Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

मन्त्रीले राखे खेताला शिक्षक !

शनिबार, ०२ फागुन २०७१

भक्तपुर २ फागुन / ब्यापार, ब्यवसाय गर्ने देखि लामो समय बिदेश बस्ने शिक्षकहरुले आफ्ना ठाउँमा अर्कैलाई पढाउन लगाएर जागिर थामिरहेका घटना त सुन्दै आउनु भएकै होला ! तर, आफ्ना ठाउँमा अर्कै ब्यक्तिलाई पढाउन लगाएर आफू मन्त्री भएका शिक्षकका बारेमा सुन्नु भएको छ ?

यो तथ्य फेला परेको छ – भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोल स्थित बालशिक्षा सदन निम्न माध्यामिक विद्यालयमा । उक्त विद्यालयका प्रावि शिक्षक कृष्णगोपाल लागेजु नेपाल सरकारका मन्त्री नभएर नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका मन्त्री हुन् । तर, उनले आफ्नो जागिर थामिराख्न अर्कै ब्यक्तिलाई खेताला राखेका छन् । यति मात्रै हैन उनले ग्रैह सरकारी संस्था र स्थायी शिक्षक गरी दोहोरो रुपमा मासिक तलब बुझ्ने गरेको समेत फेला परेको छ ।

मन्त्री भएपछि उनले कम तलबमा राधिका खड्का बस्नेतलाई खेताला राखेर जागिर थामिरहेका छन् ।

जिल्ला शिक्षा कार्यालयका कर्मचारी अनुगमनमा जाँदा खड्कालाई राखेर आफू ग्रैह सरकारी संस्थाको काममा खटिने गरेको फेला परेको हो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकसंगको मिलेमतोमा खेताला राखेर उनी ग्रैह सरकारी संस्थामा काम गर्ने गरेको छानविनबाट देखिन आएको जिशिका श्रोतले बतायो ।

‘उनले नियमित पठनपाठन गरे नगरेको के हो ब्यवस्थापन समितिको राय सहित पेश गर्नु भनेर शिक्षक र विद्यालय दुबैलाई पत्र काटेका छौं,’ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भने, ‘उक्त पत्रको जवाफ नआईञ्जेल स्पष्ट कुरा के हो यसै भन्न सकिएन ।’ जिल्लाका विद्यालयहरुमा देखिएका अनेक खाले समस्या र बेथितीका बारेमा अनुगमनलाई तिब्रता दिएको उनले बताए ।

विद्यालय स्रोतका अनुसार ५ हजार ६ सय रुपंैया तलब दिएर खड्कालाई खेताला राखेका छन् । प्रावि शिक्षकको तलव महंगि भत्ता सहित मासिक झण्डै २३ हजार रुपंैया छ । शिक्षा कार्यालयका कर्मचारी आउने खबर पाएपछि हाजिरीमा बिदा लेखिएको थियो । कर्मचारीहरुले बिदाको निवेदन खोजी गरेपछि विद्यालयले दिन सकेन । ‘प्रधानाध्यापकको निर्देशनमा एक कर्मचारीले लागेजुको हाजिरीमा बिदा लेखिएको हो,’ एक शिक्षकले भने, ‘यसअघि शिक्षा कार्यालयमा हामीले बारम्बार जानकारी गराउँदा पनि कोही आएको थिएन । यस पटक चाहि छड्केमा परे ।’

उक्त विद्यालयमा ५३ जना मात्रै विद्यार्थी अध्ययनरत छन् । कक्षा १ मा ५, २ मा ४, ३ मा ५, ४ मा ९, ५ मा ६, ६ मा ७, ७ मा ८ र ८ मा ९ विद्यार्थी अध्ययनरत छन् ।

स्केच तस्बीर : ईन्टरनेट

प्रतिक्रिया