Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

स्ववियु चुनाव फेरी पनि अन्योलमा

विहीबार, ०९ बैशाख २०७३

काठमाडौँ, ९ बैशाख । त्रिभुवन विश्वविद्यालयले तोकिएकै समयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउन नसक्दा विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीलाई लिएर पुनः विवाद उत्पन्न भएको छ। 

त्रिभुवन विश्वविद्यालयले वैशाख २० गते तोकेको चुनाव प्रणाली र उमेरहद विवादले स्थगन भएको छ। त्रिविले २८ वर्ष नाघेकालाई उम्मेदवार हुन नदिने व्यवस्थासहित मिश्रित प्रणालीबाट चुनाव गराउने तयारी गरेको थियो। तर, नेविसंघ प्रवक्ता युपी लामिछानेले साताअघि विश्वविद्यालयको उपकुलपति तीर्थराज खनियाँलाई प्रत्यक्ष प्रणालीबाट चुनाव गराउन र २८ वर्ष उमेर हदबन्दी नलगाउन लिखित रूपमै ज्ञापनपत्र बुझाएपछि स्ववियु चुनाव अन्योलमा परेको थियो। 

नेपाली कांग्रेस कोटाबाट नियुक्त भएका उपकुलपति तीर्थराज खनियाँले सोही पार्टीनिकट विद्यार्थीको दबाबपछि चुनाव मिति घोषणा गर्न नसकेको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रमेश मल्लको आरोप छ। त्रिविको नेतृत्व असफलताका कारण चुनाव सात वर्षदेखि सरिरहेको उनले बताए। अन्तिमपटक ०६५ सालमा समानुपातिक प्रणालीबाटै स्ववियु चुनाव भएको थियो। 

'०६९ सालमा त्रिविले स्ववियु नियम परिवर्तन गरेपछि सबै विद्यार्थी संगठन मिश्रित प्रणालीबाट चुनाव गराउन सहमत भयौं,ु मल्लले नागरिकसँग भने, ुत्यतिबेलै २०७२ साल वैशाख १ गतेदेखि २८ वर्ष माथिकाले स्ववियु चुनावमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको हो।'  विश्वविद्यालयको उपकुलपति नेविसंघको दबाबमा परेर यस वर्षको सिनेट बैठकमा स्ववियु नियम संशोधन गराएर मात्रै चुनाव गराउने तयारीमा रहेकाले अन्योल बढेको उनले बताए। 

नेविसंघको धारणा भने छुटै छ। प्रवक्ता लामिछानेले आफूहरु कुनै पनि अवस्थामा मिश्रित प्रणालीमा नजाने र २८ वर्ष उमेरहद कायम गर्न नदिने अडानमा रहेको स्पष्ट पारे । ुविश्वविद्यालयले एकपटक चुनावका लागि २८ वर्ष उमेरहद हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीबाटै गराउनुपर्छ,' उनले थपे, 'नत्र नेविसंघ कुनै हालतमा चुनाव हुन दिँदैन।' 

वैद्य, विप्लवनिक अखिल क्रान्तिकारी र मधेसवादी विद्यार्थी संगठनले पूर्ण समानुपातिक र उमेरहद लागू गरेर मात्र चुनाव गराउनुपर्ने अडान लिएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीनिकट तराई मधेस विद्यार्थी फ्रन्ट ९तमलोपा० का अध्यक्ष सुरेश मण्डलले देशमा लोकतान्त्रिक परिवर्तनसँगै कलेजको स्ववियु चुनाव पनि लोकतान्त्रिक पद्धतिमै हुनुपर्ने बताए। ुअब स्ववियु चुनाव समानुपातिक समावेशी सिद्धान्तमै हुनुपर्छ,' उनले भने, 'अहिलेको स्ववियु निर्वाचन मधेस आन्दोलनसँग जोडिएको छ।' 

त्रिभुवन विश्वविद्यालयले चुनाव मिति तोक्न र मेडिकल शिक्षा व्यवस्थापन नियमन तथा शैक्षिक सुधारका नयाँ नीति पास गराउन वैशाख ९ गतेका लागि निर्धारित सभा बैठक स्थगन गरेको छ। विद्यार्थीबीचमै चुनाव प्रणाली र उमेर हदबीचको विवादका कारण त्रिविले ठोस निर्णय लिन नसकेको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जनाए। 'हामीले नै नयाँ नीति र नियमको छलफललाई ठोस आधार दिन सकेनौं,' उनले भने, 'विद्यार्थीबीच पनि चुनाव प्रणाली र उमेर हदमा एकरुपता आएन।'

 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया