Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रीले सोधे ‘१५ लाख पनि नदिने कस्तो मन्त्रालय हो ?’

शुक्रबार, २६ चैत्र २०७२

काठमाडौं – एउटा शिक्षा कार्यालयमा चाहिने बजेट कति होला ? १ करोड, दुई करोड या बढी नै । कार्यालयको कामका लागी चाहिने बजेटको प्रस्ताव शिक्षा मन्त्रालयलाई पठाउँदा पनि आवश्यक बजेट उपलब्ध नगराएको भन्दै कार्यालयका हाकिमहरु दिक्क मान्छन् ।

यस्ता दिक्क त्यतिखेर सकिन्छ जतिखेर मन्त्रीले यस्ता समस्या बुझिदिन्छन् । अझ भनौं मन्त्रीको आदेश पछि मन्त्रालयका कर्मचारीले सजिलै बजेट छुट्याईदिन्छन् ।
कामका लागी बजेट नपाएको गुनासो सुनाउन विद्यालय शिक्षक किताबखानाका कर्मचारीले नयाँ जुक्ति निकाले ।

शुक्रबार किताबखानाको १९ औँ स्थापना दिवसका अवसरमा प्रमुख अतिथीका रुपमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल आउने वित्तिकै कार्यक्रममा लैजाने प्रचलनलाई तोडेर किताबखानाका महानिर्देशक शेर बहादुर ढुंगानाले अभिलेख राखिएको ‘अण्डरग्राउड’ मा लगे ।

मन्त्रीका पछाडी मन्त्रालयका सहसचिवहरु सहित कार्यालयका कर्मचारी पनि अभिलेख राखिएको ठाउमा पुगेँ ।

जहाँ करिब दुई लाख शिक्षकहरुको अभिलेख सुरक्षित राखिएको छ । मन्त्रीले एक एक दराज र अभिलेखको अवलोकन गरिसके पछि यसलाई अनलाइनमा राखियो की नाई ? भनेर जिज्ञासा राखे ।
कार्यालयका कर्मचारीले अनलाइनको काम शुरु भएको र केही समयभित्रै सबैको अभिलेख अनलाईनमा राखिने बताए ।

मन्त्रीले अभिलेखको अवलोकन गर्दै जाँदा केही अभिलेख खुल्ला ठाउँमा टाँगेर  राखेको पनि देखे ।

‘यो के हो ? मन्त्रीले सोधे ।

‘शिक्षकको अभिलेख नै हो । तर राख्ने दराज छैन, त्यसैले यसरी राखेको ।’ किताबखानाका कर्मचारीले भने ‘शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा पटक पटक प्रस्ताव पठायौँ । सुनुवाई नै भएन ।’

‘कति चाहिने हो ?’ मन्त्रीले सोधे ।

‘१५ लाख’ कर्मचारीले जवाफ फर्काए ।

‘१५ लाख पनि नदिने कस्तो मन्त्रालय हो ?’ मन्त्रीले हाँस्दै भनेँ ।

मन्त्रीले यति भन्दा सबैजना गलल हासेँ ।

‘चाहिएको कामलाई १५ लाख नदिने नचाँहिदा काममा बजेट बाडेँको बाँड्यै गर्ने !’ मन्त्रीले मन्त्रालयका कर्मचारी प्रति ब्यङ्ग गरे झैं गरेर भने ‘आउने बजेटमा १५ लाख आउँछ जे जे गर्नु छ, गर्नुहोला ।’
मन्त्रीले यति आवश्वास दिए पछि किताबखानाका महानिर्देशक ढुंगाना मुसुमुसु हास्दै भने ‘कार्यालयका कामका लागि बजेट माग्न पनि मन्त्री ज्युलाई नै ल्याउनु पर्ने हाम्रो व्यवस्था अचम्मको छ ।’

प्रकाशित मिति २०७२ चैत २६ गते

प्रतिक्रिया