Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

'चोरबाटो' पछ्याउँदै प्याब्सन

सोमबार, ०६ बैशाख २०७३

काठमाडौं - निजी विद्यालयका सञ्चालकहरुले पाठ्यपुस्तक छाप्ने अनुमतिनै नपाएको पब्लिकेशनका किताब किन्न सिफारिश गरेको फेला परेको छ । आफैंले पाठ्यपुस्तक बेचेर कमिसन बापत कुस्त रकम असुल्न नपाए पछि निजी विद्यालय सञ्चालकहरुले आफ्नै लगानीमा पब्लिकेशन खोलेर 'चोरबाटो'बाट पाठ्यपुस्तक बेच्न थालेका हुन् । पाठ्यक्रम विकास केन्द्रमा सुचिकृत नै नभएको ‘पी पब्लिकेशन’ का नामबाट प्रकाशित पाठ्यपुस्तक बाध्यतात्मक रुपमा विद्यार्थीलाई बिक्री गरिरहेको फेला परेको छ । 

पाठ्यपुस्तकमा पनि निजी विद्यालयका सञ्चालकहरुले नीति नियमको धज्जि उडाउने प्रयत्न जारी राखेका छन् । आफ्ना मातहतका निकायलाई उक्त पब्लिकेशनका पाठ्यपुस्तक बिक्री वितरण गर्न प्याब्सनले निर्देशन नै गरेको श्रोत बताउँछ ।

आफैंले पाठ्यपुस्तक छापेर बेच्न पाउनु पर्ने भन्दै निजी तथा आवासीय अर्गनाईजेसन प्याब्सनले निवेदन दिए पनि किताब छाप्ने काम प्याब्सनको नभएको भन्दै केन्द्रले स्विकृती नदिए पछि उनीहरुले पब्लिकेशन अघि सारेका हुन् । उक्त पब्लिकेशन कानून सम्मत नभएको भन्दै केन्द्रले उक्त फाईल मन्त्रालय पठाईदिएको छ । 'विद्यालय सञ्चालकहरुले किताब छाप्न नपाउने भए पनि प्याब्सनका पदाधिकारीको धेरै दवाव आए पछि केन्द्रले मन्त्रालय तिर पठाईदिएको हो' श्रोतले भन्यो, 'अव कानूनी रुपमा कारवाहि प्रकृया अघि बढ्छ ।'

उक्त पब्लिकेशनले केन्द्रको आवश्यक प्रकृया नै पुरा नगरी प्याब्सनले मंसिरमा बुझाएको भौचर सहितको निवेदनलाई नै आधार मान्न दवाव दिएको श्रोतको दावी छ । पब्लिकेशन स्विकृतिका लागि पाठ्य सामग्रीको लिष्ट, कसले लेखेको हो उसको शैक्षिक योग्यता सहित ब्यक्तिगत विवरण र स्विकृत गर्न चाहेको सामग्रीको ३/३ प्रति बुझाउनु पर्छ । यसका अलावा प्राविको हकमा ५ हजार र ६ देखि १० कक्षा सम्मको हकमा प्रति किताब ७ हजार रुपैंया राजश्व खातामा बुझाएको भौचर सहित निवेदन दिनु पर्छ ।

विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि मुद्रक तथा वितरकहरूको नवीकरण तथा सूचिकरण गर्न गत असोजमा केन्द्रले सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सुचना अनुसार प्याब्सनले गत मंसिरमा बुझाएकै कागजातलाई पब्लिकेशनका रुपमा मान्यता दिन उनीहरुको चर्को दवाव रहेको मन्त्रालय श्रोतले बतायो ।

प्याब्सनको पाठ्यपुस्तक समवन्य समितीका संयोजक अशिष श्रेष्ठ भने व्यवसायमा भएको अपारदर्शी कामलाई निरुत्साहित गर्न आफूहरुले नै पाठ्यपुस्तक छपाई गर्न थालेको तर्क गर्छन् । उनले भने 'यो ब्यवसायमा केही अपारदर्शी काम समेत हुने गरेको छ । त्यसलाई पहिचान गरेर निरुत्साहित गर्न आवश्यक छ ।' प्याब्सनको केन्द्रिय कार्यलय सञ्चालन गर्न आम्दानीको स्रोत पहिचान गर्ने क्रममा उक्त कार्य शुरु भएको उनको भनाई छ ।

केन्द्रको स्वीकृती बिनाका पब्लिकेशनहरुले प्रकाशन गरेका पाठ्य–पुस्तक सिधै प्याब्सन पदाधिकारीसँगको मिलोमतोमा विद्यार्थीलाई बिक्री गरिएको स्वयंम ब्यवसायी बताउँछन् । यो क्रम जिल्लाहरुमा झन् धेरै छ । बुटबलका एक पुस्तक व्यवसायीका अनुसार केन्द्रले सार्वजनिक गरेको सुचीमै  नदेखिएका पब्लिकेशनका किताव बजारमा छ्याप्छ्याप्ति छन् । त्यस्ता पाठ्य पुस्तकमा आफुखुशी मुल्य तय गरेर बिक्री वितरण भैरहेको छ ।

प्याब्सन र एन प्याब्सन लगायतका छाता संगठनका पदाधिकारीले त्यस्ता पब्लिकेशनका पुस्तक सिफारिश गर्ने गरेका छन् । अध्ययनरत विद्यार्थी तथा उनीहरुका अभिभावक नयाँ शैक्षिक सत्रसँगैं विद्यालयले सिफारिश गरेका त्यस्ता पुस्तक किन्न बाध्य छन् ।

नयाँ शैक्षिक सत्रसँगै निजी बिद्यालयका पाठ्य पुस्तकको ब्यापार मात्र करिब ३ अर्ब रुपैयाँ बराबरको हुने गरेको आुमान छ । करिब १५ लाख विद्यार्थीले निजी विद्यालयमा अध्ययन गर्ने गरेको प्याब्सनको दाबी छ । देशभरका करिब ५ हजार निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी समाजमा आर्थिक रुपले सम्पन्न परिवारका सन्तान मानिन्छन् ।

प्रकाशित मिति २०७३ बैशाख ६ गते

प्रतिक्रिया