- हेम लम्साल / नयाँ शैक्षिक सत्र शुरु भएसंगै देशभरका सामुदायिक विद्यालयमा चर्को नारा लगाउँदै भर्ना अभियान शुरु गरिएको छ । सरकार, अभिभावक, विद्यार्थी, शैक्षिक सरोकारवाला र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले सामुदायिक विद्यालयमा भर्ना अभियान चलाउदा हामीले विद्यालयमा विद्यार्थी जानसक्ने वातावरण कत्तिको बनाएका छौँ ? एकपटक मनन गरौँ । सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफ्नो छोराछोरीलाई नीजि विद्यालयमा पढाइरहेका छन् । कर्णाली अञ्चलका धेरैजसो बुद्धिजिवीले आफ्ना सन्तानलाई बर्षौबर्ष काठमाडौमा पढाएर एसएलसी परीक्षामा दुर्गम कर्णालीको विद्यार्थी भनेर चिनाउँछन् । सरकारी कर्मचारी, नेता र उच्चपदस्थहरुले आफ्ना सन्तानलाई व्यवस्थित, उत्कृष्ट नीजि विद्यालयमा पढाएर सार्वजनिक कार्यक्रममा सामुदायिक विद्यालयको चर्को भाषण गर्छन् ।
शिक्षामा बजेट भएन, शिक्षा व्यवस्थित र व्यवसायिक भएन, प्राविधिक शिक्षा नहुँदा र भएकालाई पनि पर्याप्त रोजगारीको अवसर नहुँदा दिनहुँ दुई हजार जना विदेश गइरहेको पनि हामी भनिरहेका छौँ । भएको बजेटको सदुपयोग भन्दा पनि करोडौँ भ्रष्टाचार र ‘फ्रिज’ भइरहेको समाचार पनि हामीले सुनेकै छौँ । यी सबै तथ्य हाम्रैसामु हुदाँ हामीले कति हिउँदमा खुल्ला चौरमा घाम तापेर र कति बर्षामा भिज्दै यस्ता ‘बहस’ गरिरह्यौँ ? सार्वजनिक शिक्षा सुधारका लागी नयाँ शिक्षा नीति, राष्ट्रिय शिक्षा आयोग, एसएसआरपी, एसएसडिपी लगायत अरु कति कार्यक्रम र ‘फोरम’को त भनिसाध्य छैन् ।
काठमाडौँका धेरैजसो होटलमा भएका हाम्रा सेमिनारहरुले धेरै बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्यौँ । सरकारी र गैरसरकारी संघ संस्थाले शिक्षामा व्यापक सुधारको खाचोँ औल्याएर ठूल्ठुला अभियान र छलफल पनि चलायौँ । तर यतिका दशकसम्म हामीले गरेको प्रयास कति सफल भयो ? कति विद्यार्थीले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर, उत्कृष्ट र भविष्यका लागी समेत उपयोगी भनेर पढ्ने इच्छा देखाए ? विदेशी दाताले यति र उति लगानीमा यतिका संख्यामा विद्यालय बनाए भनेर प्रचार गर्दा हामी मुलुकमै भएकाहरुले हाम्रै घरनजिकका कति सामुदायिक विद्यालयलाई आफ्नै निगरानीमा सुधार प्रयास गर्यौँ ? अझ सोझै भन्दा आफ्नै सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ र मैले दिनहुँ एउटा जिम्मेवार अभिभावकको नाताले शिक्षक र विद्यार्थीलाई आवश्यक सुझाव, सल्लाह र सहयोग गर्नुपर्छ भन्ने धारणा लिएपनि शुरु गर्यौ की गरेनौँ ? सकेसम्म त गरेकै हुँ भन्ने हाम्रो परनिर्भर शैलीको जवाफ त छ । तर त्यो कत्तिको जिम्मेवार हो । हामी जति पनि सरकारी तथा गैरसरकारी संघ संस्था छौँ । सबैले सार्वजनिक शिक्षा सुधार र विकासकै लागी भनेर विभिन्न कार्यक्रम चलाइरहेका छौँ । तर व्यवहारमा हामी कति जिम्मेवार भएर आफैले गरेको काम आफ्नो घरपरिवार र छोराछोरीसंग छलफल गर्यौ । बाहिर यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर भित्र ह्या.....सबै भनेजस्तो कहाँ हुन्छ ? भनेर हेलचेक्र्याई कति गयौँ ? एकपटक फेरी सोचौँ ।
शिक्षाका चार मुख्य समस्या
मैले काम गरेकै अनुभव र भोगाई हेर्दा सामुदायिक शिक्षामा मुख्य चारओटा समस्या छन् । पहिलो हामी आफैलाई विश्वास छैन् की मैले सामुदायिक विद्यालयमै पढेर आएको हुँ र त्यतिबेलाको भन्दा अहिले भएका धेरै सुविधालाई उपयोग गरेर मैले मेरा छोरीछोरीलाई सामुदायिकमै पढाउनुपर्छ भनेर । अझ सोझै भनौ म शिक्षाको ‘हाकिम’ हुँ । मैले मेरो छोराछोरीलाई राम्रै र महंगो स्कुलमा पढाउनुपर्छ । यो परिवारको इज्जतसंग पनि जोडिन्छ । यसले सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ भन्ने मनोभाव भएपनि शुरु गर्न अनकनाईरहेका छौँ ।
दोश्रो हामीसंग अरुको राम्रो छ र हामी पनि आफै राम्रो गर्न सक्छौ भनेर आत्मविश्वास भएन । बरु आफुसंग भएको सबै तन, मन र धन दिएर त्यै ‘राम्रो’को फाइदा लियौँ । सामाजिक र आर्थिक रुपमा आफुसंग भएको श्रोत साधनको सहजतालाई सही उपयोग गर्न सकेनौँ । सजिलो गरी भन्दा हामीले सामुदायिक विद्यालयमा आफ्नो कुनै लगानी नभएको र गर्नै चाहेनौँ । बरु ठूलो लगानी भएको ठाउँमा हामीले सकी नसकी आफ्ना छोरीछोरीलाई पढ्न बल लगायौँ ।
तेश्रोमा सामुदायिक विद्यालयमा कार्यरत हर जोकोही अलिकति पनि त्यो आफ्नो हो, मैले राम्रो गर्नुपर्छ भनेर सधै सही रुपमा जिम्मेवार भएनौँ । यो सबैभन्दा ठूलो कमजोरी हो हाम्रो । यतिसम्म की आफ्नै घर छिमेकको सामुदायिक विद्यालयको कार्यक्रममा गएर यसो गरौँ, उसो गरौँ भनेर भाषण दियौँ तर सानो कामको पनि शुरुवात गरेनौँ । मैले यतिसम्म सहयोग गर्छु विद्यालय आजैबाट सुधार गरौँ भनेर पनि लागेनौँ ।
र चौथो कुरा सामुदायिक विद्यालयको सम्पूर्ण जिम्मेवारी बोकेर बसेका शैक्षिक निकायले आफ्नै कार्यालयको काम बाहेक (त्यो पनि धेरै सिमित) अरु गर्नै चाहेनौँ र जानेनौँ पनि । अनि मातहतका निकायलाई जिम्मेवार त बनाएनौँ नै भएका कर्मचारीलाई पनि कामको बोध गराएनौँ । बरु कसले कति ढाट्न र छल्न सक्छ । त्यसैलाई सिकायत गयौँ । यति भएपछि ‘मोनिटरिङ’ काम अलपत्र मात्रै परेन सामुदायिक विद्यालयमा भएको अलिकति विश्वास पनि क्रमशः टुट्दै गयो । यो विश्वास टुटाउनुमा शिक्षा क्षेत्रमै काम गर्ने हामी सरोकारवाला, सरकारी शिक्षा निकायका कर्मचारी अनि नेताकै ठूलो भूमिका छ ।
अब शुरु आफैबाट गरौँ
यदि हामी शिक्षामा जिम्मेवार भएर काम गरिरहेका छौँ भने हामी हरेक व्यक्तिले एउटा भीड बनाएर विद्यालय सुधार गरौ भन्नुभन्दा मैले कति सुधार गर्न सक्छु भन्नेतिर लागौँ । अहिले पनि देशभरका केही सामुदायिक विद्यालय यस्ता नमुना छन् । जसले हामी आफैलाई केही गर्न ठूलो उर्जा दिइरहेको छ। अहिले चलेको हल्लाजसरी सामुदायिक विद्यालयको गुणस्तर सकिएको र खस्किसकेको छैन् । तर पहिलेको तुलना र हाम्रो सोचाई तथा काम गराईको शैली हेर्दा सामुदायिक विद्यालय सक्किएकै हुन् भन्ने पनि लाग्छ । तर यदि आजै, अहिल्यै नै मैले सक्ने कुरामा सामुदायिक विद्यालय सुधार गर्न सक्छु भनेर लाग्यौ भने हामी अवश्य सफल हुन्छौँ ।
अहिलेसम्म त्यति ढिला नभएपनि हामीले गर्ने कामको शैलीमा परिवर्तन ल्याएनौँ भने भोली हामीले माफी पाउन सक्ने ठाउँ पनि छैन् । कारण हामीले सबैलाई सचेत गरायौ, जागरुक गरायौँ तर हामी चेतेर पनि आफैले पनि सानो पहल गरेनौँ । अब पहिलेको जस्तो सबै लुकाएर बस्ने वातावरण पनि छैन् । अहिलेको युवा वर्गले अलिकति पनि प्रयास थाल्यो भने हामी आफैले आफ्नै नाक जोगाएर हिड्न मुश्किल पर्न सक्छ । त्यसैले उचित विकल्पका साथ हामी आफै अगाडी बढौँ । त्यसको शूरुवात आफुबाट र आफनो घर परिवाटै गरौँ । सामुदायिक विद्यालय फोहोर छ भने पहिला आफैले त्यो फोहोर हटाउने साहस बोकौँ । आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाएर सही र दीर्घकालिन कामको शुरुवात गरौँ । यसका लागी मुख्य तीन कुरामा ध्यान दिन पनि उत्तिकै जरुरी छ ।
सामुदायिक विद्यालयमा छोराछोरी पढाऔँ, सन्ततिलाई पाठ सिकाऔँ
हामी सामुदायिक विद्यालय सुधारका नाममा व्यापार होइन् आफ्नै राष्ट्र बनाउँदैछौँ । यसको गहिरो भावलाई बुझौँ । किनकी हामीले राष्ट्र पनि बनाँउदैछौँ । देश विकासका लागी आफ्नो ठाउँबाट सक्ने काम गर्दैछौँ । यदि सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढायौँ भनेर देशको वास्तविक तथ्य हाम्रा सन्ततीले पनि थाहा पाउँछन् । र उनीहरु स्वंयम पनि जिम्मेवार पनि बन्छन् । यो नगरेर हामी कतिदिन आफुलाई र आफ्नो घरपरिवार अनि समाजलाई ढाट्न सकौला । होइन भने भोली आइपर्ने नैतिक जिम्मेवारी आजै किन पुरा नगर्ने ? त्यसैले पहिला सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाऔँ । यो अर्थमा नीजिमा पढाउन मिल्दैन, पढाउनुहुदैन् भन्ने होइन् । तर हामी शिक्षामै काम गर्ने र त्यसमा पनि सार्वजनिक शिक्षा सुधारका लागी काम गर्ने हुनाले नैतिक रुपमा यस कामको शूरुवात आफु, आफ्नो घरपरिवार, कार्यालय र समाजबाटै गरौँ । ताकी हामीलाई हाम्रो काममा जिम्मेवार बनाउन यसले भरपुर सहयोग गरोस र हामी आफै नमुना बनेर काम गरौँ ।
जिम्मेवार निकायलाई सुधारको बोध गराऔँ
अहिले पनि भनिन्छ ‘यदि सरकारले चाहने हो, अभिभावक र शिक्षकको साथ लिने हो भने सामुदायिक विद्यालय सुधार्न बर्षौ लाग्दैन् ।’ एक दुई महिनामै हामी त्यो नमूना दिन सक्छौँ । हो केही प्राविधिक समस्या सल्टिन समय लाग्ला । जस्तो सबै विद्यालयमा सबै विषयहरु अंग्रेजी माध्यमबाट पढाउन, विद्यालयका भौतिक श्रोतसाधन लगायत अन्य काममा समय लाग्ला । तर कक्षोकाठाको वातावरणलाई विद्यार्थी मैत्री र सामुदायिक बनाउन हामीलाई समय लाग्दैन् । सरकारी निकायमा बसेकाले जिम्मेवारी महुसुुस गर्ने र कडा ‘सर्कुलर’ जारी गर्ने हो भने पनि धेरै हदसम्म यो समस्या समाधान हुन्छ । अहिले जुन समस्या हामीमाझँमा छ । यसमा सरकारले आफ्ना निकायलाई जिम्मेवार बनाउन नसकेरै हो । यो स्वीकार्नुको विकल्प छैन् । काम सबैले गयौँ तर उत्कृष्टता दिन सकेनौँ । अहिलेको प्रतिष्पर्धात्मक र प्रविधिको युगमा हरेकले आधुनिक र गुणस्तरीय शिक्षा खोज्नुको कारण समयको माग हो । यो आवश्यकतालाई सबै सामुदायिक विद्यालयले पुरा गर्न सकेनन् । सरकारले झन ध्यानै दिएन् । जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमको पढाई, शिक्षकलाई आवश्यक तालिम र प्रशिक्षण अनि राम्रा विद्यालयका नमुना कामलाई सबैलाई विस्तार गरेको भएपनि धेरै हदसम्म यो समस्या समाधानतिल जान्थ्यो होला । तर विडम्बना त्यस्तो भएन । हामी आफै अरुले गरिदेला भनेर पर्खियौँ र बर्षौ सुधारको आशामा हात बानेर नबसेपनि उत्कृष्ट काम गर्न सकेनौँ । र यसको असर अभिभावक र विद्यार्थीमा सोझै पर्दै गयो र नीजि विद्यालयमा आकर्षण बढ्यो । त्यसैले सामुदायिक विद्यालय सुधारको जिम्मेवारी सम्बन्धित सरकारी निकायले लिनैपर्छ र हामी हरेक व्यक्तिहरुले सरकारलाई साथ दिनुपर्छ । यसको शुरुवात आफैबाट गर्नुपर्छ ।
गल्ती गर्यौँ तर अब नदोहोर्याउ
हामीसंग एउटा सुन्दर अवसर छ । त्यो के भने हामीले मुलुकको दीर्घकालिन विकास र विकासको पहिलो मापदण्ड शिक्षामा काम गरिरहेका छौँ । राज्यको विकासका लागी पहिलो राज्यका हरेक नागरिक शिशित हुनुपर्छ । त्यसको सबैभन्दा ठूलो जिम्मेवारी बोकेर हामी हिडीरहेका छौँ र दौडिरहेका छौ पनि । यसका साथै हाम्रो जस्तो प्राकृतिक श्रोत साधनले सम्पन्न मूलुकमा काम गर्ने र मुलुकको विकास गर्ने दक्ष जनशक्ति उत्पादन हामी गर्दैछौँ । यसका लागी विगतमा जे भयो त्यो सबै भूल भनेर विर्सियौँ । दलीय भागबण्डा, पार्टीगत स्वार्थ, हाम्रा आफ्नै पनि साना तर निकै महत्वपूर्ण स्वार्थहरु पनि अब छाडौँ । उसले किन गरेन ? भन्दा मैले किन गरिन् । उसले नराम्रो गर्यो भन्दा मैले राम्रो नै गर्नुपर्छ भनेर लागौँ । विगतका दिनमा हामी शिक्षित वर्गले नै सामुदायिक विद्यालयको सुधार भन्दा बढी आलोचना गरेर अहिले यो समीक्षात्मक घडीमा पुगेका हौँ । यसैले अब यस्ता गल्ती नगरौँ र कुनै पनि हालतमा नदोहोर्याउने प्रण गरौँ । हामीले यसकारण पनि गल्ती नदोहोर्याउने प्रण गर्नुपर्छ की भोली हरेक सन्ततिले यसको हिसाबकिताब खोज्नेछन् । र हामी हरेक व्यक्तिले आफैबाट यो कामको शुरुवात नगरेसम्म यसले निकास पाउँदैन भन्ने महसुस नजिकबाट गरिसकेका छौँ । त्यसैले पनि माथी उल्लेख गरेअनुसार पहिला सामुदायिक विद्यालय सुधारका लागी सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी पढाऔँ, शिक्षक, कर्मचारी, दलका नेता र हामी सरोकारवालाका छोराछोरी अनिवार्य रुपमै सरकारी विद्यालयमा पठाऔँ र पढाऔँ । यसको शूरुवात यो शैक्षिक सत्रबाट गरौँ । भोली भन्ने हामीसगं अब नैतिक समय पनि छैन् । अर्को कुरा भनेको विद्यालय सुधारमा हाम्रो पठनपाठनको विकास कसरी गर्न सकिन्छ भनेर तत्काल मुख्य समस्याको चुरो बुझेर समाधानमा सबै आ–आफ्नो क्षेत्रबाट लागिहालौँ । अरुको मुख ताकेर भन्दा आफुले कति गर्न सकिन्छ त्यै नमुना बनेर काम गरौँ । ( लम्सालसंग विष्णु विवेकले गरेको कुराकानीमा आधारित)
(आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउन शुरु गरेका लम्साल वल्र्ड भिजन इन्टरनेश्नल नेपाल संस्थाका शिक्षा शाखा प्रमुख हुन् । विभिन्न १८ वटा जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा काम गरिरहेको यो संस्थाले केही सामुदायिक विद्यालय नमुना सुधारका काम समेत गरिरहेको छ।)
प्रकाशित मिति २०७३ बैशाख १३ गते ।
प्रतिक्रिया