Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

पाठ्य पुस्तक वितरण अभियान : गुनासो सुन्ने व्यक्तिनै उठाउँदैन् फोन !

आइतबार, ०५ बैशाख २०७३

काठमाडौं – आफ्ना छोराछोरी र विद्यार्थीले पाठ्यपुस्तक नपाएर चिन्तित हुनुहुन्छ भने तपाईको चिन्ता यतिमा मात्रै सिमित नहुने भएको छ । पाठ्य पुस्तक नपुगेमा गुनासो सुन्ने सम्पर्क व्यक्तिका रुपमा शिक्षा विभागले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रवन्ध व्यवस्थापक अनिल कुमार झालाई तोकेसँगै तपाईको हैरानी थपिने पक्का भएको हो । झा प्राय फोन नउठाउने अधिकारीका रुपमा परिचित छन् ।

आईतबारबाट तामझामका साथ शुरु भएको निःशुल्क पाठ्य पुस्तक वितरण अभियानलाई लक्षित गरेर विभागले उनै झाको मोवाईल ९८५१०६२२३५ को नम्बर सार्वजनिक गरेको छ । तर उनको फोन पटक्कै उठ्दैन । पाठ्यपुस्तक वितरण र उपलब्धताका वारेमा जानकारी लिन सम्पर्क गर्दा आइतबार समेत उनले पुरानै बानी दोहोर्याए ।

उनको यो बानीले मन्त्रालय र विभागका कर्मचारी समेत हैरान भएको बताउँछन् । 'उहाँको फोन नउठाउने बानीले हामी पनि दिक्क छौं, पाठ्य पुस्तकको अपडेट के छ भनेर माथिबाट सोधि खोजि हुन्छ कुरा बुझ्न खोज्यो फोनै उठ्दैन' विभाग श्रोतले भन्यो, 'सम्बन्धित निकायका प्रमुख भए पछि जिम्मेवारी दिनै पर्यो ।'

केन्द्र स्वयं पाठ्य पुस्तक छपाईको जिम्मेवारी पाएको निकाय हो । महाप्रवन्धक झा त्यहाँका सुचनाका संवाहक पनि हुन् । त्यसमाथि शिक्षा विभागले चैत २९ गते सार्वजनिक सुचना नै जारी गरेर पाठ्यपुस्तक नपाएमा कक्षा ६ देखि १० का विद्यार्थीले झालाई सम्पर्क गर्न भनेको छ ।

'पाठ्य पुस्तक सम्वन्धमा सबै क्षेसिनी र जिशिकालाई अत्यन्त जरुरी सुचना' शिर्षकमा जारी विभागको उक्त निर्देशनात्मक सुचनामा - 'कुनै पनि विद्यार्थीले कुनैपनि पाठ्य पुस्तक नपाएमा कक्षा १ देखि ५ का विद्यार्थीले दीपक भण्डारीको मोवाईल नं ९८५१०४२००३ मा र कक्षा ६ देखि १० का विद्यार्थीले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रवन्ध ब्यवस्थापक अनिल कुमार झाको मोवाईल नम्बर ९८५१०६२२३५ मा फोन गर्नुहुन अनुरोध छ' भनिएको छ ।

यस्तै पाठ्य पुस्तक उपलब्ध नभएमा सुचना दिनका लागि शिक्षा विभागका फोकल पर्सन उप निर्देशक देवीराम अर्यालको मोवाईल नम्बर ९८४१९९०७९९ मा सम्र्पक राख्न पनि विभागले अनुरोध गरेको छ ।
हरेक विद्यार्थीले नयाँ पाठ्य पुस्तक पाउनै पर्ने, विद्यालयले नयाँ पाठ्य पुस्तक किन्नै पर्ने, पुरानो पाठ्य पुस्तक प्रयोग गर्न नपाईने व्यवस्थालाई जिल्लाले अनिवार्य रुपमा कार्यन्वयन गर्न निर्देशन दिए पनि अझै कतिपय जिल्लाका विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुगेको गुनासो कायमै छ ।

'पाठ्यपुस्तक पुर्याउने क्रम जारी छ, हामी काम गरिरहेका छौं' विभागका महानिर्देशक खगराज बराल भन्छन्, 'अभियानलाई हामीले राष्ट्रिय चासोहोस् भनेर सिम्बोलिक हिसावमा लिएका छौं, अपुग ठाउँमा चाँडैनै किताब पुर्याईने छ ।' बरालले आईतबार गोर्खाको १० किलो, कुमाल गाउँमा रहेको महेन्द्र उच्च माविमा पुगेर पाठ्य पुस्तक वितरण गरेका थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल भने ११ गते नवलपरासी जाने र अभियानको अन्तिम दिन भक्तपुरमा कार्यक्रम तय भएको मन्त्रीको सचिवालयले जनाएको छ । अभियान शुरु भईसक्दा पनि पाठ्यपुस्तक नपुगेको गुनासोका कारण मन्त्रीको कार्यक्रम पछि राखिएको श्रोतको दावी छ ।

