Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

सामुदायिक विद्यालय सुधार : पठनपाठन, अनुगमन र मुल्यांकन

शुक्रबार, ०३ बैशाख २०७३

विष्णु विवेक । सामुदायिक विद्यालय सुधारका लागी सरकारले बर्षेनी अर्बौ रकम खर्चिरहेको छ भने विदेशी दाताले खर्बौ लगानी गरिरहेका छन् । तर पनि विगतका भन्दा झन् झन् नतिजा खस्किदै जानु, सुधारका लागी बहस भएपनि कार्यान्वयन नहुनुलाई लापरबाही भन्दा पनि इच्छाशक्ति नै नभएको हो की ? भन्ने आभास हुन्छ । विद्यार्थी, अभिभावक र सरोकारवालाहरुकै आकर्षण नीजि विद्यालयमा बढिरहेका बेला सामुदायिक विद्यालय कसरी सुधार गर्न सकिन्छ त ?  सरोकारवालाले सामुदायिक विद्यालयमा अनुगमन, पठनपाठन र मुल्यांकन पद्धति नै पहिला सुधार गर्नुपर्ने जोड दिएका छन् । 

पठनपाठनमा सुधार गर्नुपर्छ : खगराज बराल महानिर्देशक, शिक्षा विभाग

– सामुदायिक विद्यालय अपेच्छित रुपमा नसुध्रिएको भन्दा पनि पठनपाठनको अवस्था केही कमजोर भएको पक्कै हो । सामुदायिक विद्यालयमा सुधार गर्न पहिलो कुरा पठनपाठन नै सुधार्नुपर्छ । विद्यालयमा पठनपाठनको अवस्था, नियमित मुल्यांकन, अनुगमन, आवश्यकता अनुसारको अध्ययन अध्यापनमा ध्यान दिने हो भने सामुदायिक विद्यालय सुधार हुन धेरै समय लाग्दैन् । विद्यालयसंगै सबैले बुझ्नैपर्ने कुरा सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गराउने अभिभावकले घरमा कस्तो वातावरण दिएका छन् ? यदि घरमा पढ्ने, पढेको कुरालाई पर्याप्त रुपमा अभिभावकसंग छलफल गर्ने, नसिकेको कुरा अभिभावकलाई सोध्ने हो भने विद्यार्थी र पठनपाठनमा धेरै परिवर्तन हुन्छ । धेरैथोक गर्नैपर्दैन । त्यसैले सामुदायिक विद्यालय सुधारमा हामी सबै लागेका छौँ । एकअर्काको आलोचना मात्र भन्दा आफुले गरौँ । तपाई हामी सबै यही समाजको हो । सामाजिक रुपमा हामीले आ–आफ्नो काम गर्ने हो भने धेरै कुरामा सुध्रन सक्छ । 

अहिले भूकम्पले गर्दा भूकम्पप्रभावित १४ जिल्लाका सामुदायिक विद्यालय भवन भत्केका छन् । नयाँ शैक्षिक सत्रसम्म पनि ती भवन बन्न सकेका छैनन् । तर भवन भत्के भन्दा पनि हाम्रो मन भत्किनु भएन् । भवनको अभावमा पठनपाठनको पद्धति विगार्न हुदैन् । अस्थायी सिकाई केन्द्र (टीएलसी)मै भएपनि पठनपाठनलाई प्रभावकारी बनायौ भनेपनि सामुदायिक विद्यालय धेरै हदसम्म सुध्रन्छन् । अहिले जतिपनि नमुना  विद्यालयहरु बनेका छन् । ती सबै पठनपाठन राम्रो भएरै बनेका हुन् । त्यसैले पहिलो कुरा पठनपाठन सुधार गरौँ । अनि अनुगमन र मुल्यांकनलाई पनि जोड दिऔँ ।

यससंगै सामुदायिक विद्यालयको पठनपाठनलाई उत्कृष्ट बनाउन शिक्षक सबैभन्दा बढी जिम्मेवार छन् । उनीहरुले आफ्नो कर्तव्य इमान्दारका साथ पुरा गरिदिने हो भने धेरै कुराको सुधार आफै हुन्छ । यसलाई मनन गरौँ । शिक्षकले आफ्नो जिम्मेवारी पुरा गर्दा अभिभावक, विद्यार्थी र सामाजिक रुपमा पनि विद्यालय, विद्यालयको पठनपाठनमा ध्यान दिऔँ । यसका लागी अभिभावकको जिम्मेवारी निकै नै ठूलो छ ।  

अनुगमनलाई कडा बनाऔँ : बैकुण्ठ अर्याल निर्देशक, शिक्षा विभाग 

– सामुदायिक विद्यालय सुधारको भरपर्दो आधार अनुगमन हो । प्रभावकारी रुपमा राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई निरुत्साहित गर्ने हो भनेपनि धेरै हदसम्म सामुदायिक विद्यालय उत्कृष्ट हुन्छन् । अहिले जति पनि विद्यालयले राम्रो नतिजाका साथ फड्को मारिरहेका छन्, ती विद्यालयले पठनपाठन सुधार गरेसंगै अनुगमनलाई पनि प्रभावकारी कदम चालेर नै हो । विद्यालयमा भएका कमीकमजोरी, समस्या, समाधानको उपाय, शिक्षक शिक्षिकाको पठनपाठन शैली, विद्यार्थीले चाहेका फरक फरक प्रयोगात्मक क्रियापकलापले नै विद्यालयको गुणस्तर बढाउँछ । 

