Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

सङ्कटमा परेको क्याम्पसलाई सहयोग

बुधबार, ०८ बैशाख २०७३

काठमाडौँ, ८ वैशाख । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको पर्वत बहुमुखी क्याम्पस फलेवास, देविस्थानलाई रुसमा बस्दै आएका गैरआवासीय नेपाली गोविन्दप्रसाद गौतमले आर्थिक सहयोग गरेका छन् । पर्वतको देविस्थान घर भई रुसमा व्यवसाय गर्दै आउनुभएका गौतमले क्याम्पसलाई रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको हो ।   गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यसमेत रहनुभएका गौतमले काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरेका छन् ।  

आफ्नो गाउँमा खुलेको र आर्थिक सङ्कटमा रहेको क्याम्पसलाई सहयोग गरेको गौतमले बताए । “म विगत तीन दशकदेखि रुसमा रहेपनि सधैँ आफ्नो जन्मस्थान याद आउने गरेकाले सहयोग गरेको हुँ”, उनले भने ।   गौतमले यही वर्ष मात्र देविस्थानकै भूकम्पपीडितलाई दुई लाख रुपैयाँका जस्तापाता सहयोग गरेका थिए । भने गाउँकै चन्दनी प्राविलाई रु दुई लाख, आफूले अध्ययन गरेको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च माविलाई रु एकलाख सहयोग गरिसकेका छ्न ।  

गाउँका विद्यार्थीलाई छात्रवृत्तिदेखि वृद्धवृद्धाको सम्मानमा समेत अग्रसर गौतमले क्याम्पसले राम्रो प्रगति गर्दै गएमा आफूले थप रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।  रकम हस्तान्तरण कार्यक्रममा सहभागी हुन आउनुभएकी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य बेलायत निवासी सुष्मा राईले पनि आफूले क्याम्पसका लागि सक्दो सहयोग गर्ने बताए । 

कार्यक्रममा पर्वत क्षेत्र नम्बर २ का सांसद विकास लम्सालले अग्रजले गाउँमै शैक्षिक संस्था स्थापना गरेकाले आफूहरु यहाँसम्म आउन सकेको भन्दै क्याम्पस सञ्चालन र स्तरवृद्धिका लागि सहयोग गर्न आफू पनि तयार रहेको बताए । 

पर्वतको पहिलो क्याम्पसका रुपमा २०४१ सालमा स्थापना भएको क्याम्पस धौलागिरिकै पुरानो क्याम्पस हो । क्याम्पसमा अहिले पर्वत, बाग्लुङ र गुल्मी जिल्लाका करिब २०० भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।   सामुदायिक क्याम्पस भएकाले आर्थिक अभावमा दुई वर्षयता प्राध्यापकलाई तलब खुवाउनसमेत समस्या परेका बेला आर्थिक सहयोग सङ्कलन अभियान चलाइएको क्याम्पस प्रमुख जगतबहादुर कुँवरले बताए ।  

रजत जयन्तीको अवसर पारेर काठमाडौँमा चलाइएको अभियानमा हालसम्म रु ३० लाखभन्दा बढी सङ्कलन भएको छ ।  क्याम्पसले रजत जयन्ती महोत्सवको सन्दर्भ पारेर आर्थिक सङ्कलन अभियानलाई पनि तीव्रता दिएको छ । हालसम्म करिब रु ६० लाख सङ्कलन भइसकेको छ भने रु एक करोड सङ्कलन गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख कुँवरले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया