Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालय छाडी मजदुरी गर्दै बालबालिका

आइतबार, ०५ बैशाख २०७३

काठमाडौँ, ५ बैशाख । आर्थिक विपन्नताका कारण जिल्लाको विकट गाविसका गरिब तथा सीमान्तकृत परिवारका बालबालिका पढाइ छाडेर मजदुरी गर्न सदरमुकाम हेटौंडा आउने गरेका छन्। १५ वर्षमुनिका उनीहरू हेटौंडाका होटेल, ग्यारेज र साना घरेलु उद्योग तथा कलकारखानामा बाल श्रमिकका रूपमा प्रयोग भइरहेका छन्।  

श्रम कार्यालय हेटौंडाको अगुवाइमा भएको अनुगमनमा हेटौंडा २ पल्पसा रोडस्थित होटेल न्यु ब्लु ड्र्यागनमा १४ र १५ वर्षका दुई बालक श्रममा प्रयोग गरेको भेटिएको छ। पदमपोखरी र नामटारका ती दुई बालक दुई कक्षा पढेर होटेलमा काम गर्न थालेका हुन्।  घरमा कमाउने मान्छे नभएकाले बाध्य भएर होटेलमा काम गर्नुपरेको उनीहरूले बताए । ती दुई बालकको उद्धार गरी सिविन बाल हेल्प लाइनमा ल्याइएको सिविनका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवालीले बताए।  

हेटौंडा ४ हुप्रचौरमा रहेको म्याजिक मःम एन्ड क्याफेमा पनि घादिङस्थित धादिङबेसीका १४ वर्षीय बालक श्रम गरिरहेको भेटिए । उनलाई विद्यालय शिक्षाबाट वञ्चित गराएर डेढ वर्षअघि काममा लगाइएको हो । उनले मासिक २५ सय रुपैयाँ पारि श्रमिक बुझ्दै आएका छन्।   

यसैगरी हेटौंडा बसपार्कमा रहेको डाँफे होटेल एन्ड लजमा एक बालक र एक बालिकालाई श्रममा प्रयोग गरेको पाइएको छ । हाँडीखोलाका १५ वर्षीय बालक र छतिवन भीरकोटकी १५ वर्षीया बालिकालाई होटेलमा काम गर्दागर्दै अनुगमनमा भेटिएको हो । दुवैले बीचैमा पढाइ छोडेर होटेलमा काम गर्न आएको बताएका छन्।  

बसपार्ककै फूलबारी होटेल एन्ड लजमा पनि मनहरीका दुई बालक काम गरिरहेको अवस्थामा भेटिएका छन् । विद्यालयको वार्षिक परीक्षा दिएपछि उनीहरू नातामा दिदी(भिनाजु पर्नेको होटलमा काम गर्न आएका हुन्। मनहरीस्थित १२ र ११ वर्षीय दुई बालक होटेलको काम गरिरहेको देखिएपछि अनुगमन टोलीले होटेल सञ्चालकलाई शैक्षिक सत्र सुरु भएपछि घर पठाउन अनुरोध गरेको छ।  

बसपार्ककै सेन्टर प्वाइन्ट रेस्टुरेन्टमा पनि दुई बालक भेटिएका छन्। चुरियामाईका १५ वर्षीय दुई बालक ५ कक्षा पढ्दापढ्दै होटेलमा काम गर्न आइपुगेका हुन् । हेटौंडाका अधिकांश होटेलले बालबालिकालाई श्रममा प्रयोग नगर्न दिएको निर्देशनको अवज्ञा गरिरहेको श्रम कार्यालय हेटौंडाका प्रमुख श्याम श्रेष्ठले बताए। 

(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया