Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विपन्न विद्यार्थीका लागि अक्षयकोष !

आइतबार, ०५ बैशाख २०७३

काठमाडौँ, ६ वैशाख । पूर्वी चितवनको पदमपुरस्थित भीमोदय उच्च माध्यमिक विद्यालयमा समाजसेवी नन्दप्रसाद भट्टराईको प्रयासमा नन्दकुमारी भट्टराई स्मृत अक्षयकोष स्थापना गरिएको छ ।  समाजसेवी भट्टराईले रु एक लाख एक हजार १०१ आर्थिक सहयोग गरी कोष स्थापना गरेका हुन् । उक्त कोषमार्फत विद्यालयका विपन्न विद्यार्थीलाई सहयोग गरिने जनाइएको छ ।  

भीमोदय उच्च माविका प्राचार्य डा हरिप्रसाद कँडेलले कोषबाट प्राप्त ब्याज विद्यार्थीको शैक्षिक विकासमा खर्चिने बताए ।  समाजसेवी भट्टराईले विद्यालय परिसरमा रु तीन लाखको लागतमा सरस्वतीको मन्दिरसमेत निर्माण गरेका छन् । 

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हाल अस्ट्रेलियामा रहेका विद्यालयका पूर्व विद्यार्थी प्रकाश अधिकारीले बुबा मकरान्न अधिकारीमार्फत रु ५४ हजार नगद सहयोग गरेका छन् ।  यस्तै, छोरा मानकुमार चौधरीको तर्फबाट विद्यालयका संस्थापकमध्येका डिम्बर चौधरीले रु ५० हजारको चेक सहयोग स्वरुप प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।  

विद्यालयले आर्थिक सत्रदेखि नर्सरीदेखि कक्षा ९ सम्म अङ्ग्रेजी समानान्तर कक्षा सञ्चालन गर्ने तयारी गरेको विद्यालयका प्राचार्य कँडेलले जानकारी दिए ।  विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ७० प्रतिशत छात्रा छन् ।  

रासस 

प्रतिक्रिया