Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नेपालबाट एमबीबीएस गरेका एक चौथाइ फेल

मंगलबार, ३० चैत्र २०७२

काठमाडौँ, ३० चैत । मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षामा नेपालबाटै एमबीबीएस गरेका डाक्टरमध्ये एक चौथाइ फेल भएका छन् । काउन्सिलका अनुसार मुलुकका १५ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ हजार ३७ डाक्टरले लाइसेन्स परीक्षा दिएकामा ७ सय ८४ मात्र पास भएका छन् भने २ सय ५३ फेल भए । मुलुकबाटै एमबीबीएस गरेका कुल विद्यार्थीमध्ये २४ दशमलव ४ प्रतिशत फेल भएका हुन् । 

‘स्वदेश वा विदेश जुनसुकै ठाउँमा डाक्टरी पढ्ने नेपाली विद्यार्थीको आधार पैसा नभएर मेरिट लिस्ट हुनुपर्ने पुष्टि यो नतिजाले गरेको छ,’ काउन्सिलका प्रवक्ता डा।कृष्ण अधिकारीले भने, ‘मेडिकल पढ्न मेरिट लिस्टलाई नै अझ बलियो आधार बनाउनुपर्नेतर्फ सबैले सोच्नुपर्छ ।’ 

केही वर्षयता एमबीबीएस अध्ययनका लागि सहज गन्तव्य बनेको बंगलादेशको स्थिति भने झन् बेहाल छ । बंगलादेशबाट एमबीबीएस गरेका आधा विद्यार्थी लाइसेन्स परीक्षामा फेल भएका छन् । बंगलादेशका २७ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय ९३ डाक्टर लाइसेन्स परीक्षामा सहभागी भएकामा ९३ जना फेल र १ सय जना पास भए । बंगलादेशबाट एमबीबीएस गरेका ४७ दशमलव २ प्रतिशत फेल भएका हुन् । ५१ दशमलव ८ प्रतिशत सहभागी मात्र लाइसेन्स हासिल गर्न सफल भए ।

पछिल्ला वर्षमा चीनको निजी मेडिकल कलेजबाट एमबीबीएस गरेकाहरूको लाइसेन्स परीक्षामा देखिने निराशाजनक नतिजाको अवस्था यस पटक पनि कायम रह्यो । यस पटक चीनका २२ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय ३३ डाक्टरले लाइसेन्स परीक्षा दिएकामा ४३ जना पास हुन सके भने ९० जना फेल भए । चीनबाट एमबीबीएस पास गरेर परीक्षा दिनेमध्ये करिब ६८ प्रतिशत फेल भएका हुन् । 

भारतका ३ मेडिकल कलेजबाट पढेर आएका ४ विद्यार्थीमध्ये एक जना र पाकिस्तानका ३ मेडिकल कलेजबाट पढेका ७ मध्ये ५ जना फेल भएका छन् ।  यस्तै रुसमा पढेका ७ विद्यार्थीमध्ये ४, युक्रेनका ६ मध्ये ४, फिलिपिन्सका ७ मध्ये ४, किर्गिस्तानका ४ मध्ये ३ फेल भएका छन् । आइसल्यान्डबाट एमबीबीएस गरेका एकजना लाइसेन्स परीक्षामा सहभागी भएकामा सफल हुन सकेनन् ।  यस्तै दन्त चिकित्साअन्तर्गत बीडीएस गरेका बंगलादेशका २४ विद्यार्थीमध्ये ९, भारतका २५ मध्ये १७, नेपालका ६६ मध्ये १ फेल भएका छन् । पाकिस्तानबाट बीडीएस गरेका एकजना सहभागी भएकामा उनी पनि सफल हुन सकेनन् ।  काउन्सिल पदाधिकारीका अनुसार गत वर्षसम्म नेपाल बाहिर एमबीबीएस पढ्न प्रवेश परीक्षा आवश्यक नभएकाले जोसुकै जाने अवस्था रहेकाले तिनै विद्यार्थीले लाइसेन्स परीक्षामा राम्रो गर्न नसकेका हुन् ।

गत वर्षसम्म फिजिक्स, केमेस्ट्री र बायोलोजीमा छुट्टाछुट्टै ५० प्रतिशत र समग्रमा समेत ५० प्रतिशत ल्याउनेले मुलुक बाहिर गएर एमबीबीएसरबीडीएस गर्न पाउँथे ।  यसै वर्षदेखि प्रवेश परीक्षा पास नगरी बाहिरी मुलुकमा एमबीबीएसरबीडीएस पढ्न नपाइने व्यवस्था गरिएको छ । विदेशमा एमबीबीएस पढ्न जाने नेपाली विद्यार्थीहरूले स्वदेशबाट कुनै प्रवेश परीक्षा पास गरेको हुनुपर्ने व्यवस्था यसै वर्षदेखि गरिएको हो । मन्त्रिपरिषद् सामाजिक समितिको निर्णयअनुसार एमबीबीएस पढ्न नेपालबाट विदेश जाने वा विदेशबाट नेपाल आउनेहरूले अनिवार्य रूपमा प्रवेश परीक्षा पास गर्नुपर्छ । यसअनुसार प्रवेश परीक्षा पास नगरी कुनै पनि नेपाली विद्यार्थीले स्वदेश या विदेशमा र विदेशीले नेपालमा एमबीबीएस अध्ययन गर्न पाउने छैनन् ।

हालका लागि विदेश पढ्न जाने नेपालीले काठमाडौं विश्वविद्यालय, त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र शिक्षा मन्त्रालयले लिने कुनै प्रवेश परीक्षा वा नेपाल मेडिकल काउन्सिलले लिने प्रवेश परीक्षा पास गरेमात्र एमबीबीएस पढ्नका लागि योग्य मानिने डा।अधिकारी बताउँछन् ।

लाइसेन्स परीक्षा पास गरेको व्यक्तिमात्र डाक्टरी पेसा सञ्चालन गर्न योग्य मानिन्छन् । लाइसेन्स नलिएकाको उपचारले कुनै बिरामीको मृत्यु भए ती डाक्टरमाथि ज्यान मार्ने मुद्दा चल्न सक्छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया