Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

युनेस्कोबाट नेपालसँगको सहकार्यमा जोड

मंगलबार, ०७ बैशाख २०७३

काठमाडौँ, ७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका युनेस्कोका महानिर्देशक इरिना बोकाभोले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरे । 

सो अवसरमा राष्ट्रपति भण्डारीले शिक्षा, संस्कृति र विज्ञानका क्षेत्रमा सो सङ्गठनले गर्दै आएको योगदानको प्रशंसा गरे । नेपालको तीनदिने भ्रमणमा रहेका बोकाभोले नेपालको संस्कृति, सम्पदा र शैक्षिक गुणस्तर वृद्धिका लागि सहकार्य बढाइने बताए ।  यसैबीच बोकाभोको सम्मानमा सोमबार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्वागत कार्यक्रम आयोजना गरे । 

सो अवसरमा मन्त्री पोखरेलले युनेस्कोकै अगुवाइमा तय भएको सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत प्राथमिक तहको खुद भर्ना दर ९६.६ पुगेको जानकारी दिए ।   शिक्षामा लैङ्गिक समतामा सुधार आएको बताउँदै उनले नयाँ संविधानले निर्धारण गरेका शिक्षाका मौलिक अधिकार र दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत सन् २०३० भित्र समतामूलक, समावेशी र गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा सबैका लागि जीवनपर्यन्त सिकाइको अवसर अभिवृद्धिका लागि युनेस्कोबाट थप सहयोगको अपेक्षा गरे ।  

महानिर्देशक बोकाभोले प्रौढ तथा युवा महिलालाई सुरक्षित वातावरणीय सिकाइ र यौन शिक्षामा आगामी दिनमा सहकार्य बढाउँदै भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा समेत सक्दो सहयोग गरिने विश्वास व्यक्त गरे ।  

रासस 

 

प्रतिक्रिया