Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

सिङ्गो शैक्षिक सत्र भत्किएकै भवनमा बित्यो, सरकार भने योजना बनाउन थाकेन

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं - विद्यार्थीको सिङ्गो शैक्षिक सत्र भुकम्पले भत्काएको विद्यालयमै  बितिसक्दा पनि सरकार भने विद्यालय पुननिर्माणको योजना बनाएर अझै थाकेको छैन । एक बर्ष सम्म भत्केको विद्यालय हेरेरै विताएका विद्यार्थीलाई सरकारले फेरी अर्को योजना सुनाएको छ ।

भूकम्प स्मृति दिवसका रुपमा वैशाख १२ र १३ गते गर्ने कार्यक्रम अन्र्तगत दोश्रो दिन विद्यालय पुननिर्माण गर्ने सरकारले निर्णय गरेको छ । जस अन्र्तगत भुकम्प प्रभावित प्रत्येक जिल्लामा कम्तिमा एक–एक वटा विद्यालय भवनको पुनर्निर्माण कार्यको शुभारम्भ गर्ने उल्लेख छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले शिक्षा मन्त्रालयले नै विद्यालय पुननिर्माणको काम गर्ने निर्णय गरे पनि एक बर्ष सम्म गरेको कामको प्रगति हेर्दा यो निर्णय कागज मैं सिमित हुने छाँट देखिन्छ । विद्यालय पुननिर्माणका लागि गठित आयोजना कार्यान्यवन इकाइले प्रकृयागत कामनै नसकेकोले उक्त निर्णय औपचारिकतामै सिमित हुने पक्का भएकोे हो ।

'१३ गते पुननिर्माण भन्दा पनि पुननिर्माण गर्ने विद्यालयको नाम घोषणा गर्ने कार्यक्रम तय गरेका छौं' आयोजनाका प्रमुख तथा मन्त्रालयका सहसचिव इमनारयण श्रेष्ठले भने, 'केही जिल्लाको पुननिर्माणको टेण्डर खोल्ने क्रममै छौं, ललितपुरको भईसक्यो, काभ्रेको   शुक्रबार भित्र गर्ने योजना छ, गोर्खाको लागि १२ गते अधिनै सूचना सार्वजनिक गर्ने तयारी छ ।'

समितिको चौथो बैठकले विद्यालय पुननिर्माणको उक्त काम शिक्षा मन्त्रालयले गर्ने निर्णय गरेको हो । तर, शिक्षा मन्त्रालयले एक बर्ष सम्म टेण्डर र सर्भे डिजाईनमै विताएको छ ।

विद्यालय पुननिर्माणका लागि इकाइ गठन भए पनि बाँकी १४ जिल्लामा जिल्लागत आयोजना कार्यान्वयन इकाइ गठन हुन सकेको छैन । 'जिल्लागत आयोजना कार्यान्वयन इकाई गठन प्रकृयामै रहेको छ' आयोजनाको एक बर्षे प्रगति विवरणमा उल्लेख छ ।

भूकम्पका कारण देशभरका ५ हजार ३ विद्यालयमा क्षती पुगेको तथ्याङ्क छ ।  यी मध्ये १८ हजार १ सय ४७ कक्षा कोठामा पूर्ण क्षती पुगेको छ भने ८ हजार २० कक्षा कोठामा धेरै क्षती भएको मन्त्रालयको तथ्याङ्क छ । १० हजार ३ सय ८० कक्षामा सामान्य क्षती पुगेको छ । यस्तै ति विद्यालयहरुको ३ हजार २ सय ८८ शौचालय, १ हजार ६ सय २० खानेपानी र १ हजार ५ सय १५ घेरावार अर्थात् पर्खालमा क्षती पुगेको आयोजनाको तथ्याङ्क छ ।

आयोजनाले भूकम्प लगत्तै विभिन्न संस्थाहरुको सहयोगमा १६ हजार कोठाको अस्थायी सिकाइ केन्द्रहरु बनेको तथ्याङ्कलाई नै उपलब्धि मान्दै आएको छ । जब की ति सिकाइ केन्द्र एक बर्षको हिउँद र बर्खाले कामै नलाग्ने भईसकेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा ८ जिल्ला ओखलढुङ्गा, रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं र भक्तपुरमा विद्यालय निर्माण र रेट्रोफिट गर्ने सम्झौता भएको र उक्त कार्यका लागि सर्भेडिजाईन शुरु भएको आयोजनाले जनाएको छ । जस अन्र्तगत काभ्रेका ३ वटा विद्यालयको मात्रै टेण्डर प्रकृया अघि बढाईएको छ ।

यस्तै जाईकासंग बाँकी ६ जिल्ला ललितपुर, धाँदिङ्, रसुवा, नुवाकोट, गोरखा र मकवानपुरका विद्यालय निर्माण र रेट्रोफिट गर्ने सम्झौता भएको र उक्त कार्यका लागि सर्भेडिजाईन मात्रै शुरु भएको छ । जस अन्र्तगत ललितपुरका ५ विद्यालयको टेण्डर मात्रै भएको छ ।

८८ वटा सहयोगी ब्यक्ति र संस्थाहरुसंग करिब ६ सय विद्यालय निर्माणको लागि समझदारी गरिएको र अन्य ४५ वटा संग समझदारीको प्रकृया चलिरहेको उल्लेख छ ।

समितिको बैठकले भूकम्पमा परी दिवंगत भएकाहरु प्रति १२ गते काठमाडौं सहित विभिन्न जिल्लामा श्रद्धाञ्जली सहित पुष्पगुच्छा अर्पण गर्ने निर्णय गरेको छ । ।

भूकम्प अति प्रभावित ११ जिल्लामा आवास अनुदान प्राप्त गर्न योग्य लाभग्राहीहरुको सूची तयार गरी प्रकाशन गर्ने, अनुदान सम्झौता प्रकृया अघि बढाउने, प्रत्येक जिल्लामा कम्तिमा एक–एक वटा सामुदायिक आवास भवनहरुको निर्माण कार्य शुभारम्भ गर्ने पनि समितिको निर्णय छ ।

यस्तै वैशाख १३ गते प्रत्येक जिल्लामा कम्तिमा एक–एक वटा विद्यालय सहित एक–एक वटा स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण कार्यको शुभारम्भ गर्ने, तथा पुरातत्व विभागको आयोजनामा काठमाडौं उपत्यका भित्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण कार्यको शुभारम्भ गर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०७३ बैशाख ८ गते

प्रतिक्रिया