Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थी भर्ना अभियान सुरु

शुक्रबार, ०३ बैशाख २०७३

काठमाडौँ, ३ वैशाख । सरकारले बिहीबारदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।  विद्यालय बाहिर रहेका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सुरु गरेको हो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले यसवर्ष ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ भर्ना अभियान अगाडि बढाएको हो ।  

शिक्षा विभागका महानिर्देशक खगराज बरालले अभियानअन्तर्गत विसं २०७३ वैशाख २ देखि १४ गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिने जानकारी दिए । विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन भर्ना अभियान सुरु गरेको बताउँदै उहाँले भर्ना अभियान सफल तुल्याउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।  

अभियानअन्तर्गत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधारलगायत कार्यक्रम समावेश छन् ।  शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नका लागि नियमित विद्यालय, खुला विद्यालय, वैकल्पिक विद्यालय, वैकल्पिक सिकाइ केन्द्र र सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा छन् ।  

शिक्षा विभागका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले शैक्षिक तथ्याङ्क २०७१ अनुसार प्राथमिक विद्यालय तहमा प्राथमिक उमेर समूह ५–९ वर्षका विद्यार्थीको खुद भर्ना दर ९६।२ प्रतिशत रहेको जानकारी दिए ।  उहाँका अनुसार प्राथमिक तहमा छात्र ४९ हजार ३५१ र छात्रा ५६ हजार ९५६ गरी कूल एक लाख ६३ हजार ७ जना बालबालिका विद्यालय बाहिर रहेको, आधारभूत तहमा छात्र दुई लाख ७९ हजार ८०० र छात्रा दुई लाख ६१ हजार ७४२ गरी कूल पाँच लाख ४१ हजार ५४२ जना रहेका छन् । प्राथमिक तहका ३.८ र आधारभूत तहका १२।४ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । 

त्यस्तै ५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार १४८ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको र पाँच लाख ५८ हजार ९२५ छात्र र छ लाख २९ हजार ७६ छात्रा गरी ११ लाख ८८ हजार १ बालबालिका अझै विद्यालय बाहिर रहेको अर्यालले जानकारी दिए । जसमध्ये १० लाख ९२ हजार ३४२ जना बालबालिका दुर्गम क्षेत्रका र बाँकी सहरी क्षेत्रका विद्यार्थी विद्यालय बाहिर रहेका छन् । 

पाँच वर्षका ३६ प्रतिशत, छ वर्षका २१ प्रतिशत, सात वर्षका १३ प्रतिशत, आठ वर्षका १२ प्रतिशत, नौ वर्षका ७ प्रतिशत, दश वर्षका १० प्रतिशत, ११ वर्षका ७ प्रतिशत, १२ वर्षका १० प्रतिशत, १३ वर्षका ८ प्रतिशत, १४ वर्षका १२ प्रतिशत, १५ वर्षका १८ प्रतिशत र १६ वर्षका २५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । 

सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर भएका १५ जिल्लामा रौतहट, सर्लाही, धनुषा, महोत्तरी, बारा, सिरहा, पर्सा, सप्तरी, कपिलवस्तु, रुपन्देही, सुनसरी, मोरङ, बाँके, कैलाली र काठमाडौँ परेको छ । प्राथमिक तह ९१–५० कक्षामा औसत खुद भर्ना दर ९६.२ प्रतिशतभन्दा कम रहेका जिल्लामा ताप्लेजुङ, इलाम, भोजपुर, झापा, सुनसरी, दोलखा, मनाङ, मुस्ताङ, धनुषा, बारा, चितवन, ललितपुर, म्याग्दी, बागलुङ, सप्तरी, सिराहा, पर्सा, कपिलवस्तु, रौतहट, ,रुकुम, दैलेख, जाजरकोट, दाङ, बर्दिया, बाजुरा, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, डोल्पा, जुम्ला, मुगु, कालीकोट, कञ्चनपुर, रुपन्देही, प्यूठान, सोलुखुम्बु र पर्वत रहेका छन् । 

आधारभूत तह ९१–८० र औसत खुद भर्ना दर ८७।६ प्रतिशतभन्दा कम भएका जिल्लामा मनाङ, मुस्ताङ, धनुषा, बारा, महोत्तरी, सर्लाही, सिरहा, सुनसरी, सप्तरी, पर्सा कपिलवस्तु, रौतहट, प्युठान, रोल्पा, डोटी, हुम्ला, डोल्पा, रुपन्देही र बाँके रहेका छन् ।  शिक्षालाई विकासको संंवहक बनाउने दृष्टिकोणले आधारभूत शिक्षामा सबैको पहुँच सनिश्चितताको लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको विभागका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले बताए । 

रासस 

 

प्रतिक्रिया