Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

गायक तथा नायक यश कुमार भन्छन् ‘कक्षा ८ को किताब चोरेर पढियो’

शनिबार, ०४ बैशाख २०७३

गायक तथा नायक यश कुमारको बाल्यकालको शिक्षा भोगाई यसपटकको शनिबार विशेषमा 

विष्णु विवेक । सानैमा पढ्दा ठुला कक्षाका किताब पढ्ने इच्छा कसलाई नहोला र ? यस्तै इच्छा थियो गायकबाट नायक बनेका यश कुमारलाई पनि । कक्षा ३ मा सर्लाहीको सरस्वती माध्यामिक विद्यालयमा पढ्दै गर्दा उनलाई ठूलो कक्षाको किताब पढ्न मन लाग्यो । 

साथीहरुले मागे किताब दिदैनथेँ । अब के गर्ने ? उनले जुक्ति निकाले । विद्यालयको भएको किताब स्टोर्सबाट चोर्ने ।  ‘त्यतिबेला सानै थिएँ । मलाई किताब कस्तो होला भन्ने लागेको थियो ? किताब त्यसरी चोरेर ल्याएपछि हेरेँ । ठूलो होला भनेको हामीले पढ्नेजस्तै रहेछ ।’ उनले भने ।

कक्षा १ देखि ३ सम्म सर्लाहीको कर्मैयामा पढेका उनी त्यसपछि काठमाडौँ आए । बाबुआमासंगै काठमाडौँ आएका उनी काठमाडौँको जोरपाटीमा कक्षा ६ सम्म बाबा बाटिका स्कुलमा पढेँ । सुकुम्बासी बस्तीमा बसेर पढेका यशकुमार ६ देखि १० सम्म आदर्श माध्यामिक विद्यालयमा पढेँ । तर उनले एसएलसी दिन सकेनन् । 

‘मलाई एसएलसी दिन ठूलो रहर थियो । तर बाध्यताले गर्दा पढ्न सकेन । अहिले पनि सम्झिदा मिस गर्छु।’ उनले भने ‘पढाईले एसएलसी पास गरेपनि भोगाईमा मास्टर्स भन्दा कम छैन् ।’ पढेको भन्दा व्यक्तिगत स्वभाव र व्यवहारिकताले जित्ने भन्दै उनले शिक्षित भएपछि व्यवहारिकतामा बलियो हुनुपर्ने तर्क गर्छन् ।

‘हामीमाझँमा धेरै जसो शिक्षित छन् । तर शिक्षित भएर पनि भ्रष्टाचार, फोहोरी राजनीति, घुसखेरी रोकिएको छैन् । त्यसैले धेरै पढ्नुभन्दा थोरै पढेको कुरालाई व्यवहारमा उतार्न सक्नुपर्छ ।’ उनले भने ।

म सिमलको पाटी बोकेर स्कुल जान्थे, छोरा आइप्याड बोकेर स्कुल जान्छ

सानैमा स्कुल पढ्दा यश कुमार सिमलको पाटी बोकेर स्कुल जान्थे । पाटीमा लेख्न र सिक्नका लागी उनले सधै स्कुल जादाँ पाटी छुटाँउदैनथे । तर उनको छोरा आइप्याड बोकेर स्कुल जान्छन् । समय र प्रविधिमा आएको फड्कोले उनलाई खुशी तुल्याउँछ ।

‘सानै छदाँ सिमलको पाटी बोकेर स्कुल जान्थेँ । तर अहिले छोरा आइप्याड बोक्छ । मलाई पाटी नबोकेपनि केही हुदैनथ्यो । तर छोरा आइप्याड नभए स्कुल नै जादैन् । यो समयको फड्कोलाई चिन्न सक्नुपर्छ । र शिक्षामा आएको परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्छ । यसले मलाई निकै खुशी तुल्याएको छ । प्रविधिलाई हामीले प्रयोग गर्न पनि सक्नुपर्छ ।’ उनले भने । 

गाउँतिर सजिलै कापी पाउन नसकिने र पाएपनि लेख्न मेट्न नसकिने अर्को कुरा पाटी सजिलो भएकाले पनि बोक्नैपथ्र्यो । तर उनको छोरा सधै आइप्याड बोकेर स्कुल जादा  उनलाई अहिलेको यो डिजिटल प्रविधि शिक्षामा भित्रिएकोप्रति गर्व लाग्छ ।  

गायक यश कुमार समय र प्रविधिको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिन्छन् ।  ‘प्रविधिलाई प्रयोग गर्न सकेपछि शिक्षामा थप विकास हुन्छ । हाम्रो पालाको शिक्षाको अवस्था र अहिलेको शिक्षामा धेरै परिवर्तन आइसकेको छ । तर यसलाई सकारात्मक रुपमा विकास गर्न सक्नुपर्छ ।’ उनले भने ।

