Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

भूकम्पपछि विद्यार्थीमा मानसिक समस्या !

आइतबार, १२ बैशाख २०७३

काठमाडौँ, १३ वैशाख । गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण बालबालिकामा अझै मानसिक आघात परिरहेको र यसले उनीहरुमा दीर्घकालीन विकासमा असर पु¥याउनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  

बालअधिकारको क्षेत्रमा कार्यरत पाँच संस्था प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, तेरे दे जोम, युनिसेफ र वल्र्ड भिजनले शनिबार आयोजना गरेको कार्यक्रममा भूकम्प प्रभावित पाँच जिल्लाका बालबालिकामा गरेको अध्ययन सार्वजनिक गर्दै उक्त चासो व्यक्त गरिएको हो ।  

अध्ययनमा ६८० भन्दा बढी बालबालिकासँग गरिएको परामर्शअनुसार अस्थायी आवासको कारणले चोरी र जङ्गली जनावर घरमा आउने डर, घर बाहिर सुत्नु पर्ने, बेचबिखनमा पर्न सक्ने वा बाल श्रमिक हुन बाध्य हुने सम्भावनाले गर्दा त्रास हुने गरेको बालबालिकाले बताएका थिए ।  

पचास प्रतिशत बालबालिकाले भूकम्प गएको एक वर्षपछि पनि चर्को आवाज आयो भने पनि अनौठो प्रतिक्रिया दिन्छन् भने, २३ प्रतिशतले तुलनात्मक रुपमा भूकम्पअघिको समयभन्दा अहिले राम्रोसँग सुत्न सकिँदैन भन्ने जवाफ दिएको अध्ययनमा उल्लेख छ ।   सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाले भने, “आपत्कालीन अवस्थामा बालबालिका स्वतः संवेदनशील हुन्छन् । भूकम्पका कारण पठनपाठनसमेत ठप्प भएकाले त्यतिबेला उनीहरुको समग्र विकास नै जोखिममा थियो ।”  

युनिसेफका प्रतिनिधि तोमो होजुमीले शनिबारबाहेक अन्य दिन भूकम्प गएको भए त्यसले निम्त्याउने क्षति अझ भयावह हुने बताउँदै नेपालमा भूकम्प प्रतिरोधात्मक विद्यालय बनाइनुपर्नेमा जोड दिए । 

प्लान इन्टरनेसनल नेपालका देशीय निर्देशक माटिएस ब्राइनसनले अबको पुनःनिर्माण र पुनःस्थापनाको प्रक्रियामा बालबालिकामा पर्न गएको असरलाई समेत ध्यानमा राखिनुपर्ने बताए । 

भूकम्पलगत्तै तीन हजार ५६७ अस्थायी शैक्षिक केन्द्रले बालबालिकालाई विद्यालय फर्काउन सहयोग गरे तापनि अहिलेसम्म पनि ३० प्रतिशत बालबालिका अझै असुरक्षित विद्यालयमा पढिरहेको छु भन्ने भयबाट मुक्त हुन नसकेको देखिएको छ । 

रासस 

 

प्रतिक्रिया