Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

मुस्ताङमा यस बर्ष पाठ्यपुस्तक पुग्यो

शुक्रबार, २६ चैत्र २०७२

काठमाडौँ, २६ चैत । हिमाली जिल्ला मुस्ताङका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । जिल्लामा हिउँद समयमा अत्यधिक चिसो हुने भएकाले फागुन १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने मङ्सिर मसान्तमा शैक्षिकसत्रको अन्त्य हुन्छ ।  

उपल्लो मुस्ताङका विद्यालयलाई सदरमुकाम जोमसोमबाट, लेते, कोबाङ र मार्फा क्षेत्रमा म्याग्दी सदरमुकामबाट पुस्तक आपूर्ति भएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ ।  

मुस्ताङका अधिकांश पुस्तक व्यवसायीले पोखराबाट हवाई मार्ग हुँदै जिल्लामा पुस्तक आपूर्ति गर्दै आएका छन् । यस वर्षको शैक्षिकसत्रमा व्यवसायीसँगको सहकार्यमा समयमै पुस्तक उपलब्ध गराइएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए । “जिल्लामा अहिले विगतका वर्षहरु जस्तो पुस्तकको अभाव छैन”, जिशिअ न्यौपानेले भने – “सबै विद्यालयले पुस्तक ढुवानी गरेर पनि अध्यापन सुरु गरिसकेका छन् ।”  

सरकारले विद्यालयलाई नै पुस्तक खरिद र ढुवानीका लागि बजेट विनियोजन गर्दै आएको छ । जिल्लामा ५५ सामुदायिक, चार संस्थागत र आठवटा गुम्बा गरी ६४ वटा विद्यालय सञ्चालनमा रहेका छन् । “जिल्लामा दुई हजार ५०० भन्दा बढी विद्यार्थी छन्, सबैको हातमा पुस्तक पुगेको पाएका छौँ” – उनले भने ।  
रासस

 

प्रतिक्रिया