Edukhabar
विहीबार, १० असोज २०८१
विचार / विमर्श

खत्तम छैनन् सबै सामुदायिक विद्यालय, इमान्दारहरु सफल हुँदै

विहीबार, ०९ बैशाख २०७३

- ईश्वरीप्रसाद पोखरेल / राज्यको विभिन्न सार्वजनिक तहमा रहेकैहरुबाट सामुदायिक शिक्षाप्रतिको अविश्वास फैलिँदो छ भन्नु पर्दा दुःख लाग्छ । यही कारण सामुदायिक शिक्षा बर्वादी तर्फ धकेलिदैं छ । कतै विद्यालय छन् तर शिक्षक छैनन्, कतै शिक्षकको थुप्रो लागेको छ तर विद्यार्थी छैनन् । समग्रमा सामुदायिक शिक्षा भद्रगोल छ ।

सरकारी तहबाट हुनुपर्ने र गर्नुपर्ने काम नहुँदा सबै अर्काका लागि काम गरिदिएझैँको अवस्था छ । समाजका धनी, बौद्धिक वर्ग, शिक्षित हुँ भन्नेहरु तथा गरिबनै भए पनि मेधावी बालबालिकाहरु सामुदायिक शिक्षाबाट अलग्गिएको अवस्था छ । यो अवस्था राज्यले अँगिकार गरेको आधारभूत तहको शिक्षालाई पूर्ण निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्कको घोषणा कै छेकमा थप उदाँगो भईरहेको छ । अर्थात्

सामुदायिक शिक्षा क्षेत्रको विकृति र विसंगतिलाई नसच्याइरहेको सन्दर्भमा २०७२ मा जारी नेपालको संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ ।

मुलुक के सामुदायिक शिक्षा व्यवस्थापनमा असफल हुँदै गएको हो ? प्रश्न गम्भिर छ ।

नयाँ शैक्षिक सत्रको प्रारम्भ र यही प्रश्नको विचमा प्रस्तुत आलेख सामुदायिक शिक्षा सुधारमा भएका केही परिवर्तनलाई केन्द्रमा राखेर तयार गरिएको छ ।

देशका सबै सामुदायिक विद्यालय खत्तम भएका छैनन् । व्यवस्थापन समितिले कसरी भूमिका निर्वाह गर्नु पर्छ ? विद्यालयमा के कस्तो सुविधा र वातावरण सिर्जना गर्न आवश्यक छ ? भन्ने प्रश्नमा घोत्लिरहने सामुदायिक विद्यालयका शिक्षक ब्यवस्थापन समिति, अभिभावक पनि हाम्रै समाजमा छन् । जसका कारण त्यस्ता विद्यालय चमत्कारिक रुपमा सफल भएका छन् । अर्थात् सामुदायिक विद्यालय भनेका असफल र ठगी खाने मात्र होइनन् । गरी खाने, समाजलाई डो¥याउन सक्ने पनि प्रशस्त छन् ।

प्रधानाध्यापक तथा शिक्षकलाई आफ्नै काम तथा पेसागत क्षमता माथि विश्वास नभएमा अरु आम जनताका छोराछोरीको भविष्य बिगार्ने काम लाजको विषय हुन जान्छ भन्ने सोचले काम गर्ने विद्यालयहरु पनि छन् मुलुकमा ।

प्रधानाध्यापक तथा शिक्षकहरुले सर्वप्रथम आफूहरुले गरेको गुणात्मक सेवा वा पेशाप्रतिको विश्वासको मुख्य आधार घरपरिवारबाट शुरु गर्दा मात्र समाजले श्रद्धाभाव गर्दछ भन्ने बुझ्नु जरुरी छ । तसर्थ प्रत्येक शिक्षाकर्मीले आफैँले आफैलाई विश्वास गरेको आम रुपमा सञ्चार हुनु अति आवश्यक देखिएको छ । विद्यालयको प्राज्ञिक तथा शैक्षिक पक्षमा समुदाय, राजनीतिक अगुवा तथा बौद्धिक व्यक्तित्वहरुको निस्वार्थ सहयोग अपरिहार्य हुने गर्दछ । नेपालका धेरै सामुदायिक विद्यालयहरुमध्ये भक्तपुर जिल्लाको  च्यामासिँहस्थित बागेश्वरी उमावि एउटा उदाहरण हुन सक्छ ।

यस विद्यालयका वरिपरि झण्डै एक दर्जन निजी विद्यालयहरु सञ्चालनमा छन् । तापनि बागेश्वरी उमावि भक्तपुरमा पूर्व प्राथमिक देखि कक्षा १० सम्म करीब १५ सय विद्यार्थी रहेको र पूर्व प्राथमिक तथा कक्षा ५ सम्म मात्र झण्डै ७ सय छात्रछात्राले आफ्नो भविष्य उज्जवल देखेका छन् । प्रधानाध्यापक, शिक्षक तथा उक्त समुदायका सबैको विद्यालय प्रति विश्वास छ र सबैका सन्तानले उक्त विद्यालयमा नै पढ्न लाज मान्दैनन् वा रुचाउँछन् । नेपाल मजदूर किसान पार्टीका नेता नारायणमान विजुक्छेले आफ्ना कान्छा छोरालाई त्यँही पढाएर सबैलाई सामुदायिक शिक्षाप्रति विश्वास पारेको स्थानीयहरुको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक कृष्ण धन्छा स्रोत साधन र भौतिक पूर्वाधारको अपर्याप्तताले गर्दा ईच्छा हुने सबैलाई पढाउन नसक्दा बाध्य भएर प्रवेश परीक्षा लिनु परेकोमा दुखित छन् । सबैलाई धमाधम भर्ना गरिदिने हो भने वरिपरिका निजी (संस्थागत) रुपमा खुलेका विद्यालयहरुको अवस्था नाजुक हुन्छ तथा कमजोर बालबालिकाहरुले  बोर्डिङ स्कुलमा पढ्ने उदारता हुँदैन्थ्यो, गर्वसाथ उनी दावी गदन् । 

यो विद्यालयको अनुभवबाट देशभरका सामुदायिक विद्यालयले के सिक्न सक्छन् भने – सबै विद्यालयको सेवा क्षेत्र तोकी आ–आफ्नो तोकिएको क्षेत्रमा गुणात्मक र प्रतिस्पर्धी शिक्षा दिने प्रबन्ध हुनुपर्दछ । अभिभावकले आफ्ना सन्तानलाई चाहे अनुरुपको समसामयिक  शिक्षा लिने अवसर स्थानीय तहमा नै हुनु पर्ने हो तर नेपालको शिक्षामा गुँदोभन्दा देखावटीपन बढी हुनेहरु सफल र अब्बल मानिन्छन् । यसर्थ चाहेर वा नचाहेर विद्यार्थी टाढाटाढाबाट आउन सजिलो होस् भनी बससमेत चलाइएको छ । जुन उपयुक्त होइन तापनि खुलाबजारको प्रतिस्पर्धामा जान बाध्य भएको विद्यालयको गुनासो छ ।

शिक्षकको पढाइको के कुरा जनताले चाहेको, समयको मागलाई पछ्याउदै सरकारी हुन् वा निजी सबैको ताल मिलेको छ । नेता भएका विद्यालयमा  राजनीतिले ध्वस्त पारेको भन्ने कुरा बागेश्वरीका प्रधानाध्यापक स्वीकार्दैनन्, उनी आफ्नै विद्यालयमा (भक्तपुरे राजा भनेर आरोप लाग्ने) नारायणमान विजुक्छेकी धर्मपत्नी शोभा प्रधान नेपाली शिक्षकबाट प्रशस्त सहयोग पाएको, कुनै दिन शक्ति देखाएर अनुशासन तोडेको भन्ने उदाहरण त के उल्टै हरेक कदममा साथ पाएको अनुभव सुनाउँछन् । 

शिक्षक नेताहरु आफैँ अनुशासनमा बस्ने र पेसामा खट्ने, नियमित विद्यालय आउने तथा पेसागत संगठनको कामका जाँदा नियमानुसार बिदा लिने गरेमा शिक्षक दोषी हुने कुरै हुँदैन नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति गर्व गर्दै भन्छन् पहिला शिक्षकको पेसागत धर्म मुख्य हो र राजनीति नेतृत्व दोस्रो कुरा हो । यो विद्यालयमा कोही पेसाबाट च्युत छैन ।

यसरी उदाहरणमा प्रस्तुत गरिएको माथिको विद्यालयझैँ सबै तहमा सामूहिक रुपमा सबैको नतिजा प्रतिको जवाफदेहिता र खर्चको अनुपातमा शिक्षा क्षेत्रमा उपलब्धि खोज्ने हो भने शिक्षा निःशुल्क वा सशुल्कको विवाद र सामुदायिक वा संस्थागत भन्ने विभाजन किन चाहियो ?

राम्रा र उत्कृष्टलाई देशका जुनसुकै कुनाका हुन् खोजी गरेर प्रोत्साहित गरौँ, काम गर्न चाहने तर नसकिरहेकालाई सहजीकरण गर्दै अगाडि बढाऔँ । काम नगर्ने, उत्तरदायित्व पन्छाउने र ठगहरुलाई जुनसुकै ओहदा र हैसियतमा भएपनि गोर्खे लौरी लगाएर जनता माथि गद्दारी गरेको अभियोगमा दण्डित गर्ने दिनको पखाई नै सामुदायिक शिक्षाको भविष्य देखिन्छ ।

पोखरेल, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीका उपनिर्देशक हुन् ।

प्रकाशित मिति २०७३ बैशाख ९ गते

प्रतिक्रिया