Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

परीक्षा सकिनासाथ भारी बोक्नतिर

शनिबार, ०४ बैशाख २०७३

काठमाडौँ, ४ वैशाख । कोसीपारिका बुङ, छेस्काम, गुदेल, लोखिम, वाकु लगायत गाविसका विद्यार्थी भारी बोक्न सगरमाथा क्षेत्र अर्थात् खुम्बुतिर लागेका छन् । 

शैक्षिक सत्र २०७२ को वार्षिक परीक्षा सकिनासाथ नयाँ शैक्षिक सत्रका लागि पोसाक र कापी÷कलम जुटाउनुपर्ने बाध्यता तिनलाई छ । खुम्बु क्षेत्र भनेर चिनिने नाम्चे, चौरीखर्क र खुम्जुङमा यसबेला पर्यटकीय मौसम भएको कारण कोसीपारिका कक्षा ७, ८, ९ मा पढ्ने छात्र पर्यटकको भारी बोक्न तथा साना कक्षाका छात्र र विभिन्न उमेरका छात्रा साहुको भारी बोकेर खुम्बु हिँडेका हुन् । प्रवेशिका परीक्षा सकेकाहरु त प्रायः सबैजसो खुम्बुतर्फ हिँडेका छन् । 

तेह्र÷चौध वर्ष उमेरकाहरु पर्यटकको भारी बोक्न हिँडेका छन् भने केहीले घरबाट कुखुरा, अन्डा, कोदो÷मकै जस्ता वस्तु नाम्चे बजारमा बेच्न हिँडेका छन् । घरमा बिक्री गर्ने बस्तु हुने नाम्चे तीन÷चार दिनको बाटो हिँडेर नाम्चे बजारमा बिक्री गर्न जान्छन् भने नहुनेहरु साहुको भारी तथा पर्यटकको भारी बोक्न निस्कन्छन् । छात्राहरु खुम्बुका होटलमा काम गर्न जान्छन् । जनता मावि लोखिम कक्षा–९ मा पढ्ने प्रमिला राई भन्छिन्, “बाबुआमा गरिब हुनुहुन्छ, त्यसैले साहुको भारी लिएर नाम्चे हिँडेकी हुँ, यसबाट आएको पैसाले विद्यालयको पोसाक किन्छु ।” 

यतिबेला धेरैजसो विद्यालयमा वार्षिक परीक्षाको नतिजा प्रकाशन भइसकेको छ भने कतिपय विद्यालयमा प्रकाशन हुने क्रममा छ । जनता मावि लोखिममा अध्ययनरत ४० भन्दा बढी बालबालिका एकै समूहमा भारी बोकेर नाम्चे बजारमा पुगेको टोलीमा रहेका कक्षा ७ मा पढ्ने लक्ष्मण राई भन्नुहुन्छ, “गाउँमै काम गरौँ भने दिनको रु ५०÷६० भन्दा बढी दिँदैनन्, माथि जाँदा केही फाइदा भएकाले हिँडेका हौँ ।” उनीहरूले प्रतिव्यक्ति छदेखि १० पाथीसम्म कोदो मकै बोकेका थिए । घरकै उत्पादन भएकाले दुई पटक भारी पु¥याउँदा आगामी शैक्षिक सत्रका लागि पोसाक र कापी कलम जुटाउन सकिने उनीहरूले बताए । कक्षा–५ मा पढ्ने सन्देशकुमार कुलुङ भन्छन्, “हामीले बाध्यताले भारी बोकेर हिँडेका हाँँ ।” 

यस समयमा विद्यालयमा पढाइ नभएकाले बुङ, छेस्काम, सोताङ, लोखिम लगायत गाविसका अधिकांश विद्यार्थी खुम्बुतिर जानु परम्पराजस्तै बनेको गुदेल माविका प्रअ खड्गराज कार्कीले भने । 

उनले भने –  “यो धेरै अघिदेखि चलेको प्रक्रिया हो, भदौ÷असोज र चैत÷वैशाखमा खुम्बुमा हुने पर्यटकीय मौसममा यहाँका अधिकांश बालबालिका साहु तथा पर्यटकको भारी बोक्न वा घरको उत्पादन बेच्न खुम्बु पुग्ने गर्छन् ।” 

रासस 

 

प्रतिक्रिया