Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

शिक्षकले आफैलाई चिनेनन्, सुझाव दिने की आदेश मान्ने ? 

सोमबार, ०६ बैशाख २०७३

गंगा गौतम / संसारमा सबैभन्दा सम्मानित र आन्मसन्तुष्टि मिल्ने पेशा शिक्षण हो । शिक्षक त्यसैको एउटा प्रतिमूर्ति मात्र हो । कुनै पनि काम आफ्नै रचनात्मक ढंगले गर्ने काम शिक्षण पेशा बाहेक अन्त छैन् र हुदैन् पनि । हरेक पेशामा कार्यालयकै नियम र सिद्धान्त हुन्छन् । त्यो नियम मिचेर जान पाइदैन् । तर शिक्षण पेशामा कार्यालयको नियम हावी हुदैन् । यसमा मात्र शैली र बुझाईको असिमित क्षमता हुन्छ । कुनै पनि कुरालाई विभिन्न तरिकाले बुझ्ने र बुझाउने स्वतन्त्रता पनि शिक्षण पेशमा बाहेक अरुमा सायदै हुन्छ । जुनसुकै ठूल्ठूला काम गर्दा हरेक सिद्धान्तलाई अनिवार्य रुपमा ‘फ्लो’ गर्नैपर्छ । तर शिक्षण पेशामा कसैको दबाब र प्रभाव रहदैन् । यसमा केवल सिर्जना र त्यसको प्रस्तुति नै केन्द्रविन्दुमा रहन्छ । तर अहिलेका धेरैजसो शिक्षकहरुमा यो लागु भएको छैन् । कसैको आदेश कहिल्यै पालना गर्नु नपर्ने शिक्षकहरु अहिले निरिह भएर सबैको आदेश मात्रै ‘मान्ने’ बनेका छन् । यसले एकातिर शिक्षण पेशाको मर्यादा घटिरहेको छ भने अर्कोतिर शिक्षकहरुकै सिर्जनामा ‘खोट’ लागिरहेको छ । विद्यालयसमयमा कक्षाकोठामाभित्र प्रवेश गरिसकेपछि विद्यार्थीलाई विभिन्न तरिकाले पढाएर राष्ट्रका निर्माता र आधारस्तम्भ बनाउने महत्वपूर्ण जिम्मेवारी बोकेका शिक्षकहरु यति किन निरिह बनिरहेका छन् ? जवाफ पाउन मुश्किल भएपनि असम्भव भने छैन् ।

शिक्षकले आफैलाई चिनेनन्

कक्षा पाचँको नेपाली किताबमै छ ‘म को हुँ’ भन्ने कविता । कवितामा आफु को हुँ, मैले के गर्नुपर्छ, कति गर्नुपर्छ, कसरी गर्नुपर्छ, मैले कति काम गर्न सक्छु सबै स्पष्ट खुलाएको छ । त्यो कविता सबैले पढेका छन् । त्यो कविता पढेकै आधारमा भन्ने हो भने पहिला हरेक व्यक्तिले आफुलाई चिन्नुपर्छ । त्यसपछि बल्ल आफ्नो ‘प्रोफेशन’ अगाडी बढाउनुपर्छ । व्यक्तिले आफुलाई चिनेपछि मात्रै प्रोफेशन राम्रोसंग अगाडी बढाउन सक्छ । अझ यसरी भन्दा कुनै पनि पेशामा उत्कृष्ट काम गर्नेहरुले आफुलाई त्यसैमा समर्पण गरेर केही फरक तर विशेष गर्छन् । यो शिक्षण पेशमा झन् अनिवार्य चाहिन्छ । तर यो शिक्षण पेशामा हिजोआज निकै कम पाइन्छ । यसको प्रमुख कारण शिक्षकले आफुलाई नचिनेरै हो । यो देशको प्रधानमन्त्री, राष्ट्रपति, प्रधानन्यायाधीश देखि सबै राष्ट्रसेवक बनाउने पहिलो जिम्मेवारी शिक्षकले लिएका थिए । र उनीहरुले त्यो सकुशल पुरा पनि गरे । हिजो ती शिक्षकले हप्काउँदै, पिट्दै, रिसाउँदै कहि सम्झाउदै पढाएकाहरु नै अहिलेका ‘ठूला’ भनिएका प्रधानमन्त्री देखि राष्ट्रपतिसम्म बन्न सफल भएका हुन् । जनताले ‘भोट’ दिएर देशको सम्मानित पदमा पुगेपनि यो सिकाउने र अक्षर चिनाउने भनेका शिक्षक नै थिए । अहिले पनि कुनै व्यक्ति जहाँ पुगोस, जुनसुकै पद हत्याएर शासन गरोस तर उसले शिर निहुराएर हृद्यबाटै शिक्षकलाई कही कतै भेट्दा आदरपूर्वक नमस्कार गर्छ । किनकी उ त्यही शिक्षा पाएर ठूल्ठूलो प्रगति गर्न सफल भएको हो । यसलाई ती व्यक्तिले बुझे तर शिक्षकले राम्रोसंगै बुझ्नै बुझ्न सकेनन् । कालान्तरमा गएर ती विद्यार्थीबाट शासित भएका शिक्षकहरुले आफैलाई नचिन्दा शिक्षामा जुन विकास र प्रगति हुनुपर्ने हो त्यो हुन सकेन । 

बदलामा अहिले देख्न सकिन्छ, कुनै पार्टी कार्यालयमा अहिले पनि शिक्षक र तिनै विद्यार्थी मिलेर कहाँ कसरी कमिशन आउँछ मिलेर खाने भन्ने सोच र योजनामा छन् । ‘विद्यालयमा शिक्षक चाहिएको छ । कसलाई नियुक्ति दिने ? नम्बर कम आएर के भो त, हाम्रो पार्टीको त हो नि ? आफ्नै मान्छेलाई नियुक्ति दिएपछि पछि जे गर्दा पनि सजिलो हुन्छ ।’ शिक्षकले नै आवश्यक सुझाव सल्लाह र राम्रो कामको नेतृत्व लिनुपर्ने ठाउँमा धेरैजसो शिक्षकहरु आफैले पढाएका विद्यार्थीलाई नै आफैले पढाएको भन्दा खराब काम गर्न गराउन अग्रसर छन् । यो गर्ने सबै शिक्षक छैनन् । तर लोकतन्त्रपछि बाध्य भएर पनि यो ‘चाकरी’ गर्न शिक्षकहरु उद्धत छन् । कारण उनीहरु पनि बाच्नुपर्छ । यै समाजको नागरिक भएर जिउनुपर्छ । धेरैले रहरले पार्टी कार्यकर्ताको हैकम चलाउँदै बसेका छन् भने थोरैले त्यही हैकमको पालना गरेरै आफु इमान्दार शिक्षक बन्ने दुस्साहस गरिरहेका छन् । यो हाम्रो क्षमताभित्रको कमजोर शिक्षण पाठ हो । जुन गलत छ त्यो गलत नै बुझेर पनि ‘सही हो’ भन्दै स्यालुट हान्नुपरेको अवस्था छ । 

यदि शिक्षकले आफ्नो क्षमतामा विश्वास गर्ने हो, हिजोका दिनमा कसैको आशिरवाद भएपनि घरबाट ऋणदान गरेर पढेको हो र त्यही शिक्षादिक्षाले ऊ शिक्षक बनेको हो भने पहिला आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ । आफुले दुई चार कक्षा पढेर शिक्षक बनेपछि शिक्षण पेशा अगाल्न पुगेका शिक्षकहरुको त्यो बौद्धिकता कता हरायो ? आफैले पढाएका विद्यार्थीबाट आएको आदेश खुरुखुरु यो काम पनि हस् त्यो काम पनि हस् किन भन्नुपर्यो ? जबकी कुन काम कति ठिक, कटि बेठिक छुट्याउने सर्वोत्तम ज्ञान आफैमा छ । यसैलाई शिक्षकले अलिकति पनि मनन् गरे भने शिक्षामा अपेच्छित सुधारका लागी धेरै गर्नैपर्दैन् । 

