Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

विद्यालय निरीक्षक

सोमबार, २९ चैत्र २०७२

- देवीराम आचार्य / मध्य नेपालको एउटा पहाडी गाँऊ । भर्खैर मात्र कच्ची बाटो पुगेको छ । दुइचार वटा पसल खुलेका छन् । विजुलीको तार पुगेको छ, कहिलेकाँही बत्ति पनि आँउछ । तलपट्टी बस्ती छ, माथि कुनामा एउटा प्राथमिक विद्यालय छ । विद्यालय घेरावार गरिएको छ । शौचालय र खानेपानी पनि छ । टीनले छाएका दुई वटा भवनमा ६ वटा कोठा छन् ।

जिल्लामा भर्खर नयाँ नियुक्ति भएर आएका एकजना निरीक्षक त्यही विद्यालय पुग्छन । विद्यालय प्रवेश गर्दै गर्दा देखे विद्यालय वरिपरी अत्यन्त फोहोर रहेछ । कार्यालयबाट प्रधानाध्यापक निस्केर नमस्कार गर्छन । हालखवर सोधपुछ हुन्छ । निरीक्षकले तुरुन्त सोधिहाल्छन्, 'कति फोहर हो त विद्यालय ?'

प्रधानाध्यापकको जवाफ, 'विद्यार्थीलाई फोहर नगर भनेर जति भने पनि मान्दैनन, भनेर लाग्दै लाग्दैन के गर्ने । भन्दा भन्दा हैरानै भए । आफै सफा गरेर पनि नसकिने रहेछ ।'

निरीक्षक अफिस कोठामा पस्छन, एकछिन आराम गरेर, पानी खान्छन । प्रधानाध्यापक र निरीक्षक सँगसँगै कक्षाकोठातिर लाग्छन । कक्षा १ मा ९ जना विद्यार्थी रहेछन् । निरीक्षकले हाँजिर कापी हेर्छन, भर्ना १६ जना लेखिएको रहेछ ।

'खोइ त अरु विद्यार्थी ? नियमित हाँजिर पनि देखिदैन नि ?' निरीक्षक सोध्छन् ।

'विद्यार्थी स्कुल नै आउदैनन् । केही गरि नियमित गराउन सकिएन । पोहोर अभिभावक भेलामा भनेकै हो, हुँदै भएन सर', प्रधानाध्यापक भन्छन ।

अनि निरीक्षकले कालो पाटीमा तीनवटा अक्षर 'घ', 'छ' र 'न' लेखेर ५ जनालाई सोध्छन । एक जनाले मात्र मिलाउँछन । यो पटक प्रधानाध्यापक केही बोल्दैनन् ।

यसपछि निरीक्षक कक्षा २ मा जान्छन् । तेह्र जना विद्यार्थी उपस्थित थिए । ठूलो कक्षाकोठा, अत्यन्त फोहर, अग्ला अग्ला बेञ्च । निरीक्षकले तीनवटा सरल शब्द (आए, चुरा, तबला) बोर्डमा लेखेर पालै पालो विद्यार्थीलाई पढ्न लगाँउछन् । तेह्र जनामध्ये ५ जनाले मात्र सबै शब्द शुद्ध गरि पढन सक्छन ।

तत्कालै प्रधानाध्यापकले रक्षार्थ जवाफ दिन्छन, 'एक त विद्यार्थी विद्यालय नै आउदैनन, आए पनि पुरा समय बस्दैनन्, घरमा पनि पढ्दै पढ्दैनन । गृहकार्य गर्ने बानी नै छैन । पढाएको बुझ्दा पनि बुझ्दैनन् । अभिभावकलाई चासै छैन । जति गरे पनि सिकाउनै नसकिने सर ।'

निरीक्षक कक्षा ५ मा जान्छन् । अङग्रेजी विषय पढाइ हुँदै थियो । बिद्यार्थीको बसाइ र कक्षाकोठाको वातावरण अवलोकन पछि शिक्षकको अनुमतिमा उनले अङग्रेजीका केही सरल वाक्यहरु बिद्यार्थीलाई सोध्छन् । धेरै बिद्यार्थी अलमल पर्छन ।

'यो उदार कक्षोन्नति भनेर बिद्यार्थी फेल गर्न पनि नपाइने, खुरुखुरु कक्षा चढायो यस्तो छ हालत । निरन्तर विद्यार्थी मूल्याङकन भन्दै परीक्षा पनि नलिने भन्ने पनि छ । गर्न त खोजेकै छौ, अभिभावक कुनै मतलवै गर्दैनन, हामीले मात्र गरेर नहुने सर,' प्रधानाध्यापकले दिक्क मानेको शैलिमा भन्छन् ।

यसपछि निरीक्षक सिधै अफिस कोठामा पुग्छन र शिक्षकको हाँजिरी पल्टाउँछन, 'धेरै शिक्षकको अनियमितता देखेर सोध्छन, शिक्षकको पनि नियमितता त देखिएन नि सर ?'

