Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

उच्च माध्यामिक शिक्षा परिषद्मा ‘पानी बाराबार’ !

शुक्रबार, ०८ फागुन २०७१

भक्तपुर ८ फागुन / उच्च माध्यामिक शिक्षा परिषद्मा उपाध्यक्ष र सदस्य सचिव नभएको ६ महिना नाघ्यो । शिक्षा मन्त्रीले आफूले चाहेको व्यक्तिलाई नियुक्ति गर्न नसक्दा परिषद् पदाधिकारी बिहिन छ । यसको असर विद्यार्थीको भविष्यमा माथि परेको छ । शैक्षिक क्यालेण्डर अनुसार नतिजा प्रकाशन हुन छाडेको छ ।

यो त बाहिर देखिने प्रभाव भयो, परिषद् कति सम्म अस्तब्यस्त छ भन्ने कुरा त्यहाँका कर्मचारीको सम्बन्ध र ब्यवहारले झनै छर्लङ्ग पारेको छ । हिजो आज परिषद्का कतिपय कर्मचारीहरु बीच बोलचाल नै बन्द भएको छ ।

निमित्त सदस्य सचिव र उपाध्यक्षको जिम्मेवारी लिएका सह सचिव नारायण कोइराला र प्रशासन महाशाखा प्रमुख सह सचिव दुर्गा अर्यालसंग नबोल्ने उच्च तहकै आधा दर्जन भन्दा बढी कर्मचारी छन् । कर्मचारी विचमै बोलचाल नहुँदा परिषद्को काम कसरी प्रभावकारी हुन सक्छ ?

नारायण कोइराला सदस्य सचिव बन्ने दाउमा छन् । उनले मन्त्रीले चाहे जस्तो निर्णय गरेर खुसी पारेकोले कर्मचारी कर्मचारी विच नै समस्या बढेको एक जना कर्मचारीले बताए । ‘सदस्य सचिव हुन ‘भिनाजु’ (शिक्षा मन्त्री चित्रलेखा यादवका श्रीमान) लाई पैसा खुवाएको समेत सुनेको छु,’ ती कर्मचारीले भने ।

आर्थिक लेनदेनकै कारण सदस्य सचिव बन्ने दाउमा रहेको भन्दै परिषद्का केही कर्मचारीले कोइरालाको बिरुद्ध कांग्रेसको एउटा खेमालाई जानकारी गराईसकेका श्रोतले बतायो । कोइरालाले पैसा खुवाएर र मन्त्री यादवको आफन्त भर्ना गर्ने, उनले चाहेजस्तो निर्णय गरेर सहयोग गरेको भन्दै परिषद् भित्रका कर्मचारीले काग्रेसका उपसभापति रामचन्द्र पौडेल लगायतका नेतालाई बारम्बार जानकारी गराइरहेका छन् ।

यो कुरा प्रधानमन्त्री सुशिल कोइरालालाई समेत थाहा छ । त्यसैले मन्त्री यादवले नारायण कोइरालालाई सदस्य सचिव बनाउन चाहेपनि प्रधानमन्त्रीले नै उनको प्रस्ताव अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री कोइराला पनि नारायणलाई सदस्य सचिवमा नियुक्ति गर्ने सोचमा नभएको श्रोतको दावी छ । तर, नारायणले भने कोइरालाका निकटतम व्यक्तिलाई हातमा लिएर भनसुन गर्न थालेका स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा फर्जी बिल पेश गरेर चर्चामा रहेका एक पत्रकारलाई समेत नारायणले आफ्नो पक्कडमा राखेर प्रधानमन्त्रीलाई सकारात्मक कुरा राखिदिन आग्रह गर्ने गरेका श्रोतले जनाएको छ ।

को को बोल्दैनन् ?

नारायण कोइराला र पाठ्यक्रम महाशाखाका प्रमुख रामचन्द्र पाण्डेको बोलचाल ठप्पै छ । त्यस्तै पाण्डे र प्रशासन महाशाखा प्रमुख दुर्गा आर्यालको पनि बोलचाल छैन । यति सम्म कि एउटा पक्षको गल्ली पाउने वित्तिकै अर्कोले मिडियामा लैजान्छन् । कतिपय घटना त अख्तियार र अदालतमै पुगिसकेको छ । अर्याललाई सह सचिव बनाउने क्रममा पाण्डेको समूहले मन्त्रीलाई बिरोध पत्र नै बुझाएको थियो ।

तर, मन्त्री यादवले अर्याललाई सहसचिव बनाइ छाडिन् । केही समय अघि पाण्डेकै समूहमा रहेका गोबिन्दराज खनिया भने अहिले कोइराला खेमामा गएका छन् । कारण स्पष्ट छ, खनियालाई सम्बन्धन महाशाखाको प्रमुख बनाएपछि उनी पाण्डे खेमाबाट बाहिरिएका हुन । यसअघि कोइरालाको खोइरो खन्ने खनिया अहिले चुप छन् । पाण्डेको खेमामा डम्बरकुमार बतास, भवराज कोइराला, बेदनाथ अधिकारी, सुष्मा आचार्य, भास्करदत्त पन्त लगायत छन् ।

उनीहरुले अर्याललाई सहसचिव बनाउन हुदैन भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसमा खनिया पनि थिए । पाण्डे र कोइरालाका समूह एक आपसमा भेट्दा बोलचाल समेत नहुने परिषद् स्रोतले जनाएको छ ।

प्रतिक्रिया