Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

सेनाद्धारा विद्यालय भवन मर्मत

आइतबार, ०५ बैशाख २०७३

काठमाडौँ, ५ बैशाख । हिमाल पारिको जिल्ला मनाङस्थित नेपाली सेनाले विद्यालय भवन, गेठ र बाटो मर्मत गर्नुका साथै खेलमैदान निर्माण गरेको छ।  नेपाली सेनाको केवलजंग गुल्मले सदरमुकाम चामे ६ स्थित भूकम्पले क्षति पुर्याएको बालमन्दिर प्राविको भवन मर्मत सम्भार गर्नुको साथै खेलकुद मैदान निर्माण गरेको हो। सेनाले विद्यालय भवन, भत्किएको मुलगेटको पुनःनिर्माण, विद्यालयदेखि खेलमैदान सम्मको बाटो मर्मत गरेको छ। 

त्यस्तै, खेलमैदान निर्माण सम्याउने, ठाउँ–ठाउँमा उकास्ने र किनारामा ७५ मिटर लम्बाईको तारबार पनि लगाइएको केवल जंग गुल्मका गुल्मपति सेनानी मदन थापाले बताए। सोही अवसरमा शौचालय र धारो आसपासमा सरसफाईसमेत गरिएको छ ।
नेपाली सेनालाई हेडक्वाटरबाट प्राप्त ७५ हजार रुपैयाू र करीब ३ लाख रुपैयाँ बराबरको श्रमदान गरेर बैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको विद्यालय भवनको मर्मतसम्हार र खेलमैदान, बाटो लगायतका संरचनाहरु निर्माण गरेको सेनानी थापाले बताए। विद्यालयको मर्मत र खेलकुद मैदान निर्माणमा सेनालाई प्रहरी, अभिभावक र स्थानीय युवाहरुले सहयोग गरेको बताइएको छ।

विद्यालयको संरचना मर्मतसम्हार र निर्माण गरी जिल्ला शिक्षा अधिकारी देवकुमार बरालको उपस्थिति औपचारिक कार्यक्रम गर्दै हस्तान्तरण गरिएको स्थानीय व्यवसायी खड्कबहादुर परियारले बताए । कार्यक्रममा शिक्षा अधिकारी बरालले विद्यालय प्रति नेपाली सेनाले गरेको कार्य प्रशंसनीय भएको बताए। विद्यालयका प्रधानाध्यापक कालीप्रसाद कुमालले धेरै समयदेखि खेलमैदान नहुँदा विद्यार्थीलाई समस्या हुँदै आएकोमा अव सहज हुने भन्दै खुसी व्यक्त गरे। नेपाली सेनाको ुनागरिक–सैनिक सहयोगु कार्यक्रम अन्तर्गत कार्य योजना कार्यान्वयन विधि अनुसार विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग गरेको गुल्मपति सेनानी थापाले बताए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया