Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

दुर्गमका विद्यार्थीलाई खाद्यान्न सहयोग

शुक्रबार, ०३ बैशाख २०७३

काठमाडौँ, ३ वैशाख । उत्तरी गोरखाका १३ गाविसका विद्यार्थी पढ्ने सिर्दिवासको बुद्ध आवासीय माध्यमिक विद्यालयका विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ।  जर्मनीको परोपकारी संस्था ‘एक्सन क्लिनियर प्रिन्ज तथा किन्डरहिल्फे नेपाल’ को आर्थिक सहयोगमा १३० जना विद्यार्थीलाई खाद्यान्न सहयोग आएको हो ।  

बुद्ध आवासीय माविमा सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौंजा, कासीगाउँ, केरौंजा, उहियालगायत गाविसका विद्यार्थी आवासीय सुविधासहित बस्दै आए पनि छात्रावासमा खाद्यान्नको समस्या छ ।   भूकम्पले छात्रावास भवन भत्केपछि विद्यार्थीले थप कष्ट पाएको प्रध्यानाध्यापक प्रकाश घिमिरेले बताए ।  

थुमी गाविसको सोतीबाट १३० बोरा चामल आजदेखि ढुवानी सुरु गरिएको जानकारी दिँदै घिमिरेले आउँदो बर्खा अघि नै चामल ढुवानी गरिसकिने बताए ।  सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष किशोरजङ थापाले विद्यालयका प्रअ घिमिरेलाई चामल हस्तान्तरण गरेका हुन् ।  

खाद्यान्न सहयोग बुझेपछि प्रअ घिमिरेले भने “छात्रावासका विद्यार्थीलाई के खुवाउने भन्ने समस्या थियो, त्यो हल भयो ।” सडकको पहुँच नभएकाले खच्चडमार्फत ढुवानी गरी चामल सिर्दिवास लगिएको छ । 

रासस 

 

प्रतिक्रिया