जवाफमा प्रधानाध्यापक भन्छन्, 'गाँउमा यस्तै हो सर, कोही मर्छन जानै पर्ने, विरामी हुन्छन, विवाह, पुजापाठ, ब्रतबन्ध भन्यो, गाँउमा हुने अरु सामाजिक काम भन्यो नगइ पनि नहुने । समाज पनि चाहियो गाँउमा बसेपछि । फेरी बिदा हुँदैन भनेर पनि सम्भवै नहुने सर । कहिलेकाँही त मानवीयता पनि हेर्नु पर्ने । दुई जना निजी स्रोतका, २ जना स्थायी, १ जना राहत शिक्षक हुनुहुन्छ । मलाई विद्यालयको काममा हिडीरहनु पर्छ, समस्या पो भएको छ सर ।'

कक्षा १ देखि ५ सम्म जम्मा भर्ना भएका विद्यार्थी ११७ जना रहेछन र निरीक्षक जाँदाको दिनको उपस्थित ५८ जना ।

'बस्ती त बाक्लै देखिन्छ, विद्यार्थी त थोरै नै छन् त,' निरीक्षकको प्रश्न ।

'यही तलपट्टी एउटा बोर्डिङ्ग खुलेको छ सर, सबै उतै गए, आए पढाउन हुन्थ्यो, अभिभावकको चासो उतै छ,' प्रधानाध्यापक जबाफमा भन्छन् ।
निरीक्षक केही बोल्दैनन् ।

प्रधानाध्यापक थप्छन, 'अर्को वर्ष कक्षा १ मा विद्यार्थी नै हुँदैनन जस्तो छ । विद्यालय चलाउन पनि समस्या भयो । भवन पनि पुराना छन् । शिक्षक पनि पर्याप्त छैनन् ।'

निरीक्षक र प्रधानाध्यापकको यो कुराकानी हुदै गर्दा १ जना महिला शिक्षक आइपुग्छिन । अनि निरीक्षकले परिचय गर्छन । उनी बालविकास केन्द्रको सहयोगी कार्यकर्ता रहेछिन । अनि निरीक्षकले बालविकास केन्द्र हेरौ न त भन्छन् । उनी अलमल पर्छिन तर प्रधानाध्यापकले थप्छन्, 'विद्यालयमा शिक्षक पनि अभाव, कक्षाकोठाको अभाव, विद्यार्थी पनि थोरै त्यसैले कक्षा १ र बालकक्षा एकैठाँउ चलाएका छौ सर । साह्रै समस्या भएको छ, हामीलाई ।'

प्रधानाध्यापक निरीक्षण पुस्तिका दिन्छन् । निरीक्षक अलमल परेर पुस्तिका अगाडिबाट पल्टाउदै जान्छन् । निरीक्षण पुस्तिकामा के लेख्ने भन्ने अलमल हुन्छ निरीक्षकलाई । उनी भर्खरमात्र आएका नयाँ निरीक्षक थिए । समस्या लेखौ, कुन कुन लेखौ, सुधार गर्नु पर्ने कुरा लेखौ, कुन कुन लेखौ, उनी एकछिन टोलाउँछन् । निरीक्षण पुस्तिकाको अगाडि पाना फर्काएर हेर्छन, पहिले पहिले विद्यालय अवलोकनमा आएका निरीक्षकले के लेखेका रहेछन भनेर ।
अगाडिका निरीक्षकको आधार लिदै केही भूमिका सहित लेख्न शुरु गर्छन, "विद्यालयमा पठन पाठन सूचारु भएको पाइयो । ५८ जना विद्यार्थी उपस्थित रहेछन् । विद्यार्थी उपस्थिति बढाउनु पर्ने देखिन्छ । विद्यालय हाता सफा राख्नु पर्ने देखिन्छ । अन्तमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।"

धन्याबाद !

प्रकाशित मिति २०७२ चैत २९ गते

प्रतिक्रिया