Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

दुर्घटनामा तीन प्राध्यापकको मृत्यु !

बुधबार, ०१ बैशाख २०७३

काठमाडौँ, २ बैशाख । डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौंका तीन प्राध्यापकको पनि मृत्यु भएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो ।  दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवं डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत थिए ।  

लामो समयदेखि प्राध्यापन गर्दै आएका डा पन्त मध्यपश्चिम र सुदूरपश्चिम नेपालको र खास गरी डोटेली लोक संस्कृतिको अनुसन्धानकर्ता हुन् । पद्मकन्यामा प्राध्यापन गर्नुअघि उनले कैलाली बहुमुखी क्याम्पस धनगढीमा पनि केही समय अध्यापन गरेको उनको भाइ नन्दराजले बताए । संस्कृति सहित दुई विषयमा विद्यावारिधि गरेका प्राडा पन्तका ‘अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, ‘भुवनेश्वरी‘ लगायतका कृति प्रकाशित छन् । 

यस्तै सोही दुर्घटनामा परी डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा गणेशराज र उनका भाइ कैलाली अत्तरिया नगरपालिकाका ५९ वर्षीय केशवराजको समेत मृत्यु भएको छ । 

आफ्नो जन्मथलो डोटीको जिजोडामाडौँ गाविस—८ जैनोली गाउँमा यही वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडौँतर्फ जाँदै गरेको अवस्थामा उनीहरु सवार ना१ज ३२९४ नम्बरको जिप गए राति ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका– ४५ वर्षीय चेतराज बलायर, जिजोडामाडौँ गाविसकी ३६ वर्षीया हरिना टमाटा र ठेगाना खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारको समेत मृत्यु भएको छ । 

घटनास्थलमा छ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । तीनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ । उद्धारका लागि राति नै घटनास्थल पुगेका डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले ठाडो उकालो, कच्ची साँघुरो बाटो र धेरै मोड रहनु नै जिप दुर्घटनाको कारण भएको बताए । 

सडकबाट झन्डै ५ सय मिटर तल भिरमा खसेर भएको दुर्घटनामा जिपमा सवार ४५ वर्षीया नर्वदा पन्त, ३८ वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा र कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटा घाइते भएका छन् । घाइतेमध्ये नर्वदा र गौरवलाई थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको तथा अन्यको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया