Edukhabar
विहीबार, १० असोज २०८१
विचार / विमर्श

शिक्षकले बधाई नपाए सम्म सुध्रन्न सामुदायिक शिक्षा

मंगलबार, १४ बैशाख २०७३

- सन्तोष विष्ट / नेपालको विद्यालय तहको सामुदायिक शिक्षा किन सुध्रेन भन्ने प्रश्न ग¥यौं भने अधिकांशको उत्तर हुन्छ, “शिक्षकले गर्ने राजनीति र गैर जिम्मेवारी प्रवृति ।” यो कुरा स्वयं सोही तहका शिक्षक समेत निर्धक्क भन्छन् । हुन त एक तर्फी रुपमा शिक्षकलाई मात्र दोष थोपरिनु उपयुक्त नहोला, विद्यालय शिक्षाको बेथितिमा राज्यको अकर्मण्यता, तालुक कार्यालयका कर्मचारी, राजनीतिक दल, अभिभावक समेतको गैर जिम्मेवारी पन मुख्य पाटो हो ।

तर, शिक्षण सिकाइको कार्यमा प्रत्यक्ष सरोकार राख्ने शिक्षकले मात्र पनि जिम्मेवारी बहन गर्ने हो भने अहिलेको जस्तो स्थिति पक्कै आउने थिएन । किनभने शैक्षिक क्रियाकलाप र विद्यार्थीको सिकाइको उपलब्धि तथा शैक्षिक सुधारको प्रमुख आधार भनेका शिक्षक नै हुन् ।

हामी कहाँ दुई थरीको शिक्षा व्यवस्था रहेको छ, राज्यका तर्फबाट सञ्चालित सामुदायिक (सरकारी) र निजी क्षेत्रबाट सञ्चालित संस्थागत । शिक्षण पद्धति, पाठ्यपुस्तक, भौतिक संरचना, सेवा सुविधा सबै फरक यी दुईका बीच । जसले गर्दा दुबै थरी विद्यालयका बिच शैक्षिक गुणस्तर तथा विद्यार्थीको शैक्षिक उपलब्धि मूल्याङ्कनका बिच निकै फरक पाइन्छ ।

परीक्षाको नतिजा हेर्ने हो भने संस्थागत विद्यालयहरु बलिया देखिन्छन, जसका कारण संस्थागत विद्यालय प्रति आकर्षण बढ्दो छ भने सामुदायिक विद्यालय प्रतिको आकर्षण खस्कदो छ । राज्यको लगानी र दातृ निकायले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरी रहे पनि त्यसअनुरुप परिणाम बनाउने पहल भएको पाइदैन । आजका साना केटाकेटी भोली देशका कर्णाधार हुन् यिनीहरुको शैक्षिक अवस्था र भविष्य प्रति राज्य र  संलग्न पक्ष गैर जिम्मेवार र लापरवाह रहनु बिडम्बना पूर्ण छ ।

सामुदायिक विद्यालयमा शिक्षण गर्ने अधिकांश शिक्षकहरु शिक्षक सेवा आयोग उत्तीर्ण गरेका छन्, सामुदायिक स्तरबाट राहत, करार वा अस्थायी सेवामा समेत निश्चित मापदण्ड पूरा गरेका व्यक्तिहरु बिच खुला प्रतिस्पर्धाबाट सम्पूर्ण रीत र प्रक्रिया पूरा गरी शिक्षक छनौट गरिन्छन्, यसरी प्रतिस्पर्धाबाट आएका अब्बल शिक्षकले पढाएका विद्यार्थीको नतिजा अब्बल हुन सकिरहेको छ्रैन्, किन ? सामुदायिक विद्यालयमा शिक्षकको तलब, सुविधा हेर्ने हो भने त्यहाँ पनि दुई किसिमको पाइन्छ, एक स्थायी र अर्को अस्थायी वा राहत । राहत, करार र अस्थायी शिक्षकले पटक पटक सेवा सुविधा सम्बन्धमा दोस्रो दर्जाको अनुभूति भयो भनेर मागहरु राख्ने गरेका छन् । आधा पेट भोको रहेर शैक्षिक उन्नति हुन नसक्ने जिकीर उनीहरुको छ ।

तर, अर्को तर्फ संस्थागत विद्यालयलाई हेर्ने हो भने, त्यहाँ शिक्षक नियुक्तिमा स्पष्ट मापदण्ड, शैक्षिक योग्यता, सेवा सुविधा र आर्कषक तलबी सुविधा यी सबैको अभाव रहन्छ । कतिपय विद्यालयमा त योग्यता, अनुभव र शिक्षाको पृष्ठभूमिको ख्याल नगरी मोलमोलाइमा शिक्षक राख्ने (नियुत्त mगर्ने होइन) प्रवृति छ । यसरी न्यूनतम योग्यता समेत नभएका कतिपय शिक्षकले पढाएका विद्यार्थीहरुको नतिजा चाँहि अब्बल आउने गरेको छ । कतिपय संस्थागत विद्यालयहरुमा शैक्षिक योग्यता अनुसारका तहगत र विषयगत शिक्षक छैनन् । 

