Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

श्रमदान गरेर स्कुल बनाउँदै विद्यार्थी

विहीबार, ०२ बैशाख २०७३

काठमाडौँ, २ बैशाख । अमेरिकाको लिवर्टी हाइस्कुलका विद्यार्थी कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–८ पिल्लरीफाँटामा आफँै श्रमदानमा जुटेर गाउँमा स्कुल बनाउन थालेका छन् । विल्डन नेपाल संस्थामार्फत यहाँको विद्यालय भवन निर्माण र कला संस्कतिबारे बुझ्न अभिभावकसहित पिल्लरीफाँटा पुगेका नौ जना १५ वर्षमुनिका विद्यार्थी सोमबारदेखि भवन निर्माणमा जुटेका हुन् ।

संस्थामार्फत अभिभावकसहित १५ जना अमेरिकी नागरिकको टोली यहाँको विपन्न बस्तीको कच्ची भवनमा सञ्चालन भएको विद्यालयमा तीन कोठे पक्की भवन निर्माण गर्न आइपुगेको विल्डन नेपालका टे«क संयोजक झरना बमले राससलाई जानकारी दिए । गाउँमा चार कोठे कच्ची भवनमा सञ्चालनमा रहेको पञ्चकोटी मणिधाम बाल विद्यालयको भवन अभाव देखेपछि सहयोग स्वरुप अमेरिकाका विद्यार्थी स्कुल भवन बनाउन जुटेका हुन् ।

“गाउँमै बसेर शुक्रबारसम्म स्कुल बनाउन गाउँलेलाई पनि सहभागी गराएर स्कुल बनाउने योजना बनेको छ ।” संयोजक बमले भन्नुभयो– “आजदेखि जग खन्ने काम थालिएको छ ।” “संस्थाले कञ्चनपुर र कैलालीमा अहिलेसम्म १५० स्कुल बनाइसकेको छ ।” उनले भने– “सन् २०१६ भित्र थप ३० वटा विद्यालयलाई भौतिक संरचना सहयोग गर्ने लक्ष्य छ ।”

समुदायको आर्थिक अवस्था कमजोर र प्राविस्तरको कच्ची भवन मात्रै भएको विद्यालय छनोट गरी तीन कोठे पक्की भवनका लागि सहयोग गर्ने गरेको संयोजक बमको भनाइ छ । “समुदायको पनि श्रमदानका साथै गिट्टी बालुवा र ढुङ्गाको व्यवस्था गर्नुपर्ने हुन्छ ।” उनले भने – “हामीले छड, सिमेन्ट र इँटालगायतका अन्य निर्माण सामग्री सहयोग गर्छौं ।”

“गर्मी भएकाले अमेरिकी विद्यार्थी र तिनका अभिभावक बिहान स्कुलको श्रमदानमा लाग्छन् ।” बमले भने– “साँझ उनीहरु गाउँको कला संस्कृति तथा रहनसहनका बारेमा जान्न उत्सुक हुन्छन् ।” 

रासस

 

प्रतिक्रिया