काठमाडौँ, ६ बैशाख । डल्लुस्थित बुद्धज्योति माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिएका कृष्ण अधिकारीले परीक्षा सकिएपछि नतिजा नआउँदासम्मको समयमा के गर्ने भनेर कुनै योजना बनाउन सकेका थिएनन् । साथी भाइसँग उपत्यका बाहिर घुम्न जाने, काठमाडौंमै बसेर गीत संगीतको तालिम लिने, घरमै बसेर देशी, विदेशी लेखकका पुस्तक पढ्ने वा पत्रकारिता, उद्घोषणा कलालगायत अन्य रचनात्मक क्रियाकलाप गर्ने भन्नेमा उनी निकै दुविधामा थिए ।
यी सबै योजनालाई पाखा लगाउँदै अधिकारीले भर्खरै मात्र सकिएको एसएलसी परीक्षाको नतिजा आएपछि दस जोड दुईमा आफूले पढ्ने योजना बनाएको विज्ञान विषयको ब्रिज कोर्स गर्ने निधो गरे । उनी अहिले साथी भाइसँगै काठमाडौंमा ब्रिज कोर्सका लागि खुलेका संस्थामा परामर्शका लागि धाइरहेका छन् ।
एसएलसी परीक्षा सकिएपछि फुर्सदको रूपमा उपलब्ध हुने तीन महिनाको समयलाई कसरी सदुपयोग गर्ने भन्नेमा केही वर्षअघिसम्म निकै पिरलोमा पर्ने विद्यार्थीलाई अहिले सहरका गल्ली गल्लीमा खुलेका ब्रिज कोर्स प्रदायक संस्थाले निकै सहयोग गरिरहेका छन्, फुर्सदको समयलाई उत्पादनमुलक कार्यमा सदुपयोग गर्न ।
एसएलसी परीक्षा सकिएको एक साता मात्र भएको छ । तर कृष्णजस्ता हजारौं विद्यार्थी अहिले ब्रिज कोर्स प्रदायक संस्थामा परामर्शका लागि लामबद्ध भएको देखिन्छ । बागबजार, पुतलीसडक, बानेश्वर, सोह्रखुट्टेलगायतका क्षेत्रका घर ब्रिज कोर्सको प्रचारमा झुण्ड्याइएका होर्डिङ बोर्डले रंगिएका छन् ।
विद्यार्थीलाई ब्रिज कोर्सको रूपमा यस्ता संस्थाले दस जोड दुईमा भर्ना हुने विषयमा प्रारम्भिक अध्यापन गराउने, त्यस्ता विषया भर्ना हुनका लागि प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्नेदेखि लिएर कम्प्युटर तालिम, विभिन्न भाषाका कक्षा सञ्चालन, गीत संगीतको तालिम दिने तथा विद्यार्थीलाई विभिन्न रमणीय स्थानमा घुमाउन लैजाने सम्मको गतिविधि गरिरहेका छन् ।
बानेश्वरस्थित अल्फाविटा इन्स्टियुटका प्रमुख द्धिराज शर्मा विद्यार्थीको चाहना अनुसार आफ्नो संस्थाले दर्जनभन्दा धेरै विषयमा पढाइ सञ्चालन गरिरहेको बताउँछन् । विगत दुइ दशकभन्दा लामो समयदेखि ब्रिज कोर्स सञ्चालन गर्दै आएका उनी विद्यार्थीका लागि ब्रिज कोर्स अत्यन्तै महत्त्वपूर्ण पाटो भएको बताउँछन् । ‘ब्रिज कोर्सको रूपमा विद्यार्थीले यही विषय पढ्नुपर्छ भन्ने छैन । तर तीन महिनाको समयलाई अधिकतम उपयोग गर्ने एक मात्र उपाय भनेको ब्रिज कोर्स मात्रै होु शर्मा भन्छन् ।
ब्रिज कोर्सको रूपमा अहिले अधिकांश विद्यार्थीको रोजाइ दस जोड दुईमा पढाइ हुने विषयमा भर्ना हुनेमा देखिन्छ । ब्रिज कोर्स प्रदायक संस्थाले पनि विद्यार्थीको रूची अनुसारकै विषयको पढाइ सञ्चालन गरिरहेका छन् । तर शिक्षाविद् भने ब्रिजकोर्स सञ्चालनको हालको प्रणाली परम्परागत भएको र कुनै पनि संस्थाले फरक तरिकाको विषय प्रस्तुत गर्न नसकेको बताउँछन् । शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा। बालचन्द्र लुइँटेल परम्परागत धारका ब्रिज कोर्सभन्दा पनि विद्यार्थीलाई कसरी पूर्ण जीवन बिताउने भन्ने विषयको कोर्सको पढाइ सञ्चालन गर्नुपर्ने बताउँछन् ।
लुइँटेलका अनुसार विद्यार्थीका लागि दस जोड दुईमा पढाइ हुने विषयको कोर्स पढेर मात्र एसएलसी परीक्षादेखि नतिजा नआउँदासम्मको समय खेर फाल्न नहुने बताउँछन् । ‘सामान्यतया विद्यार्थीले एसएलसी परीक्षा दिँदासम्म न्यूनतम दस वर्ष विद्यालय शिक्षामा समय खर्चेको हुन्छ । अझ निजी विद्यालयका विद्यार्थीले त पूर्वप्राथमिक तहको समेत गरेर हिसाब गर्ने हो भने दस कक्षासम्ममा तेह्र वर्ष समय बिताएका हुन्छन्ु, लुइँटेल भन्छन्, ‘यस हिसाबले भन्ने हो भने उनीहरूले तेह्र वर्षसम्म पढेर नजानेको कुरा तीन महिनाको समयमा पढेर हासिल गर्न सक्छन् भन्ने कुरा गलत हो ।
त्यसैले तेह्र वर्षसम्म पढेर दिक्क भएका विद्यार्थीले फुर्सको दुई तीन महिनामा फोटोग्राफी, पेन्टिङ, संगीत, नृत्य, उद्घोषण तथा व्यक्तिगत विकास गराउन मद्दत पुर्याउने विषयको तालिम लिनु उपयुक्त हुन्छ ।' नेपाली बजारमा विद्यार्थीलाई फरक क्षमताको विकास गर्न मद्दत पुरयाउने ब्रिज कोर्स प्रदायक संस्थाको अभाव रहेको लुइँटेलको अनुभव छ । भन्छन्, ‘अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आर्ट क्राफ्टको राम्रो स्कोप छ । प्रिन्टिङ, फोटोग्राफीको पनि राम्रो भविष्य छ । तर यस्ता विषयमा तालिम दिने संस्थाको अभाव छ ।' नेपाली बजारमा अहिले खुलेका अधिकांश संस्थाले विद्यार्थीलाई एकेडेमिक माइन्डलाई एक्स्टेन्ड गर्न सहयोग पुर्याउने कोर्स मात्र अफर गरिरहेका छन् । कतिपय विद्यार्थी आफ्नो रुची अनुसारको कोर्स पढ्न नपाएकोमा दुःखी पनि छन् ।
फुर्सदको समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकको पुस्तक पढ्ने र सोही अनुसार आफ्नो लेखन क्षमता बढाउने योजना बनाए पनि उपयुक्त संस्था नभेटेर भौतारिरहेका सन्दीप अधिकारी भन्छन्, ‘बागबजार र पुतलीसडक क्षेत्रका अधिकांश घर ब्रिज कोर्स प्रदायक संस्थाको विज्ञापनले ढाकेको छ । तर मैले रुची अनुसारको तालिम लिन पाइनँ ।'
विगत १५ वर्षदेखि विशेष गरी मेडिकल शिक्षाको अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आएको संस्था नेस्सन इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन ९नाइन० का प्रमुख मातृका भट्टराई धेरैजसो विद्यार्थीको रुची पनि प्रवेश परीक्षा तयारी कक्षामा नै भएका कारण धेरैजसो व्यवसायीको आकर्षण पनि यतैतर्फ बढेको बताउँछन् ।
कुन संस्था कति विश्वासिलो र?
एसएलसी परीक्षा सकिएपछि बागबजार, पुतलीसडक र बानेश्वर क्षेत्रका घर ब्रिज कोर्स प्रदायक संस्थाका होर्डिङ बोर्डले रंगिएका हुन्छन् । तर तीमध्ये कुन संस्थामा भर्ना हुने भन्नेमा विद्यार्थी समस्यामा पर्ने गरेका छन् । विशेष गरी एसएलसी परीक्षा सकिएपछि मात्र खुल्ने र तीन महिनापछि बन्द हुने समस्याका कारण यस्ता संस्थाको विश्वसनियतामा पनि विद्यार्थीलाई समस्या पर्ने गरेको छ ।
उपत्यकालगायत मुलुकका कुन सहरमा कति ब्रिज कोर्स प्रदायक संस्था सञ्चालनमा छन् भन्नेमा एकीन तथ्यांक कुनै पनि निकायमा छैन । सामानय ट्युसन पढाउने इन्स्टिच्युटदेखि नेपाल सरकार कम्पनी कार्यालय र शिक्षा मन्त्रालयमा समेत दर्ता भएका संस्थाले यस्ता विषयको पढाइ सञ्चालन गरिरहेका छन् । तर यीमध्ये अधिकांश संस्थालाई स्थायित्वको समस्या छ ।
बागबजारस्थित प्रोग्रेस एजुकेसन फाउन्डेसनका अध्यक्ष राजकुमार महतो भरपर्दो र विश्वासिलो संस्थामा भर्ना हुन चाहने विद्यार्थीले सम्बन्धित संस्थाको इतिहास, विगतको नतिजा, व्यवस्थापन समूह र शिक्षकको योग्यताको विषयमा अध्ययन गर्नुपर्ने बताउँछन् । ‘विद्यार्थीले क्वालिटीमा ध्यान दिनुपर्छ । यसका लागि विज्ञापन हेरेर मात्र होइन, सम्बन्धित संस्थाको भ्रमण अवलोकन अनिवार्य छु, महत भन्छन् ।
ब्रिज कोर्समा के पढ्ने र?
एड्भान्स साइन्स
ब्रिज कोर्सको रूपमा विद्यार्थीले रुचाएका विषयमध्ये एड्भान्स साइन्स एक हो । दस जोड दुईमा विज्ञान विषयको अध्ययन गर्ने योजना बनाएका विद्यार्थीलाई केन्द्रित गरेर यस विषयको पाठ्यक्रम तयार पारिएको हुन्छ ।
एसएलसी दिएर बसेका विद्यार्थीलाई नतिजा प्रकाशन नहुँंदासम्मको समयलाई अधिकतम सदुपयोग गर्न तथा विद्यालय तह र उच्च माध्यमिक तहको पाठ्यक्रमको बीचमा रहेको भिन्नता पूर्ण गराउन यो कोर्स सहयोगी हुने ब्रिच कोर्स प्रदायक संस्थाका सञ्चालकको भनाइ छ ।
यसमा पनि विद्यार्थीलाई विज्ञान विषयको पढाइ हुने कलेजमा भर्ना हुनका लागि प्रवेश परीक्षा तयारी कक्षा र विद्यार्थीले दस जोड दुईमा पढ्नुपर्ने विषयका बारेमा सामान्य जानकारी दिइन्छ ।
एड्भान्स म्यानेज्मेन्ट
एसएलसीको नतिजा आएपछि दस जोड दुईमा व्यवस्थापन विषय पढ्ने योजना बनाइरहेका विद्यार्थीलाई लक्षित गरेर यस विषयको पढाइ सञ्चालन गरिन्छ । विद्यार्थीले ब्रिज कोर्समा अत्यधिक रुचाएको विषयको रूपमा यसलाई लिइन्छ । व्यवस्थापन कस्तो विषय हो र?
यसका फाइदा तथा दस जोड दुईमा विद्यार्थीले पढ्नुपर्ने पाठ्यक्रमका बारेमा विद्यार्थीलाई जानकारी गराइन्छ । त्यसका साथै विद्यार्थीलाई व्यवस्थापन विषयको प्रवेश परीक्षा तयारी कक्षा र एसएलसी तथा दस जोड दुईको पाठ्यक्रमका बीचमा रहेको भिन्नतालाई पूर्ण गराउने काम पनि एड्भान्स म्यानेज्मेन्ट विषयमा गराइन्छ ।
ए लेभल प्रवेश परीक्षा तयारी
एसएलसीपछिको अध्ययनमा विद्यार्थीले रुचाएको विषयमध्ये ए लेभल पनि एक हो । नाम चलेका र विद्यार्थीको अत्यधिक चाप हुने कलेजमा पढ्न विद्यार्थीको लागि प्रवेश परीक्षाको तयारी कक्षा लिनु आवश्यक छ । ब्रिज कोर्स प्रदायक संस्थामध्ये अधिकांशले ए लेभलको प्रवेस परीक्षा तयारी कक्षा सञ्चालन गरिरहेका छन् ।
कम्प्युटर तालिम
एसएलसीको नतिजापछि दस जोड दुईमा जुनसुकै विषयको अध्ययन गर्ने योजना बनाएका विद्यार्थीका लागि पनि अति उपयोगी मानिने कोर्सको रूपमा कम्प्युटर तालिमलाई लिइन्छ । एड्भान्स साइन्स, एड्भान्स म्यानेज्मेन्ट तथा ए लेभलको प्रवेस परीक्षा तयारी कक्षा लिइरहेका विद्यार्थीले समेत कम्प्युटर तालिमप्रति रुची देखाएको व्यवसायीको अनुभव छ ।
स्वास्थ्य शिक्षा प्रवेश परीक्षा तयारी
एसएलसीमा उत्तीर्ण हुने धेरै छात्राको रुचीको विषय अहिले स्वास्थ्य शिक्षातर्फ रहेको देखिन्छ । यसअन्तर्गत स्टार्फ नर्स, हेल्थ असिस्टेन्ट ९एचए० फार्मेसी, ल्याब टेक्निसियनलगायतका विषयमा विद्यार्थीको रुची बढी देखिन्छ । सिमित कोटामा धेरै विद्यार्थीको प्रतिस्पर्धा हुने भएपछि प्रवेश परीक्षाको राम्रो तयारी गरेमा मात्र भर्ना हुन सकिने बिज कोर्स सञ्चालकको भनाइ छ ।
ब्रिज कोर्सको रूपमा धेरै छात्राको आकर्षण पनि यसैतर्फ रहेको स्वास्थ्य शिक्षालगायतका थुप्रै विषयमा ब्रिज कोर्सको कक्षाहरू सञ्चालन गरिरहेको रिलायबल एकेडेमीका सञ्चालक सुनील भट्टराईको भनाइ छ ।
(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)
प्रतिक्रिया