Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

अत्याधिक विद्युत प्रवाहले विद्यालयमा क्षति

शुक्रबार, २६ चैत्र २०७२

काठमाडौँ, २६ चैत । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ सिगलपट्टिमा बुधबार अपराह्न अत्यधिक विद्युत प्रवाह हँुदा ५० भन्दा बढी स्थानीय बासिन्दाका घर र तीन विद्यालयमा आगलागी हँुदा लाखौँ रुपैयाँको क्षति पुगेको छ ।  

एउटै विद्युत्को पोलमा जडान गरिएको दुई फेस र तीन फेस विद्युत् लाइन हावाहुरीका कारण एकआपसमा ठोक्किँदा बढी विद्युत् प्रवाह भई आगलागी हुँदा स्थानीय बासिन्दाका घर र विद्यालयमा क्षति भएको हो । स्थानीय बासिन्दा प्रकाश ऐरका अनुसार अत्यधिक विद्युत् प्रवाह हँुदा घरमा राखिएका पङ्खा, टेलिभिजन, फ्रिज, सिँचाइ मोटर, खाद्यान्न, लत्ताकपडालगायत जलेर क्षति पुगेको छ । घरमा विद्युत् प्रवाहका लागि जडान गरिएको विद्युत् लाइन पुरै जलेर नोक्सानी पुगेको उनले बताए ।   दुई दिनअघि मात्रै रु २५ हजारमा खरिद गरेर ल्याइएको फ्रिज र रु ६० हजार मूल्यको टेलिभिजन सेट जलेर नोक्सानी भएको राजेन्द्र बोहराले बताए ।

बस्तीका सातभन्दा बढी घरमा लागेको आगो स्थानीयवासीको प्रयासमा नियन्त्रण गरिएको उहाँको भनाइ छ । “अधिक विद्युत् प्रवाहबाट झन्डै रु ६० लाखभन्दा बढीको क्षति पुगेको छ”, स्थानीय करनबहादुर भण्डारीले भने, “नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण एकै महिनामा चौथो पटक क्षति व्यहोर्न बाध्य भएका छौँ ।” एउटै पोलमा राखिएका दुई लाइनको दूरी नजिक हुँदा सामान्य हावाहुरीबाट पनि आगलागी हुँदै आएपनि बेवास्ता भएको उनले बताए ।  

यसैगरी, अत्यधिक विद्युत् प्रवाहबाट राष्ट्रिय उच्च माविका सात कम्प्युटर र २९ वटा पङ्खा, अमृता बाल विद्यालयका एक दर्जनभन्दा बढी पङ्खा र सातवटा कम्प्युटर र कालिका माध्यमिक विद्यालयका २० पङ्खा जलेर नोक्सानी भएको छ । राष्ट्रिय उच्च माविका चौकीदार शङ्करबहादुर बमले भने, “उच्च माध्यमिक तहका कक्षामा पढाइ हँुदै गरेका बेला एक्कासि पङ्खा जलेर कक्षा कोठामा खस्न थालेपछि विद्यार्थी, शिक्षक सबैको भागाभाग भयो, धन्न कसैलाई पनि चोटपटक लाग्न पाएन ।”  

नेपाल विद्युत् प्राधिकरणको झलारी फ्युजसेवा केन्द्रका प्रमुख खगेन्द्र भट्टले सर्ट सर्किट हुँदा स्थानीय बासिन्दाको घरमा र विद्यालयमा क्षति पुगेपनि क्षतिको यकिन विवरण उपलब्ध हुन नसकेको बताए । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले विद्युत्बाट भएको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको बताउनुभयो । एउटै पोलमा दुईवटा लाइन नजिकै राखेर जोड्ने प्राधिकरणका कर्मचारीमाथि कार्वाही हुनुपर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । 

रासस 

 

प्रतिक्रिया