Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

परीक्षा ‘कडा’ भन्दै विद्यार्थीले बीचैमा छोडे एसएलसी

शुक्रबार, २६ चैत्र २०७२

काठमाडौँ, २६ चैत्र । ‘एसएलसी पास गर्नुपरे जुम्ला जानुपर्छ’ भन्ने भनाई रहेको जुम्लामा यस वर्ष एलएलसी ‘कडा’ भएको भन्दै जुम्लाका अधिकांश विद्यार्थीले बीचैमा परीक्षा छोडेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा संचालित परीक्षा व्यवस्थीत, शान्तिपूर्ण र कडा भएपछि विद्यार्थीहरुले बीचमै परीक्षा छाडेका हुन् । गत वर्षहरुमा परीक्षा केन्द्र बाहिर अभिभावकहरुको भीडभाड निकै देखिन्थ्यो तर यसपटक भने परीक्षा केन्द्रहरु सुनसान छन् ।

खुला विद्यालयको परिक्षा केन्द्र रहेको कर्णाली माध्यमिक विद्यालय अनामनगरमा परिक्षाको पहिलो दिन १ सय ९४ जना विद्यार्थी परीक्षा दिन उपस्थित थिए । तर, विज्ञान विषयको परीक्षासम्म आइपुग्दा कडा भएको भन्दै विद्यार्थीले परीक्षा दिन छाडेका थिए ।

विज्ञान विषयको दिनदेखि नियमित र एक्जाम्टेड तर्फ गरि ६५ जना विद्यार्थीले परिक्षा बीचमै छाडेर गएको कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष समृता बुढाले बताइन् । उनले भनिन्, ‘विगतका वर्षहरुझै शिक्षकले उत्तर पुस्तिका नै परिवर्तन गरिदिने, चिट चोराउने, परीक्षा फितलो हुने नदेखेपछि विद्यार्थीहरुले परीक्षा छाडेका हुन् ।’

अहिले उक्त केन्द्रमा १ सय २९ जना परिक्षार्थीले मात्र परिक्षा दिइरहेका छन् । नक्कली परिक्षार्थी बनी परिक्षा दिन आउने १० जनालाई आवश्यक कागजातहरु पेश गर्न पत्र काटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

उनका अनुसार नक्कली परीक्षार्थी हुन सक्ने भन्दै गत वर्ष फेल भएको एसएलसीको मार्कसिट, रजिष्ट्ेशन फर्मको अर्धकट्टी, कक्षा ८ को र्माकसिट पेश गर्न पत्र काटिएको छ । खुला केन्द्रमा परीक्षा दिन अधिकांश विद्यार्थीहरु जिल्ला बाहिरबाट आउने गरेका छन् ।

यस वर्ष जुम्लामा १३ वटा केन्द्रहरु परीक्षा भइरहेको छ । परीक्षा फितलो हुने, विद्यार्थीहरुको पढाइभन्दा चिट चोर्नमा ‘मनोबल बढाउने’ लगायतका क्रियाकलाप हुने गरेको भन्दै यसपटक केन्द्राध्यक्ष चयनदेखि नै कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया