Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

शुल्क वृद्धिविरुद्ध विद्यार्थी सङ्गठन

शुक्रबार, १० बैशाख २०७३

काठमाडौँ, १० वैशाख । निजी विद्यालयले मनपरी शुल्क असुलिरहेको विषयमा जिल्ला शिक्षा कार्यालय मोरङ मौन बसेको भन्दै विभिन्न चार राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको चेतावनी दिएका छन् । 

बुधबार विज्ञप्तिमार्फत सत्तारूढ दल नेकपा (एमाले), नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी) र नेकपा (माओवादी) सम्बद्ध विद्यार्थी सङ्गठनका केन्द्रीय पदाधिकारीले यस्तो चेतावनी दिएका हुन् । उनीहरूले मोरङमा केही दिनयता मनोमानी शुल्क वृद्धि भइरहेको जनाएका छन् ।  

संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयनका लागि जिल्ला शिक्षा कार्यालयमा ध्यानाकर्षण गराएको भएपनि माग पूरा गर्न सरकार उदासीन भएको आरोप विद्यार्थी सङ्गठनले लगाएका छन् । 

विद्यार्थी सङ्गठनले यसै विषयलाई लिएर गत वैशाख ६ गते जिल्ला शिक्षा कार्यालयमा अल्टिमेटमसहित ज्ञापन बुझाएका थिए । तर अहिलेसम्म उक्त सम्बन्धमा शिक्षा कार्यालय मौन हुँदा निजी विद्यालयको मनोमानी शुल्कका कारण लाखौँ अभिभावक र विद्यार्थी मारमा परेको सङ्गठनको भनाइ छ ।  

“निजी विद्यालयको मनोमानी शुल्क वृद्धि तत्काल रोक्न र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका कार्यान्वयन गर्न गराउन सम्बन्धित सबै सरोकारवाला निकायसँग माग गर्दछौँ । अन्यथा कडा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।  

विज्ञप्तिमा अनेरास्ववियुका सचिव वसिम आलम, नेविसङ्घ केन्द्रीय सदस्य हरि भट्टराई, अखिल क्रान्तिकारीका तिलकबहादुर बस्नेत र क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य नवराज नेपालले हस्ताक्षर गरेका छन् ।  

रासस 

 

प्रतिक्रिया