Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

साझा प्रकाशनमा तीन सदस्य मनोनीत

शुक्रबार, ०३ बैशाख २०७३

काठमाडौँ, ३ वैशाख । साझा प्रकाशन सञ्चालन समितिमा तीन पदेन आमन्त्रित सदस्य मनोनयन भएका छन् ।   बुधबार बसेको सञ्चालक समितिको बैठकले त्रिवि केन्द्रीय नेपाली विभागका प्रमुख डा देवीप्रसाद गौतम, केन्द्रीय अङ्ग्रेजी विभागका प्रमुख डा अमरराज जोशी र उच्चमाध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायणप्रसाद कोइरालालाई थप्ने नयाँ व्यवस्था गरेको हो । 

गत चैत २५ मा बसेको संस्थाको २३औँ साधारणसभामा ती प्रमुखलाई समितिमा राखिने व्यवस्था हटाइएको बारे प्रश्न उठेपछि सो मनोनयन गरिएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रसाद शर्माले बताए ।  

लामो समय ती विभागका प्रमुख सञ्चालक समितिमा रहे पनि केही वर्षअघि हटाइएको थियो । थपिएका सहित ११ सदस्यीय समितिको आजको पहिलो बैठकले संस्थालाई व्यावसायिक योजनाका साथ अघि बढाउने निर्णय गरेको छ ।

केन्द्रीय नेपाली विभागका प्रा डा कृष्णप्रसाद घिमिरेले नेपाली र अङ्ग्रेजी विभागसँगको समन्वय टुट्दा अनिवार्य र ऐच्छिक विषयका पाठ्यपुस्तक मुद्रण तथा वितरणको जिम्मा बाहिरी प्रकाशनमा गई साझा डुबेको बताउँदै त्यो सम्बन्ध जोडिनु सकारात्मक भएको बताए ।  

यसैबीच २३औँ साधारणसभाबाट अंशियारतर्फबाट निर्वाचित सञ्चालक जीवनचन्द्र कोइराला, डा विजय सुब्बा र हरिहर खनालसहित व्यवस्थापनको टोलीले ‘साझा बचाऔँ अभियान’ सक्रिय बनाएको छ । 

यस क्रममा आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव विश्वप्रकाश पण्डित, अर्थ मन्त्रालयका सहसचिव चिरञ्जीवी खनाल लगायतको संयुक्त बैठकले प्रकाशनले मागेको रु ४० करोड सहुलियत ऋणका सम्बन्धमा थप गृहकार्य गरी निर्णयम पुग्ने समझदारी गरेको अध्यक्ष शर्माले जानकारी दिए ।   

बढी कर्मचारी र विभिन्न आर्थिक अनियमितता हुनु तथा पाठ्यपुस्तक वितरणको जिम्मेवारी खोसिनुले प्रकाशन हाल करिब रु ४३ करोड घाटामा छ ।  शर्माले ४५ दिनभित्र आठ वर्षदेखि आउन नसकेको लेखा परीक्षण प्रतिवेदन ल्याउन र कर्मचारीलाई नियमित काममा लगाउन पनि समितिले निर्देशन दिएको बताउँदै सरकारबाट १५ दिनभित्र रकम नआए आफ्ना जग्गा बिक्री गरेर भए पनि संस्था उठाउने निर्णय भएको जानकारी दिए ।  

रासस 

 

प्रतिक्रिया