दिनभर घोटिएर पढाउनु पर्ने, तलब तथा अन्य सुविधा कम भएर पनि पढाउनु पर्ने वाध्यताका बिच पढाउँछन् । आजकै दिनमा कतिपय विद्यालयहरुमा शिक्षा नियमावली अनुसार योग्यता नपुगेका शिक्षकहरुले माथिल्लो तह सम्म पढाइरहेका छन् । आधा पेट भोको र दिनभर रटानका बीचमा रहेको शिक्षकहरुले पढाउने संस्थागत विद्यालयको एसएलसी तथा अन्य सिकाईको उपलब्धी मापन गर्ने हो भने यिनीहरु नै अब्बल देखिन्छन्, कसरी ?
प्रायः सामुदायिक विद्यालयहरुमा कोर्ष पूरा हुँदैन । महत्वपूर्ण भन्दै छानी छानी सजिलो पाठ पढाउने प्रवृत्ति नयाँ होइन । परीक्षाका बेला चिटिङ गराएर भएपनि आफ्नो विषय र विद्यालयको नतिजा राम्रो बनाउने दाउ हेर्ने प्रवृति बढ्दो छ । केन्द्राध्यक्षलाई निरीक्षकमा विद्यालयहरुको प्रतिनिधित्व गराउनु पर्ने दबाब आउने गरेका छन् । केन्द्राध्यक्षले परीक्षालाई मर्यादित र व्यवस्थित गर्न खोजे “तलाई हामीले जान्या छौं, हेरौला” भन्ने शब्दको प्रयोग हुने गरेको रहेछ ।

वर्षभरी कक्षामा नपढाउने र परीक्षाका बेला चिट चोराएर विद्यार्थीका बीच राम्रो शिक्षकको दर्जा लिन खोज्ने प्रवृति पनि पुरानो होइन । वर्षभरी राजनीति गर्ने अनि परीक्षाका बेला कक्षामा पढाउने शिक्षकहरुको पनि कमि छैन । कक्षामा नपढाई परीक्षा चिट चोराउने शिक्षकलाई परीक्षाका बेला औसत विद्यार्थीले राम्रो मान्लान तर जब विद्यार्थी उच्च शिक्षाका लागि तयार हुन्छ, जब उसले विद्यालय शिक्षामा हासिल गर्नु पर्ने ज्ञानको अभावमा उच्च शिक्षामा अपेक्षकृत उपलब्धि हासिल गर्न सक्दैन र तहगत हासिल गर्नुपर्ने ज्ञानको अभावमा उच्च शिक्षामा समेत अब्बल गाह्रो हुन्छ ।

सामुदायिक विद्यालयका शिक्षकहरुको अवस्था हेर्ने हो भने, कतिपय शिक्षकहरुले विद्यालयमा भन्दा बढी समय अन्यत्र लगाउने गरेको पाइन्छ । सायद कुन संस्था अछुतो होला त्यसको सदस्यमा शिक्षक नभएको ? राजनीतिक दलको सकृय कार्यकर्ता, वन समिति, उपभोक्ता समिति, मानव अधिकार, वडा, क्षेत्र, नगरपालीका वा जिल्ला अन्तर्गतका राजनीतिक वा अन्य समिति, सहकारी, बिमा एजेण्ट, यहाँ सम्म की महिला समितिमा वा समितिमा नबसे पनि सम्पूर्ण कार्यभार पुरुष शिक्षकले नै लिने गरेको पाइन्छ ।

यसरी शिक्षकको ध्यान शिक्षण सिकाई र अध्ययन अध्यापन भन्दा बाहिर तर्फ लाग्ने गरको छ । देशको राजनीतिको मुख्य प्रयोगशाला विद्यालयहरु बनेका छन् । विद्यालय व्यवस्थापन समिति गठन गर्दा समेत राजनीतिक झझल्को आउने गरेको छ । प्रधानाध्यापकहरु समेत शिक्षा नियमावलीलाई लत्याएर बनाइएको समाचार आउने गरेका छन् । यति हुँदासम्म पनि सम्बन्धित निकाय समेत मौन बसिदिँदा, दलगत र व्यक्तिगत स्वार्थमा विद्यार्थीको भविष्य अन्धकार हुँदैछ । अहिलेको यस्तै परिपाटिको विद्यालय शिक्षाका कारण उच्च शिक्षामा समेत सोचे अनुरुपको प्रतिफल प्राप्त हुन सकिरहेको छैन । धन्न केही सामुदायिक विद्यालयहरु र संस्थागत विद्यालयहरुले इज्जत धानेका छन् ।

