Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा

शनिबार, ०४ बैशाख २०७३

काठमाडौँ, ५ वैशाख । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–६ कसरौलस्थित वैजनाथ उमाविका प्राचार्य र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध छुवाछुतविरुद्धको मुद्दा दायर गरिएको छ । 

विद्यालय नजिकै छाप्रो बनाएर बस्दै आएकी द्रौपदी लुहारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराप्रसाद जोशी, प्राचार्य सिद्धराज भट्ट र शिक्षक खडक साउदविरुद्ध गत चैत ३० गते जिल्ला प्रशान कार्यालय कञ्चनपुरमा मुद्दा दायर गरेका हुन् । 

लुहारले दायर गरेको मुद्दामा १५ वर्षदेखि बसोबास गर्दै आएको ठाउँमा जबर्जस्ती गौरा मन्दिर स्थापना गरी दलित अछुतले मन्दिर नजिकमा बस्नु नहुने र बसेमा माथिल्लो जातिका व्यक्तिलाई छुवाछुत हुन्छ भनी बस्दै आएको जग्गाबाट जबर्जस्ती उठाउने प्रयास भइरहेको उल्लेख छ ।  

दलित समुदायको एकल नारीमाथि छुवाछुतको भावना राखी जबर्जस्ती बस्दै आएको ठाउँबाट उठाउने प्रयास भइरहेकाले अन्यायीमाथि छुवाछुत ऐनअन्तर्गत हदैसम्मको कारबाही गर्न माग गरिएको छ । जग्गा कायम गर्न र जबर्जस्ती बनाइएको मन्दिर हटाउन समेत माग गरिएको छ । विद्यालयका प्राचार्य भट्टले अस्थायी रुपमा लुहार परिवारलाई आश्रय दिइएको जग्गा विद्यालयको भएकाले पर्खाल बनाउनका लागि खाली गर्न भनिएको बताए ।  

“छुवाछुत गरिएको छैन” उनले भने, “आरक्षको विस्तारित क्षेत्रबाट लखेटिएका लुहार परिवारलाई मानवीय आधारमा अस्थायी रुपमा बस्नका लागि सो स्थान उपलब्ध गराएका हौँ ।”   “लुहारका श्रीमान्को मृत्यु हुँदा समेत विद्यालयका शिक्षक र विद्यार्थीले सहयोग रकम जुटाएर काजक्रिया गर्न सघाएका थियौँ” उनले भने, “छुवाछुत गरेको भनेर लान्छना लगाउने कार्य झुटो हो, यसमा कुनै सत्यता छैन ।” 

रासस 

 

 

प्रतिक्रिया