Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यालयमा ‘ई–पुस्तकालय’ सञ्चालन

बुधबार, ०१ बैशाख २०७३

काठमाडौँ, १ बैशाख  । गैरआवासीय नेपालीको आर्थिक र नेपाल लाइबे्ररी फाउन्डेसनको प्राविधिक सहयोगमा बागलुङका छ विद्यालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) सञ्चालनमा आएको छ ।

लेखानी गाविसस्थित लेखानी उच्च मावि, बिहुँको भीमसेन उमावि, सोही गाविसको अमर उमावि, शिव उमावि काँडेबास, बानपास्थित कुँडुले उमावि र ग्वालीचौरको भानु उमाविमा विद्युतीय पुस्तकालय खुलेको हो ।

विभिन्न देशमा रहेका सम्बन्धित विद्यालयका पूर्व–विद्यार्थीले पुस्तकालय स्थापना र सञ्चालनको लागि आर्थिक सहयोग अभियान चलाएका थिए । छ उमाविसँगै बागलुङ सदरमुकामस्थित विद्यालयमन्दिर पुस्तकालयमा पनि ‘ई–लाइब्रेरी’ सञ्चालनमा आएको नेपाल लाइब्रेरी फाउन्डेसनका कार्यक्रम संयोजक धनकुमार श्रेष्ठले बताउनुभयो । फाउन्डेसनले पुस्तकालयको लागि प्राविधिक र व्यवस्थापकीय सहयोग गर्दै आएको छ ।

“छवटै उच्च मावि र विद्यामन्दिर पुस्तकालयमा ई–लाइब्रेरी सुरु भएको छ” संयोजक श्रेष्ठले भने “दश हजारभन्दा बढी विषयगत पाठ्य सामग्रीसँगै एक लाख बढी सन्दर्भ सामग्री यसमा छन् ।” 

इन्टरनेट नहुँदा पनि ‘वेभ–सर्भर’ प्रणालीबाट ई–पुस्तकालयको प्रयोग गर्न सकिने उहाँको भनाइ छ । विद्युतीय पुस्तकालयमा विषयगत पाठ्य सामग्री, शिक्षण सामग्री, सन्दर्भ सामग्री, पत्रपत्रिका अन्य शिक्षाप्रद सामग्री राखिएको छ । 

विद्यार्थीलाई पठन र सिकाइमा टेवा दिन अभ्यासमूलक श्रव्य÷दृश्य सामग्री पनि पुस्तकालयमा छन् । छ विद्यालय र एक पुस्तकालयमा गरी तत्कालको लागि ८९ थान कम्प्युटरबाट ई–लाइब्रेरी सेवा सुरु गरिएको छ । पछि कम्प्युटर थप गरी सेवा विस्तार गर्दै जाने विद्यालयले जनाएका छन् । 

सो पुस्तकालय चलाउन प्रवासमा रहेका विद्यालयका पूर्व विद्यार्थी, शुभचिन्तकले रु २६ लाख सङ्कलन गरेका थिए । फाउन्डेसनले चितवन, लमजुङलगायतका जिल्लामा पनि विद्युतीय पुस्तकालय सञ्चालनमा सहयोग गर्दै आएको छ । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया