Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालय बनाउन सहयोगको अपिल

आइतबार, ०५ बैशाख २०७३

काठमाडौँ, ६ वैशाख । कास्कीको भदौरे तमागी गाविसको देउरालीमा रहेको बहादुरे उच्च माध्यमिक विद्यालयको पर्खाल र मञ्च निर्माणमा सहयोग गर्न सबैसँग अपिल गरिएको छ ।  विद्यालय परिसरमा विद्यार्थीलाई सुरक्षित राख्न र अनुकूल शैक्षिक वातावरण बनाउन खोजिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक सङ्कलन एवम् निर्माण समितिका संयोजक आशबहादुर गुरुङले जानकारी दिए ।

सामाजिक सञ्जालबाट पूर्व विद्यार्थी र शिक्षाप्रेमीबाट आवश्यक रकम सङ्कलन गर्ने समितिको लक्ष्य रहेको छ ।  हाल बेलायतमा रहेका स्थानीयवासी सोम गुरुङले करिब रु चार लाखको लागतमा विद्यालयको मूलद्वार निर्माण गरिदिने वचन दिएका छन् । 

स्व सुकबहादुर गुरुङ र दिलमाया गुरुङको स्मृतिमा प्रदत्त रु एक लाख ११ समितिलाई उपलब्ध भएको छ भने स्व रामबहादुर गुरुङ र देवी गुरुङको स्मृतिमा छोरा आशबहादुर गुरुङले रु ५० हजार ११५ सहयोग गरेका छन् । 

त्यस्तै निर्माणका लागि समितिका कोषाध्यक्ष दुर्गीमाया गुरुङ र श्रीप्रसाद गुरुङले रु २५ हजार ११, विद्यालयका प्रधानाध्यापक तथा समितिका सचिव रामप्रसाद पौडेलले रु १० हजार १०, लक्ष्मी गुरुङले रु पाँच हजार र मञ्जु गुरुङले रु पाँच हजार दिने घोषणा गरेका छन् ।  

पर्खाल निर्माणका लागि रु १५ लाख र मञ्चका लागि रु १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।  सो उच्चमाविमा हाल करिब ३०० विद्यार्थी अध्ययनरत छन् । विसं २०६७ मा बेल्जियमको एक संस्थाले झन्डै रु एक करोड १५ लाख खर्च गरी १४ कोठे पक्की भवन निर्माण गरिदिएपछि २०६८ सालदेखि यहाँ पठनपाठन भएको हो ।  

रासस 

 

प्रतिक्रिया