संस्थागत विद्यालयहरुमा अनुशासन हुन्छ, त्यहाँ शिक्षक र विद्यार्थी अनुशासनमा हुन्छन् र शैक्षिक गतिविधिहरु पनि सोही अनुसार संचालन हुन्छन् । संस्थागत विद्यालयमा हुने गरेको व्यवस्थापन र अनुशासन कै कारण नतिजा अब्बल हुने गरेको छ । केही सामुदायिक विद्यालयहरुमा समेत सही व्यवस्थापन र नेतृत्वका कारण ती विद्यालयहरु अब्बल नै रहेका छन् । सबै शिक्षकहरु पनि राजनीतिमा लागेका छैनन् तर केहीले गर्दा उनीहरुको मनोबल खस्केको मात्र हो, यदि सबै मिलेर आ—आफ्नो जिम्मेवारी इमान्दारितका साथ निभाउने र विद्यालय समयमा कुनै राजनीतिक दल वा अन्य कसैको कार्यकर्ता वा एजेण्ड नभएर शिक्षक हुँ र विद्यार्थीलाई सम्झाउने भन्दा पढाउने काम गरियो भने कुनै पनि शिक्षक र विद्यालय आफैमा कमजोर छैनन् ।

शिक्षकहरु विद्यालयको नतिजा केन्द्रीत हुनु पर्छ, रहरले बुझाएर पढाउनु पर्छ, विद्यार्थीका हरेक क्रियाकलापसँग परिचित हुनुपर्छ, विद्यार्थीको क्षमता पहिचान गरी सोही अनुरुप शिक्षण सिकाइ गरिनु पर्छ, । त्यसो नगर्दा कतिपय विद्यार्थीको भविष्य अन्धकारमय हुनेछ । ठुलो बन्ने सपना चकनाचुर हुनेछ । विद्यार्थी र अभिभावकले कल्पना गरेको ठूलो मान्छे बन्ने सपना सपना मै विलाउनेछ । उच्च शिक्षामा तह अनुसार ज्ञान हासिल गर्न नसक्दा विद्यार्थीमा पढाइप्रतिको रुचि हट्नेछ, वेरोजगार युवा उत्पादन हुने छन्, अनि देशका युवा विदेश पलायन हुने छन् । जसको परिणाम हामी भोग्दै छौं ।

यस्तै समस्याहरु समाधानका लागि सबै भन्दा महत्पूर्ण पाटो स्वयं शिक्षक नै हुन् । दोस्रो राजनीति । स्वम् शिक्षक राजनीतिक दलले यदि दृढ संकल्पका साथ शैक्षिक सुधारमा लाग्ने हो भने अवश्यक पनि सुधार गर्न सकिन्छ । एका आध शिक्षकले सुधार गर्न खोज्दा राजनीतिक दलका आडमा आउने कतिपय शिक्षकले तिनीहरुलाई निस्तेज गर्ने गरेका छन् । तसर्थ विद्यालय शिक्षामा सुधार नहुन्जेल देशले उच्च शिक्षामा आशा अनुरुपको प्रगति गर्न सक्दैन । तसर्थ विद्यालय क्षेत्रलाई राजनीतिक दलहरुले राजनीतिको प्रयोग गर्ने थलो भन्दा राजनीति मुक्त क्षेत्र बनाउन जरुरी छ र त्यसमा आवद्ध सबै शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी स्वयंले आ—आफ्ना जिम्मेवारीहरु निर्वाह गर्ने हो भने शिक्षाको गुणस्तरमा अवश्य सुधार हुनेछ ।

भनिन्छ, यदि शिक्षक कक्षामा उड्यो भने विद्यार्थी दौडन्छ, शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्दछ, शिक्षक बस्यो भने विद्यार्थी सुत्दछ, शिक्षक सुत्यो भने विद्यार्थी मर्दछ । त्यसैले विद्यार्थीलाई मार्ग निर्देशन गर्ने शिक्षकले हो, विद्यार्थीलाई शिक्षण सिकाई कार्यमा सक्रिय रुपमा सहभागी गराउन सक्रिय हुनु जरुरी छ । विद्यार्थीलाई पढाईको महत्व माथि प्रकाश पार्दै शिक्षण सिकाई र अध्ययन अध्यापन तर्फ ध्यान केन्द्रीत गराउनुका साथै सकारात्मक सोचको विकास गरी विद्यार्थीको क्षमता अभिवृद्धि तर्फ समेत ध्यान दिनु आजको अनिवार्यता हो । नयाँ प्रविधिको सहयोगमा अध्ययन अध्यापनका कार्यलाई मनोरञ्जनात्मक बनाई विद्यार्थीको सुनौलो भविष्यका लागि मार्ग निर्देश गर्नु नै शिक्षकको पहिलो दायित्व हो । आशा छ, नयाँ शैक्षिक सत्र देखि पुराना अवगुणहरु हराउने छन्, एसएलसीको नतिजा आउँदा शिक्षकहरु बधाई पात्र बनुन र आफूमा गर्व गर्न सक्ने होउन् ।

प्रकाशित मिति २०७३ बैशाख १४ गते

प्रतिक्रिया