Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षकलाई परिचयपत्र

शुक्रबार, २६ चैत्र २०७२

काठमाडौं – लामो समय शिक्षण पेशामा रहेर काम गरेका शिक्षकलाई ‘सेवानिवृत्त परिचयपत्र’ वितरण कार्य शुरु गरिएको छ । विद्यालय शिक्षक किताबखानाको १९ औँ स्थापना दिवसका अवसरमा परिचयपत्र वितरण कार्य शुरु गरिएको हो ।  

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार आयोजित कार्यक्रममा सेवानिवृत्त शिक्षक ८१ बर्षीय रोहिणी प्रसाद खनाललाई परिचयपत्र वितरण गरेर उक्त कार्यको सुरुवात गरे । परिचय पत्र पाएपछि शिक्षक खनालले सरकारले सम्मान गर्ने कामलाई निरन्तरता दिएकोमा खुशी लागेको बताए । कार्यक्रममा टीका खनाल, छविलाल भट्टराई लगायत करिब १० जना सेवानिवृत्त शिक्षकलाई परिचयपत्र वितरण गरियो । 

कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले शिक्षण पेशामा लामो समय योगदान गरेका व्यक्तिलाई सरकारले सम्मान गर्ने महत्वपूर्ण कामको शुरुवात भएको बताए । ‘शिक्षकका लागी यो ऐतिहासिक कामको शुरुवात हो’ मन्त्री पोखरेलले भने ‘शिक्षण पेशालाई अझ मर्यादित र सम्मानित बनाउन सरकारले गर्ने काममा कमी हुने छैन ।’

उनले शिक्षण पेशालाई मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै यस्ता कामलाई भोलीका दिनमा थप निरन्तरता दिइने पनि बताए । कार्यक्रममा किताबखानाका महानिर्देशक शेर बहादुर ढुंगानाले निजामति कर्मचारीलाई परिचयपत्रको व्यवस्था भए पनि शिक्षकका लागी हुन नसकेकोले किताबखानाको स्थापना दिवसका अवसर पारेर उक्त काम शुरु गरेको बताए ।

ढुंगानाका अनुसार हाल देशभरका ४ हजार ३ सय ७ जना शिक्षकलाई उपदान उपलब्ध गराई सकिएको छ । उनीहरुलाई ‘सेवानिवृत्त परिचयपत्र’ पनि वितरण गरिने उनले बताए ।

किताबखानाले हाल सेवारत १ लाख ७ हजार ८ सय ६० जना शिक्षकको अभिलेख राखेको छ भने फागुनसम्ममा ८४ हजार १ सय ६७ जनाको व्यक्तिगत विवरण ‘सिटरोल’ भरी अद्यावधिक गर्ने काम गरेको छ । यी मध्ये ३५ हजार १ सय ४९ शिक्षकलाई निवृत्तिभरण अधिकार पत्र (पेन्सनपट्टा) पनि उपलब्ध गराई सकेको उनले बताए ।

प्रकाशित मिति २०७२ चैत २६ गते 

प्रतिक्रिया