Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तकका्े अभाव कायमै 

बुधबार, ०८ बैशाख २०७३

काठमाडौँ, ८ वैशाख । नयाँ शैक्षिक सत्र सुरु भएर विद्यालय सञ्चालन हुन थाले पनि विभिन्न पुस्तक पसलले अहिलेसम्म पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन् ।   शैक्षिक सुरु भएसँगै विद्यालयमा नयाँ भर्ना सुरु हुन थालेपछि अहिले सदरमुकाम गाईघाट तथा कटारी र बेल्टार क्षेत्रका अधिकांश विद्यालयका विद्यार्थी पाठ्यपुस्तक लिनका लागि नजिकैको पुस्तक पसलमा धाउन थाले पनि पुस्तक पसलमा पर्याप्त पुस्तक प्राप्त गर्न नसकिएका कारण रित्तै फर्कनु परेको गाईघाट–२ का सुजन खड्काले बताए ।  

गाईघाट बजारमा अहिले आधा दर्जन जति पुस्तक पसल भए तापनि केही पुस्तक पसलले फाटफुट एक दुई पुस्तक बाहेक अन्य पुस्तक उपलब्ध गराउन नसकेको लालीगुराँस मावि गाईघाटका कक्षा ९ की छात्रा प्रीत कार्कीले बताइन् ।  उनी भन्छिन् – “विद्यालयमा कक्षा सुरु भइसक्यो, तीन दिनदेखि पुस्तक किन्नका लागि पुस्तक पसल धाउँदै आएकी छु, अहिलेसम्म बल्ल तीन वटा मात्र पुस्तक हात परेको छ, अन्य पुस्तक प्राप्त हुन सकेको छैन ।”  

पुस्तक बिक्रेताहरु दुई तीन विषयका पुस्तक बाहेक अधिकांश विषयका पुस्तक अझैसम्म पनि आफूहरुले नै डिलरबाट प्राप्त गर्न नसकेको बताउँछन् ।  माझखर्क पुस्तक पसलका सञ्चालिका रेणुका राई भन्छिन् – “पुस्तक खरिद गर्न विराटनगर, जनकपुर, काठमाडौँ नै पुगिसकियो, तर डिलरहरुले नै पर्याप्त पुस्तक उपलब्ध नगराउँदा हामीले विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनौँ ।” 

न्यौपाने पुस्तक पसलका सञ्चालक लक्ष्मण न्यौपाने पूरा पुस्तक प्राप्त गर्न झन्डै वैशाख महिनाभरि कुर्नुपर्ने अवस्था रहेको बताउँछन् ।  जिल्लाका सरकारी विद्यालयमध्ये २५ प्रतिशत विद्यालयले पुस्तक प्राप्त गरे पनि बाँकी विद्यालयले अझै पुस्तक पाउन नसकेको जिल्लाका शिक्षक युनियन तथा सङ्घसङ्गठनका प्रतिनिधिको भनाइ छ ।  

समयमा पुस्तक प्राप्त गर्न नसकेपछि अधिकांश विद्यार्थी झोलामा कापी र डटपेन मात्र बोकेर विद्यालय जान थालेको अभिभावक बताउँछन् । 

रासस 

 

प्रतिक्रिया