Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

११ दिनसम्म पनि विद्यालय नखुलेपछि तालाबन्दी

आइतबार, १२ बैशाख २०७३

काठमाडौँ, १२ वैशाख । शैक्षिक सत्र सुरु भएको ११ दिन बितिसक्दा पनि विद्यालय नखुलेपछि जाजरकोटको एक विद्यालयमा अभिभावकले तालाबन्दी गरिदिएका छन् ।  जुगाथापाचौर–३ स्थित कालिका प्राथमिक विद्यालयमा शुक्रबार तालाबन्दी गरिएको हो ।  

तीनजना शिक्षक दरबन्दी भएको सो विद्यालयमा प्रधानाध्यापक भक्तबहादुर बूढासहित तीनै जना शिक्षक लामो समयदेखि उपस्थित नभएपछि अभिभावकको भेलाले विद्यालयमा तालाबन्दी गर्ने निर्णय गरेको अभिभावक प्रेमबहादुर बोहराले जानकारी दिए । 

शैक्षिक सत्र सुरु भएको १० दिन बितिसक्दा पनि विद्यालयमा भर्ना नखोलिएको हुँदा सरोकारवालाको ध्यान आकृष्ट गर्न तालाबन्दी गरिएको अर्का अभिभावक परशुराम महताराले टेलिफोनमा जानकारी दिए । 

उनका अनुसार गत चैतमा परीक्षाफल प्रकाशित गरेर घर गएका तीनैजना शिक्षक अहिलेसम्म विद्यालय फर्केका छैनन् ।  जिल्ला शिक्षा कार्यालयले जाजरकोटलाई यस वर्ष शैक्षिक सुधार वर्षको रुपमा स्थापित गर्ने रणनीतिक योजना बनाइरहेकै बेला दुर्गमका विद्यालय भने अहिलेसम्म खुल्न सकेका छैनन् । 

रासस 

 

प्रतिक्रिया