Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

कतै बाजा घन्काएर स्वागत गर्दा पनि विद्यार्थीको खडेरी कतै बोरामा पैसा बोकेर भर्ना !

आइतबार, २८ चैत्र २०७२
Om Sharma Chapagain

सन्दर्भ विद्यार्थी भर्ना अभियानको । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै निजी र सरकारी तवरमा आ-आफ्नै शैलीमा विद्यार्थी भर्ना अभियान जारी छ । निजामति सेवामा संग्लन हुनेहरुका लागि निजामति विद्यालय (किनकी सरकारले नै निजामति सेवामा संलग्न हुनेहरुका सन्तानका लागि निजामति विद्यालय सञ्चालनमा ल्याईसकेको छ) नेपाली सेनामा संलग्न हुनेहरुका लागि सैनिक विद्यालय (किनकी सेनामा संलग्न परिवारका सन्तानका लागि वर्षौदेखि नेपाली सेनाको कल्याणकारी कोषबाट राजधानी लगायत क्षेत्रीय तहमा सैनिक विद्यालय सञ्चालमा छन्) ।

प्रहरी सेवामा संलग्न हुनेहरुका लागि प्रहरी विद्यालय (किनकी नेपाल प्रहरीमा संलग्न परिवारका सन्तानका लागि नेपाल प्रहरीले कल्याणकारी कोषबाट राजधानी लगायत क्षेत्रीय तहमा प्रहरी विद्यालय सञ्चालमा ल्याएका छन्) । व्यावसायी र हुनेखानेका लागि नाम चलेका अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध निजी विद्यालय (किनकी व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय तहको समेत सम्बन्धनमा व्यावसायिक तवरमा महंगा विद्यालय स्थापित छन्) ।

मजदुर, ज्यामी तथा वैदेशिक रोजगारमा संलग्न हुनेहरुका लागि निजी तर "बोर्डिङ्ग" उल्लेख भएका विद्यालय (किनकी विहान बेलुका खान बस्न धौ धौ भए तापनि छोरा छारी बोर्डिङ्ग पढाउने माहोल बढ्दो छ तसर्थ यस्ता परिवारलाई लक्षित गरी सामान्य पूर्वाधारमा व्यवसाय गर्न खोजिएका निजी विद्यालयहरुको पहूँच उल्लेख्य छ) । माथि उल्लेखितमध्ये कुनैमा पनि पहूँच नपुग्नेका लागि सामुदायिक अर्थात् सरकारी विद्यालय (सवै नागरिकलाई सरकारले आधारभूत तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउन स्थापित विद्यालयहरु जहाँ माथि उल्लेखित विद्यालयबाट पर्गेलिएकाहरुका लागि मात्र सिमीत रहन पुगेको अवस्था छ) ।

यि सवैले आ आफ्नै शैली र ढंगमा विद्यार्थी भर्नाको महाअभियान चलाएका छन् । फरक यत्ति मात्र हो कतै पञ्चेबाजा घन्काएर निःशुल्क पढाइका लागि स्वागत गर्दा पनि बालबालिककाको खडेरी छ भने कतै झोलामा होइन बोरामा पैसा बोकेर भर्ना गर्नजाँदा पनि लामवद्ध हुनुपर्छ ।

प्रतिक्रिया