Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

स्ववियु निर्वाचनमा उमेर हदबन्दी लगाउन नहुने नेविसंघको माग 

शनिबार, ०४ बैशाख २०७३

काठमाडौँ - स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागी आफ्नो फरक मत राख्दै आएको नेपाल विद्यार्थी सङ्घले प्रत्यक्ष निर्वाचन प्रणाली नै हुनुपर्ने माग सार्वजनिक रुपमा अघि सारेको छ ।

त्रिवि सभासमक्ष ध्यानाकर्षण पत्र दर्ता गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले स्ववियु निर्वाचन प्रत्यक्ष प्रणालीमा हुनुपर्ने र उमेरको हदसमेत लागू हुनु नहुने मागसहित युनियनले सभासमक्ष बिहीबार ध्यानाकर्षण पत्र दर्ता गराएको प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

त्रिविले मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन अघि बढाउन खोजेकोमा आपत्ति प्रकट गर्दै नेविसङ्घले त्यसको विरोध गर्दै प्रत्यक्ष प्रणालीमार्फत नै निर्वाचन हुनुपर्ने माग गरेको हो ।  यस्तै, स्ववियु निर्वाचनमा उम्मेदवार बन्न लागू गर्न खोजिएको उमेर हद व्यवस्था लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेकाले त्यसको समेत युनियनले विरोध जनाएको प्रवक्ता लामिछानेले जानकारी दिए ।

उमेर हदबन्दी राख्ने वा नराख्ने भन्नेबारे विद्यार्थी सङ्घसङ्गठन एकमत हुन नसक्दा त्रिवि स्ववियु निर्वाचनको मिति तय हुन सकेको छैन ।  नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र नेकपा (एमाले) निकट अनेरास्ववियु उमेर हदबन्दी लागू नगर्ने पक्षमा छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीलगायत केही सङ्गठन उमेर हदबन्दी लागू गर्ने अडानमा रहेका छन् ।  

यद्यपि विद्यार्थी सङ्गठनको मतभिन्नताबीच त्रिवि वैशाखभित्रै निर्वाचन गराउने तयारीमा लागेको दाबी गर्दै आएको छ ।

रासस 

 

प्रतिक्रिया