपाठनका हिसाबले नीजि विद्यालयको चर्चा चलेको भन्दै उनले सामुदायिक विद्यालय सुधारका लागी सरकारले आवश्यक पहल गरिरहेको दाबी समेत गरे ।  भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक पछि अब घरदैलो कार्यक्रम गरिने भन्दै निर्देशक अर्यालले सामुदायिक विद्यालयमा सुधारमा सबैले जोड दिनुपर्ने बताए । 

यस्तै काठमाडौँका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याएर टिकाइरहन शिक्षक, अभिभावकको भूमिका हुने भन्दै जिम्मेवार भएर आफ्नो उत्तरदायित्व पुरा गर्न आग्रह गरे ।   

‘हामी सामुदायिक विद्यालयको पठनपाठन सुधारेर विद्यार्थीलाई विद्यालयमै टिकाउन सबै प्रयास गरिरहेका छौँ’ उनले भने ‘तर यस अभियानलाई शिक्षक अभिभावक र विद्यार्थी स्वंयम सबैले साथ दिन जरुरी छ ।’   कार्यक्रममा एक कक्षाका ३ जनालाई गरी विभिन्न कक्षाका विद्यार्थीलाई नमुनाका रुपमा पाठ्यपुस्तक वितरण गरिएको थियो ।

प्रकाशित मिति २०७३ बैशाख १५ गते 

 

प्रतिक्रिया