Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

दुई दिनभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्छ – शिक्षामन्त्री 

मंगलबार, १४ बैशाख २०७३

काठमाडौँ, १४ बैशाख । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार सार्वभौम संसद्लाई छलेर कुनै अध्यादेश ल्याउने तयारीमा नरहेको दाबी गरेका छन् ।  महोत्तरीको बर्दिवास–४ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले  यस्तो दाबी गरेका हुन् ।  

मन्त्री पोखरेलले सरकार संसद्को बर्खे अधिवेशन बोलाउने तयारीमा लागिसकेको जानकारी दिए  । सरकार जनता र संसद्प्रति उत्तरदायी रहेकाले लोकतान्त्रिक मूल्य मान्यतामा आँच आउन नदिन प्रतिबद्घ रहेको उनको दाबी थियो । 

सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे छलफल र अन्य तयारी बढाइसकेकाले अहिले अध्यादेशबारे सुनिने कुरा निराधार रहेको पोखरेलले बताए ।  संसद् नचलेका बेला मुलुकको आवश्यकताका लागि तत्काल अध्यादेशबाट काम गर्नुपर्ने परिस्थिति आइपर्दा अध्यादेशको अभ्यास लोकतान्त्रिक प्रणालीकै अङ्ग भएपनि सरकारले अहिले यतातिर नसोचेको मन्त्री पोखरेलले स्पष्ट पारे । 

विद्यालयका प्राथमिक तहका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गर्दै अबका दुई दिनभित्र मुलुकका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्ने उनले जिकिर समेत गरे । उनले सोमबार नै बर्दिवास–१ स्थित देउराली उच्चमावि र बर्दिवास–३ स्थित जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गरेका थिए । 

रासस 

 

प्रतिक्रिया