Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

नवजोडीलाई प्रजनन शिक्षा दिन ‘स्मार्ट पिकनिक'

शनिबार, ११ बैशाख २०७३

काठमाडौँ, ११ वैशाख । नवविवाहित जोडीलाई परिवार नियोजन र प्रजनन स्वास्थ्यबारे जानकारी दिन स्मार्ट पिकनिक कार्यक्रम सञ्चालन गरिएको छ ।  सानै उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै दुई/तीनवटा बच्चा जम्माउने अवस्था चितवनको विकट क्षेत्रमा रहेकाले नवविवाहित जोडीका लागि स्मार्ट पिकनिक कार्यक्रम आयोजना गरिएको हो । 

पिछडिएको जाति चेपाङको बाहुल्यता रहेको चितवनको सिद्धीमा नवविवाहित जोडीसँग परिवार नियोजनबारे छलफलसमेत गरिएको छ ।   स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोगमा एचसी थ्री नेपाल परियोजनाले कार्यक्रम सञ्चालन गरेको हो ।  

सिद्धीका स्वास्थ्य चौकी प्रमुख मोहनबहादुर साउदले परिवार नियोजनको महत्वमाथि प्रकाश पार्दै नवविवाहितले परिवार नियोजनबारे जानकारी हुनुपर्ने बताए । नवविवाहित जोडीले स्मार्ट पिकनिकमा सहभागी हुँदा आफूहरुलाई धेरै कुरा थाहा भएको र कार्यक्रम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । 

एचसी थ्री नेपालका चितवन जिल्ला संयोजक जया बुढाथोकीले नवविवाहितका लागि परिवार नियोजनको ज्ञान आवश्यक रहेको जानकारी गराए ।  स्मार्ट जीवनका बारेमा प्रकाश पार्दै एचसी थ्री परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराएका थिए । स्मार्ट पिकनिक कार्यक्रम यसअघि चितवनको कुमरोज, भण्डारा र भरतपुर–२ आँपटारीमा सम्पन्न भइसकेको छ । 

नेपालमा हुने अनिच्छुक गर्भधारणमा कमी ल्याउन सहयोग गर्ने लक्ष्यका साथ एचसी थ्री परियोजना सञ्चालित छ ।  स्वास्थ्य सञ्चारको माध्यमले कमी रहेको समूहलाई परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी स्वस्थ व्यवहारको प्रयोग वृद्धिमा जोड दिनु परियोजनाको उद्देश्य रहेको छ । चितवनसहित नेपालका १३ जिल्लामा परियोजना सञ्चालनमा छ ।  

रासस 

 

प्रतिक्रिया