बौद्धिकताको अवमूल्यन र ट्रेड युनियनको विगविगी

म गलत छैन् भने कुन देशमा हरेक पार्टीका शिक्षक संगठन, विद्यार्थी संगठन, किसान संगठन लगायत ट्रेड युनियनहरुको विगविगी छ । नेपाल बाहेक अन्य देशमा यस्तो छैन् । जहाँ जस्तो पनि संगठन खोल्ने र आफ्नै सरकारी नियमविपरित गैरकानुनी रुपमा काम गर्दै हिड्ने । यस्ता ट्रेड युनियनको विगविगीले पनि नेपाल आज विकासको साटो दिनानुदिन भ्रष्टाचार र घुसखोरीको चंगुलमा फस्नुपरेको छ । गलत गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ । यसको निर्विकल्प सजाय वा गल्ती महसुस गरेपछि नदोहोर्याउनु नै हो । तर यहाँ गलत गर्नेलाई कारबाही गर्न खोज्दा तिनै ट्रेड युनियनहरुको पहिलो धम्की र दबाब प्रशासन नै शिथिल बन्न पुग्छ । यसमा नागरिकको सचेतना र समाजको अवस्था जोडिएला तर पहिला बौद्धिक मानिसहरुको वास्तविक बुद्धि र नैतिकता कति रहेछ भन्ने प्रष्ट पार्छ । 

शिक्षक यी र यस्तै यावत समस्यामा ‘कुहिरोमा हराएका काग’ जस्तै भएका छन् । आज हरेक विद्यार्थीले क्याम्पसमा पढ्दा कुन शिक्षक कुन पार्टीको भनेर पहिला सोध्न र खोज्न थालेको छ । ऊ स्वंयम आफैले पढ्नुभन्दा पहिले कसलाई पढाउन दिने ? कसलाई नदिने ? भनेर पार्टीको शिर्ष भूमिका निर्वाह गर्न आतुर देखिन्छ । शिक्षकले चाहेको खण्डमा ती विद्यार्थीलाई सम्झाई, बुझाई नभएर कलेजको नियमअनुसार ‘रेस्टिगेट’ समेत गर्न सक्छ । तर सरकारी विद्यालयमा यी सब अब अपवादका रुपमा देख्न सकिन्छ । कोही विद्यार्थीले शिक्षकलाई कक्षाकोठामै निर्घात कुटेपनि ‘कठै विचरा’ भन्ने कोही छैन् । शिक्षकहरुमा भएको क्षमतालाई सरकारले उचित रुपमा प्रयोग गर्न नसक्दा र शिक्षकको पनि कुनै न कुनै पार्टीको ‘चाकरी’ मात्रै गर्ने बानीले यी सबै कुराको सिर्जना गरेको हो । 

सुझाव दिनुको साटो आदेश मान्ने 

शिक्षकहरु सबैभन्दा बढी बौद्धिक व्यक्ति हुन् । कुनै पनि कामको अगाडी शिक्षकहरुले त्यसलाई कसरी कहाँबाट गर्दा सजिलो हुन्छ भन्ने थाहा पाउन सक्छन् । ती शिक्षामा हुन् या त अन्य ठाउँमा नै । मुलुकको शासन प्रणाली देखि हरेक निकायमा हुने कामको प्रभावकारीका लागी शिक्षकले सही ‘सुझाव’ दिने हो । तर यहाँ ठिक उल्टो देखिन्छ, ठूला भनिएकाबाट सानै आदेश पनि ‘हस्’ भन्दै मानिहाल्ने । मैले माथी पनि उल्लेख गरेको छु । शिक्षण पेशा बाहेक अरु कुनै पेशामा पनि सोचेजस्तो स्वतन्त्रता हुदैन् । तर यसको सदुपयोग भन्दा दुरुपयोग बढी भयो । राजनीतिक पार्टीका नेतालाई त शिक्षकले सही उपदेश र सुझाव दिन सक्छन् । यो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । तर हामीकहाँ तिनै शिक्षकहरुले कसले के भन्यो ? ‘यदि आफुलाई भनेको भए त्यसलाई सजिलै हुन्छ । म गर्छु । यो हाम्रो हितका लागी हो । हाम्रो पार्टीलाई फाइदा हुन्छ । र हाकाहाकी कुनै पार्टीको सक्रिय कार्यकर्ता बन्छ ।’ यो भन्दा दुर्भाग्य अरु के हुन सक्ला ? 

बौद्धिक वर्गको नेतृत्व गर्ने शिक्षकहरुले राजनीति गर्नै परे शिक्षण पेशाबाट राजीनामा दिएर लागे भैगो त ? किन खुट्टा अडाइरहने ? आखिर मुलुकको विकासकै लागी हो भने स्वतन्त्र रुपमा राजनीति गर्दा राम्रो । होइन् भने गैरकानुनी रुपमा पार्टीगत शिक्षक बनेर विद्यार्थीलाई पढाइरहने ‘गुरु’ बनिरहन आवश्यक छैन् । कुनै काम गर्दा छलकपट भन्दा समर्पण चाहिन्छ । त्यसैले शिक्षकले यसरी शिक्षण पेशामा होमिएपछि आपैmलाई विर्सेर ‘चाकरी’ गर्न आवश्यक छैन् । यसको अर्को कमजोरी भनेको राज्य कमजोर भएर पनि हो । जबकी शिक्षकले गलत गरिरहेका छन् भनेपनि कुनै वास्ता नगर्ने सरकारको निरीहताले नै विद्यालय तथा क्याम्पसको पठनपाठन नसुध्रिएको हो । यसलाई सरोकारवालाहरुले गम्भिर रुपमा मनन् गर्नुपर्छ । 

अन्तिममा, शिक्षक आफैमा सबैभन्दा बढी बौद्धिक र उत्कृष्ट व्यक्ति हो । आफ्नो क्षमताले दैनिकी चलाउने, समाजलाई आदर्शको पाठ सिकाउने, भोलीका राष्ट्रनिर्माता जन्माउने शिक्षकले पहिला आफुलाई चिन्नुपर्छ । यदि शिक्षककै कारण शिक्षामा विकास हुन नसकेको हो भने सुधार गरौँ । हामी शिक्षकले चाहे भने सक्छौँ । धेरै ठाउँमा सकेका पनि छौँ । अहिले किन सक्दैनौँ ? सुधार र परिवर्तनका लागी किन अरुको मुख ताक्ने ? किन अरुको पिछलग्गु बन्ने ? शिक्षा सुधार नै भयो भनेपनि धेरै कुरामा परिवर्तन हुन्छ । त्यसैले आफुलाई इमान्दार रुपमा शिक्षक नै बनाएर आफ्नो कर्तव्य पुरा गरिदिने शिक्षकले नै वास्तविक रुपमा मुलुक परिवर्तन गर्न सक्छन् । आफु, आफ्नै नैतिकताले जिम्मेवारी पुरा नगर्दासम्म अरुलाई दोष दिने ठाउँ छैन् । 

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)का पूर्व अध्यक्ष समेत रहेका गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पस ताहचलका सह–प्रध्यापक हुन् । 

(गौतमसंग विष्णु विवेकले गरेको कुराकानीमा आधारित)

 

 प्रकाशित मिति २०७३ बैशाख ६ गते । 

 

प्रतिक्रिया