मन्त्री भए लगत्तै पोखरेलले १८ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै नयाँ शैक्षिक सत्रको शुरु मै विद्यार्थीेको हातहातमा पुस्तक पु¥याउने उल्लेख गरेका थिए । उक्त प्रतिवद्धता अनुसार बैशाख ५ देखि १५ गते सम्मलाई तामझामका साथ निःशुल्क पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने निर्णय भएको हो । प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु र समकक्षी मन्त्रीहरुलाई समेत पाठ्यपुस्तक वितरणमा सहभागि गराउने उनको योजना सबै जिल्लामा पुस्तक नपुगेसँगै अलपत्र परेको छ ।

अभियान सफल बनाउन विभागले जारी गरेको सूचनामा निम्न व्यहोरा उल्लेख छ :

१ – बैशाख ५ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकाम , स्रोत केन्द्र र विद्यालयमा पुस्तक वितरण दिन, मनाउन जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा एक समिती गठन गर्ने उप जिल्ला शिक्षा अधिकारी वा शाखा अधिकृत मध्ये एक जनालाई फोकल पर्सन तोक्ने । बैशाख ४ गते भित्र फोकल पर्सनको नाम र मोवाईल एसएमएस र ईमेलबाट शिक्षा विभागमा पठाउने ।

२ –जिल्ला सदरमुकाममा पाठ्य पुस्तक बितरण दिन मनाउँदा जनप्रतिनिधी, अभिभावक,, शिक्षक महासंघका प्रतिनिधी,लेखक,तथा बुद्धिजीवी, कलाकार,खेलाडी,विद्यार्थी शिक्षामा सरोकार राख्ने संघ संस्थाका प्रतिनिधीहरु पत्रकार सबैको प्रतिनिधित्व हुनेगरी जिल्लामा कम्तीमा एउटा विद्यालयमा कार्यक्रम आयोजना गर्ने । केन्द्रबाट पनि पदाधिकारी खटिन सक्ने हुदा खटिने पदाधिारी वा व्यक्तीको अनुकुलतामा जिल्लाबाट बैशाख ५ गते देखि १५ गतेभित्र कुनै एकदिन तय गर्ने । क्षेशिनिवाट उपनिर्देशक/शाअलाई क्षेत्रको अन्य कार्यक्रमसँग समवन्य गरी अनुगमनमा पठाउने । 

३ –हरेक बिद्यार्थीले नयाँ पाठ्य पुस्तक पाउनै पर्ने विद्यालयले नयाँ पाठ्य पुस्तक किन्नै पर्ने पुरानो पाठ्य पुस्तक प्रयोग गर्न नपाईने ब्यवस्थालाई जिल्लाले अनिवार्य रुपमा कार्यन्वयन गर्ने गराउने ब्यवस्थगर्न संस्थागत विद्यालयहरुले स्वीकृत र स्वीकृत पाठ्यक्रम पुस्तक प्रयोग नगरेको पुरानो मुल्य मेटाई स्टिकर टाँसी मुल्य बृद्धि गरेको तोकिएको ठाँउमा मात्र पाठ्य पुस्तक सहित स्टेशनरी समान किन्न बाध्य पारेको जस्ता गुनासा आएकाले पाठ्य वितरण ब्यवस्थापन जिल्ल अनुगमन समितीले संस्थागत विद्यालयले प्रयोग गर्ने पाठ्य पुस्तक वितरण ब्यवस्थापन जिल्ला अनुगमन  समितीले विद्यालयले प्रयोग गर्ने पाठ्य पुस्तक लगायत निःशुल्क पाठ्य पुस्तक वितरण समवन्धमा निर्देशिका बमोजिम अनुगमन गरी फोकल पर्सन मार्फत क्षेत्रिय निर्देशनालय तथा बिभाग रिर्पाेटिङ गर्ने । 

४–जिल्लाले आफुले पाठ्य पुस्तक बिक्री बितरणका लागि अनुमति दिएका बिक्रेताहरुलाई जति संख्यामा पाठ्य पुस्तक पाईन्छ सम्वन्धित ठाँउबाट ल्यादैं गरी बिक्री बितरण गर्न र विद्यालयलाई खरिद गर्न पत्राचार गर्ने । 

५–कुनैपनि विद्यार्थीले कुनैपनि पाठ्य पुस्तक नपाएमा कक्षा १ देखि ५ का बिद्यार्थीले दीपक भण्डारीको मोवाईल नं ९८५१०४२००३ मा र कक्षा ६ देखि १० का बिद्यार्थीले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रवन्ध ब्यवस्थापक अनिल कुमार झाको मोवाईल नम्बर ९८५१०६२२३५मा फोन गर्नुहुन अनुरोध छ ।

६–पाठ्य पुस्तक उपलब्ध नभएमा सुचना दिनका लागि शिक्षा बिभागका फोकल पर्सन उप निर्देशक देबीराम अर्यालको मोवाईल नम्बर ९८४१९९०७९९ मा सम्र्पक राख्न अनुरोध छ ।

प्रकाशित मिति २०७३ बैशाख ५ गते

प्रतिक्रिया