Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

क्लिन्टन ग्लोबलको उत्कृष्टमा नेपाली विद्यार्थी !

शनिबार, २७ चैत्र २०७२

काठमाडौँ, २७ चैत । अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सञ्चालन गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । 

विश्वभरिका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक हजारभन्दा धेरै विद्यार्थीमध्ये ललितपुरका २१ वर्षीय सरिफ श्रेष्ठ ग्रामीण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुति दिँदै उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् ।  

युनिभर्सिटीको कार्यक्रममा सङ्खुवासभाको मुढे र चिराईंतेमा आफूहरूले सुरु गरेको जडीबुटी खेतीसम्बन्धी परियोजना र त्यसले गाउँलेको जीवनमा ल्याएको परिवर्तनबारे उनले प्रस्तुति दिएका थिए ।  कार्यक्रममा सरिफसहित प्रस्तुतिका लागि छानिएका सबै विद्यार्थीलाई युनिभर्सिटीका संरक्षकसमेत रहनुभएका पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनले बधाई तथा शुभकामना दिए । 

कार्यक्रममा उत्कृष्ट छनोट भएपछि आफूलाई थप हौसला मिलेको बताउँदै सरिफले आफू अध्ययन सकेर नेपाल फर्किएपछि नेपालका ग्रामीण क्षेत्रका वासिन्दाको जीविकोपार्जनकमा सहयोग गर्ने बताए ।  

सरिफका पिता वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालमा पनि यस्ता थुप्रै प्रतिभाशाली विद्यार्थी रहेका तर राज्यले उनीहरूको प्रतिभा उजागर गर्न कुनै अवसर नदिएको गुनासो गरे । 

रासस 

 

प्रतिक्रिया