सामुदायिक विद्यालय सुधारको अर्को जिम्मेवारी भनेको काम गर्ने कर्मचारीको मनोबल हो । विद्यालयमा कार्यरत सबैजना समाजका मार्गदर्शक पनि हुन् । मनोवैज्ञानिक रुपमा कुनै समस्या होलान् तर सामाजिक रुपमा जिम्मेवार भएर काम गर्ने हो भने ठूलो जनशक्तिले सामुदायिक विद्यालयमा धेरै परिवर्तन ल्याईदिन सक्छन् । 

पहिला त हामी सबैजना इमान्दार हुनुपर्छ । निश्चित समयभन्दा पनि समयसिमाभित्र आ आफ्ना जिम्मेवारीहरु इमान्दार र उत्कृष्ट ढंगले पुरा गर्न सक्यौँ भने धेरै सुधार हुन्छ । पढाउने शिक्षकले पढाईदिदा, विद्यालय प्रशासन सम्हाल्नेले प्रशासनलाई चुस्त दुरुस्त राख्ने, नयाँ योजना र कार्यक्रमलाई प्रभावकारी बनाएर अगाडी बढाउने, सामुहिकतामा विश्वास गरेर व्यक्तिगत प्रदर्शनलाई ध्यान दिनु अहिलेको मुख्य आवश्यकता हो । खासगरी विद्यालयमा पछिल्लो समय जुन हस्तक्षेप छ राजनीतिक रुपमा, यसलाई रोक्न पहिला हामी आफैमा इमान्दार र हाम्रो व्यक्तित्वमा निखार चाहिन्छ । काम गर्ने सबैलाई यो अनुभव छ । किनभने हरेकले कमजोरीलाई नै औल्याउने हो । त्यो कमजोरी नै नगर्ने हो भने त सुधार भइहाल्छ नि । भएका कमजोरीलाई क्रमशः घटाउँदै जाने हो भने कोही पनि हामी विग्रियौँ, भताभुंग भयौ भन्दैनन् । त्यसैले राम्रो गर्ने सबैलाई सामुहिक रुपमा सम्मान र प्रोत्साहन गरौँ । नराम्रो गर्नेलाई गल्ती सुधार, नसुधारे कारबाही नै भएपनि निरुत्साहित गरौँ । यसलाई प्रभावकारी रुपमा अगाडी बढाएर लैजाने हो भने हामी विगतका बर्षभन्दा थप उत्कृष्ट भएर शैक्षिक सुधारमा सफल बन्छौँ ।

 

मुल्यांकनलाई फराकिलो बनाऔँ : बाबुराम पौडेल प्रमुख, पाठ्यक्रम विकास केन्द्र  

– नयाँ शैक्षिक सत्रसंगै सामुदायिक विद्यालय सुधारको काम भइरहेको छ। यसलाई अझ प्रभावकारी बनाउन पठनपाठन, अनुगमन र मुल्यांकनमा विशेष जोड दिनुपर्छ । सामुदायिक विद्यालयले विगतदेखि नै मुल्यांकनलाई जसरी लैजानुपर्ने हो, त्यसलाई केही हदसम्म लिन नसकेको सत्य हो । विद्यालय सुधारमा मुल्यांकनले ठूलो प्रभाव पार्छ । मुल्यांकन कापी र किताबका पानामा भन्दा बढी विद्यार्थीको क्षमता, रुचि, प्रस्तुतिलाई ध्यान दिनुपर्छ । सबै विद्यार्थी सबैमा उत्कृष्ट हुदैन् । यसका लागी उनीहरुको क्षमताअनुसार प्रेरणा, पठनपाठनमा विशेष सहयोग र उसलाई पटक पटक हौसला दिइरहनुपर्छ । 

मुंल्याकन पद्धतिलाई थप प्रभावकारी बनाउन अब निरन्तर पद्धति मुल्यांकनलाई नै जोड दिनुपर्छ । बर्षमा एक दुई ओटा प्रश्न सोधेर यो राम्रो त्यो नराम्रो भन्न मिल्दैन् । त्यसैले मुल्यांकन पद्धतिलाई परिवर्तन नगरेसम्म हामीले सही उपलब्धी हात पार्न सक्दैनौँ । यसका लागी सबैले सही निर्णय गर्न ढिलाई गर्न हुदैन् । विद्यालय, कक्षाकोठामा जुन किसिमको सिकाई छ । त्यही अनुसारको मुल्यांकन पद्धति पनि सुधार्नुपर्छ । अहिले डिजिटल प्रविधिको प्रवेश र प्रयोग बढेको छ । यसलाई सही रुपमा उपयोग गर्ने हो भने शिक्षामा आमुल परिवर्तन गर्न सकिन्छ । तर यसका लागी ठूलो इच्छाशक्ति हामीले मनमा नभई व्यवहारमा ल्याउन जरुरी छ ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति : २०७३ बैशाख ३ गते ।

 

प्रतिक्रिया