Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

कलिला हातले माटोलाई सुन्दर आकार

मंगलबार, ०७ बैशाख २०७३

काठमाडौँ, ७ बैशाख । पाटन च्यासलकी ६ वर्षीय मनस्का महर्जन दिनको दुईबजे पछि छिनछिनको समय सोधेर आमा समिनालाई हैरान पार्छिन्।   ३ नब्जदै मनस्का जस्तै हतारमा हुने करिब ४५ जना साना बालबालिका पाटनमा रहेको ज्यापु समाज प्रज्ञा भवनमा पुगिसक्छन्। भक्तपुरबाट किलोको हिसाबले किनेर ल्याएको माटो प्रशिक्षक गौतम महर्जनले सबैलाई बाँड्छन्। करिब दुई घण्टामा कलिला हातले भक्तपुरे माटोलाई सुन्दर आकार दिन्छन्। र, रंगले आकारमा पूर्णता भरिदिन्छ। 

प्रज्ञा भवनको माथिल्लो तल्लामा ६ वर्षदेखि १४ वर्ष उमेर समुहका बालबालिकाले बनाएर रंगाएका सयौं माटोका विभिन्न आकृती देख्न सकिन्छ। ज्यापु समाज यलाले चैत्र २२ गतेदेखि बिदामा रहेका स्थानीय बालबालिकालाई माटोका विभिन्न सामाग्री बनाउने अनौपचारिक शिक्षा दिने ब्यवस्था गरेको हो। 

'मम्मी कति बज्यो, उसलाई कतिबेला यहाँ आउ जस्तै हुन्छ, बिदामा केही सिक्ने र रमाउने मौका जुरेको छ,ू मनस्काकी आमा समिनाले भनिन्। उनले घरमा टेलिभिजन हेरेर बस्ने मनस्कालाई बिदाको सदुपयोगका लागि यहाँ ल्याएको बताइन्। मनस्काकै उमेर समुहका स्थानीय बालक सरवेन महर्जनले पनि यसरी खेल्दै सिक्न पाउँदा रमाईलो लागेको बताए। कक्षा आठको परीक्षा दिएर फुर्सदमा रहेकी लुटुङ महर्जन कुम्भेश्वरबाट ज्यापु समाजको भवनसम्म माटोकै सिप सिक्न आइरहेकी छन्। कक्षामा रहेका अन्य बालबालिकाभन्दा अलि ठूली उनलाई यसरी आफूखुसी माटोसँग खेल्दै आकृती बनाउँदा मन हर्षित हुने र साँझ फर्कंदा उत्साहित हुने गरेको अनुभव सुनाइन्। 

ज्यापु समाजमा आवद्ध रहेका ४० टोलबाट बालबालिकालाई पहिलो पटक माटोका सामाग्री बनाउने तालिम प्रदान गरिएको हो। तालिमका लागि आह्वान गर्दा यति बालबालिका आउलान् भन्ने नसोचेको प्रशिक्षक गौतम बताउँछन्। उनले धेरै संख्यामा बालबालिका आएपछि यस पटकलाई ४५ जनाको सीमा तोक्नु परेको बताए। ललितकलाबाट माटोका विभिन्न सामाग्री बनाउन सिकेका गौतमले खुसी हुँदै भने, 'दुई हप्ता भनेको लामै होला जस्तो छ, धेरै आएका थिए, हामीले ४५ जना लिएका हौं।' 

कला कक्षामा सहभागी बालबालिकाले भगवान गणेश, कछुवा, कुकुर, हात्ती, फुल, गमला, घर र आफूलाई मनपर्ने अन्य आकृतीका सामाग्री समेत बनाएका छन्। विद्यालयमा पाठ्यक्रममै रहे पनि प्रयोगात्मक गर्न नसकेका बालबालिकालाई यो अवसरसमेत भएको ज्यापु समाजका ब्यवस्थापक रविन महर्जनले बताए। उनका अनुसार बालबालिकाले बनाएका रंगिन माटोका सामाग्रीको प्रर्दशनी र बेचबिखन गर्ने योजना ज्यापु समाजले बनाउँदै छ। 'बालबालिकाले बनाएका सामाग्री औपचारिक कार्यक्रमको आयोजना गरी प्रर्दशनी र बेचबिखन गर्ने र आएको रकम भूकम्प पीडित र बृद्धबृदाका लागि खर्चने योजनामा छलफल भै रहेको छ,' रविनले भने। 

कार्यशालाका रुपमा व्यवस्थित गरिएको कक्षामा वार्षिक परीक्षा दिएर घरमा बसेका बालबालिका सहभागी भएका हुन्। नेवार समुदायमा माटोको कार्य पहिचान भएका कारण समेत आर्कषण बढेको ज्यापु समाजले जनाएको छ। समाजका अनुसार पहिलो पटक भएका कारण कुनै संघसंस्थाबाट नभई विद्यार्थीबाटै लागत उठाएर कार्यक्रम संचालन भएको हो। 'नेपाली धर्म संस्कृती र कलाका बिषयमा सानैदेखि बालबालिकालाई जानकारी दिनसमेत कार्यशाला सहयोगि भएको छ,' रविनले भने।  समाजले कक्षाको अन्तिम दिन विद्यार्थीमा प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने जनाएको छ। परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने समाजले जनाएको छ। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया