Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

४८ नाघेका शिक्षकले पढाएको विद्यार्थीले बुझदैनन्

बुधबार, ०६ फागुन २०७१

काठमाडौं ६ फागुन / ४८ बर्ष नाघेका शिक्षकले पढाएको कक्षा प्रभावहिन हुने तथ्य फेला परेको छ । शिक्षकको उमेरले विद्यार्थीको सिकाइमा असर पर्ने गरेको शिक्षा मन्त्रालयले गरेको अध्ययनले पुष्टि गरेको हो ।

‘विद्यार्थीको  सिकाइमा प्रभाव पार्ने धेरै तत्व मध्ये शिक्षक प्रमुख रुपमा देखिएको छ,’ शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘शिक्षकको उमेरले पनि पठन पाठनमा प्रभाव पार्ने देखिएकाले उमेर बढी भएका शिक्षकलाई तल्लो तह वा पुस्ताबाट सिक नत्र समय सापेक्ष भर्इंदैन भन्ने महसुस गराउनुपर्ने देखिएको छ ।’ पाको शिक्षकले कक्षामा नयाँ प्रविधिको प्रयोग गर्न नसक्दा विद्यार्थीले पुरानै ढर्रामा पढ्न बाध्य छन् । त्यस्तै पुराना शिक्षकले नयाँ तरिकाको शिक्षण विधि पनि अपनाउन नसकेको अध्ययनले देखाएको छ ।

सरकारले ८ हजार भन्दा बढी विद्यालयमा कम्प्युटरको व्यवस्था गरेको छ । तर, शिक्षकले कम्प्युटरको प्रयोगबाट नयाँ शिक्षण विधि बनाउन सकेका छैनन् । सरकार र दाताले दिएको कम्प्युटर कतिपयले प्रयोगमै ल्याएका छैनन् । असल शिक्षक हुन नयाँ पुस्ताबाट सिक्नुपर्ने सन्देश अध्ययनबाट पाईएको छ ।

अध्ययनबाट यस्तो तथ्य निस्किए पनि मन्त्रालय र विभाग पुराना शिक्षकलाई संरक्षण गर्न लागि परेका छन् । शिक्षक सेवा आयोगले प्रतिस्पर्धा गराएर नयाँ शिक्षकको व्यवस्था गरेपछि हटाउनुपर्ने शिक्षकलाई पुनः व्यवस्थापन गर्न विभागले शिक्ष कार्यालयलाई निर्देशन दिएको छ । यसमा अधिकांश ४० बर्ष भन्दा बढी उमेरका शिक्षक छन् । आयोगबाट लिखित र मौखिक पास भएर गएका शिक्षकलाई हाजिर नगराई पुराना शिक्षकलाई नै राखेका घटना पनि सार्वजनिक भईरहेका छन् । 

पाका उमेरका शिक्षकमा जाँगर कम हुने भएकाले प्रभाव खस्किने गरेको शिक्षाविद्हरु बताउँछन ।

अध्ययनमा हिमाली ५, पहाडी १०, तराईका ७ र उपत्यकाको ३ जिल्लाका १ हजार २ सय १ विद्यालयमा  अध्ययनरत विद्यार्थीलाई समेटिएको थियो । त्यसमा सामुदायिक ८३ प्रतिशत र संस्थागत १७ प्रतिशत विद्यालय थिए । त्यस्तै शहरी क्षेत्रका २६ र ग्रामिण  भेगमा ७४ प्रतिशत विद्यालयमा अध्ययन गरिएको थियो ।

प्रतिक्रिया