Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

१२ वर्षीय 'निको'को नेतृत्वमा विद्यालय भवन !

आइतबार, ०५ बैशाख २०७३

काठमाडौँ, ६ वैशाख । अमेरिकाको क्यालिफोर्निया राज्यका १२ वर्षीय नागरिक ‘निको’ को नेतृत्वमा गोरखाको बुंकोटस्थित रामेश्वरी माध्यमिक विद्यालयमा पुनःनिर्माणको काम अघि बढेको छ । 

भूकम्पले भत्काएको विद्यालयका शौचालय र पुस्तकालयको पुनःनिर्माण सुरु गरिएको हो । ‘इगल स्काउट अफ अमेरिका’ को प्रमुख रहेका निकोको नेतृत्वमा रहेको ३२ जनाको टोली भूकम्पले भत्काएका संरचना पुनःनिर्माणमा जुटेका छन् । 

स्थानीय विश्वनाथ वाग्लेका अनुसार ‘इगल स्काउट अफ अमेरिका’ ले विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै विद्यालयलाई चार थान कम्प्युटर पनि सहयोग गरेको छ । उनले भने – “निकोको समूहले बुंकोटको शैक्षिक गुणस्तर उकास्न खोजेको छ । शौचालय र पुस्तकालय भवन बनाउँदै छन् ।” निको, उनका परिवारका सदस्य र स्काउटमा आबद्ध युवायुवती पुनःनिर्माणको काममा सक्रिय रुपमा जुटिरहेका छन् । 

‘इगल स्काउट अफ अमेरिका’ लाई पार्मोनियर फाउन्डेसन नेपाल नामक संस्थाले बुंकोट ल्याएको हो । संस्थाका प्रतिनिधि चेतप्रसाद भट्टले भने – “अमेरिकी स्काउटमा आबद्ध युवा स्वयम्सेवकका रुपमा पुनःनिर्माणमा जुट्न रुचाउँछन् । भूकम्पको केन्द्रविन्दू रहेको गोरखाको शैक्षिक सुधार गर्ने उनीहरुको चाहना हो ।” अमेरिकी स्काउटको टोलीले अहिलेसम्म रु १३ लाख बराबरको सहयोग गरिसकेको छ । 

स्काउटमा आबद्ध भएपछि क्षमता वृद्धिका लागि पनि समाजसेवा गर्नुपर्ने हुन्छ । निकोले भने – “हामीले सङ्कलन गरेको केही बजेट भूकम्पले ध्वस्त विद्यालय र त्यहाँ पढिरहेका विद्यार्थीलाई दिन चाहन्छौँ ।” भूकम्पले दुःखमा परेका पीडितलाई हौसला बढाउन ‘सानो सहयोग’ लिएर आएको उनले बताए । 

सो समूह विद्यालय नजिकै मैलुङमा त्रिपाल टाँगेर बस्दै आएको छ । गत चैत २८ गते बुंकोट आएका उनीहरुको विद्यालयमा शौचालय भवन निर्माण सकेर फर्कने कार्यक्रम रहेको छ । साथै उनीहरुले पुस्तकालय निर्माण गर्न पुस्तक खरिदका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सो टोलीले बुंकोट, बोर्लाङ, नाम्जुङलगायत गाविसभित्रका विद्यालयमा भवन निर्माण तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै जाने बताएको छ । 

रासस 

 

प्रतिक्रिया