सरकारीभन्दा नीजिको आकर्षण बढ्यो

आफुले पढेको सरकारी विद्यालयमा पछिल्लो समय विद्यार्थी नदेख्दा यश कुमार चिन्तित छन् । आफ्नो छोरालाई नीजिमै पढाएका उनले सरकारी विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्न नसकेको उनको बुझाई छ । 

‘हिजोआज चिन्ता लाग्छ मलाई सरकारी विद्यालयमा निकै आकर्षण घटेको छ । नीजिमा रात दिन विद्यार्थी र अभिभावकको घुँइचो छ । यो राज्यका लागी राम्रो होइन् ।’ चिन्ता व्यक्त गर्दै उनले भने ।

सरकारी विद्यालयमा व्यवस्थापन सबैभन्दा कमजोर पक्ष र नीजि विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्नु व्यवस्थापन राम्रो भएर नै भएको उनको भनाई छ। देश विकासको पहिलो मेरुदण्ड शिक्षालाई अगाडी नबढाएसम्म मुलुकको प्रगति नहुने पनि यश दाबी गर्छन् । 

‘शिक्षा विकास पहिलो कुरा हो । यो विना मुलुकको प्रगति हुन सक्दैन् । तर अहिलेसम्म पनि शिक्षामा हामीले गुणस्तर प्राप्त गर्न सकेका छैनौँ । यो हाम्रो लागी ठूलो दुर्भाग्य हो ।’ उनले गुनासो गरे ।

करिब सय भन्दा बढी गीत गाइसकेका यश कुमारले ‘बाटो मुनिको फुल’ फिल्ममा अभिनयमा समेत प्रवेश गरे । त्यसैको सिक्वेल ‘बाटो मुनिको फुल २’ बैशाख १० गतेदेखि प्रदर्शनमा आउनै लाग्दा उनी आफैले बनाएको यो फिल्ममा नायक समेत छन् । 

शिक्षानीति बलियो बनाउनुपर्छ   

नायक र निर्माता समेत बनेका गायक यश कुमारलाई शिक्षा सैद्धान्तिक भन्दा व्यवहारिक हुनुपर्ने बताउँछन् । सैद्धान्तिक शिक्षा हुनुको प्रमुख कारण शिक्षानीति कमजोर भएको र यसैकारण अहिले युवा जनशक्ति नै पलायन भइरहेको उनको दाबी  छ। 

‘हाम्रो शिक्षानीति निकै कमजोर भयो । अन्य देशमा कति विकास भइसकेको छ । आज अमेरिका, दक्षिण कोरिया, उत्तर अमेरिका लगायत युरोपका देश धेरै विकास भइसकेका छन् । यो भनेको शिक्षामा प्रविधिको विकास हो । तर हामीकहाँ शिक्षाले यस किसिमको विकास गर्न सकेन । यो हाम्रा लागी घाटाको विषय हो ।’ उनले भने ।

शिक्षानीतिलाई बलियो नबनाएसम्म शिक्षामा सुधार नहुने उनको बुझाई छ । यसका लागी शिक्षा निकायले विशेष पहल गर्नुपर्ने उनको भनाई छ। कक्षा दश सम्म पढेपनि एसएलसी दिन नसकेका यशलाई सरकारले छात्रबृत्तिमात्र भन्दा शिक्ष र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्ने बताउँछन् ।

शिक्षा सुधारका लागी पहिलो कुरा शिक्षामा भएकै मान्छेहरु जुट्नुपर्ने र सुधारका लागी प्रतिबद्ध हुनुपर्ने यश कुमार बताउँछन् ।  शिक्षक, अभिभावक र विद्यार्थी सबैले शिक्षालाई संवेदनशिल रुपमा लिएसंगै यसको विकास र गुणस्तरका लागी शिक्षा सरोकारवाला र निकायले डटेर लाग्नुपर्ने यश कुमार बताउँनछ् । 

‘हामी विकासमा पछाडी पर्यौ भनेर गुनासो गरेर हुदैन् । अब विकासका लागी सबै जुट्नुपर्छ । तर शिक्षाविना यो सम्भव छैन् । त्यसैले पहिला शिक्षालाई व्यवहारिक र प्राविधिक रुपमा विकास गर्नुपर्छ । यसका लागी डटेर लाग्नुको विकल्प छैन् ।’

प्रकाशित मिति २०७३ बैशाख ४ गते ।

 

प्रतिक्रिया