Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

साझा प्रकाशनको गरीबी : निर्माणाधिन भवनमै साधारणसभा !

शुक्रबार, २६ चैत्र २०७२

काठमाडौँ - मुलुककै जेठो प्रकाशन भएर पनि पछिल्लो समय दयनीय अवस्थामा पुगेको साझा प्रकाशनले आफ्नो २३ औँ साधारण सभा सम्पन्न गरेको छ ।  २०६५ सालपछि हुन नसकेको प्रकाशनको आठ बर्षपछि बिहीबार सम्पन्न साधारणसभाबाट  अंशियारतर्फको तीन सञ्चालक पदमा जीवनचन्द्र कोइराला, डा. विजय सुब्बा र हरिहर खनाल विजयी भए । कोइराला कांग्रेस, सुब्बा एमाले र खनाल एमाओवादी निकट हुन् । 

कुल ५३४ मत खसेकामा कोइरालाले ३८९, सुब्बाले ३७५ र खनालले ३४३ मत प्राप्त गरेका थिए । पराजित भएका अर्का उम्मेद्ध्वार मनोहर लामिछानेले २०४ मत मात्रै पाए । निर्वाचनमा २७ मत बदर भएका निर्वाचन समितिका संयोजक डा कृष्णहरि बरालले बताए ।  

सधैका बर्षझै यस बर्ष पनि राजनीतिक दलकै प्रतिनीधि साधारणसभाबाट सञ्चालक पदमा पुगेका छन् । गएका बर्षमा राजनीतिक भागबण्डाले नै साझाको अवस्था यो हालतमा पुगेको भन्दै धेरैले बुद्धिजिवी वर्ग नै साझाको सञ्चालक पदमा आउनुपर्ने माग गरेका थिए ।  

विजयी भएका तिनै जनाले साझाको विकास र विस्तारलाई नयाँ उचाईमा पुर्याउने दाबी गरेका छन् ।  २०२१ सालमा स्थापना भएको साझा प्रकाशन अहिले पनि साहित्य र श्रष्टाको धरोहरका रुपमा परिचित छ । तर पहिलेको जस्तो साहित्यिक किताबहरु प्रकाशन र विक्री हुन छाडेपछि साझालाई पुरानै अवस्थामा फर्काउन महाप्रबन्धक तथा सञ्चालक समितीका अध्यक्ष डोलिन्द्र शर्मा लागिपरेका छन् । 

अहिले पनि करिब ४० करोड ऋण बोकिरहेको साझालाई बचाउन भन्दै महाप्रबन्धक पदमा नियुक्त भएका डोलिन्द्र शमाले पूर्वशिक्षामन्त्रीदेखि विभिन्न दलका प्रमुख नेतासंग पनि साझा बचाउ अभियानमा ‘लबिङ’ गरिरहेका छन् । सबैले सहयोग गर्छु भन्ने बचन दिएपनि यसको उत्थान भने कछुवाकै गतिमा भइरहेको छ । 

बिहीबार आयोजित साधारणसभाको उद्घाटन कार्यक्रममा सञ्चालक समितीका अध्यक्ष शर्माले पेश गरेको प्रतिवेदनमा साझालाई ४० करोड बराबरको ऋण रहेको उल्लेख छ । विगतका दिनमा प्राथमिक तहका पाठ्यपुस्तक विक्री वितरण गर्दै आएको साझाले दुई बर्षयता सो जिम्मेवारी पनि पुरा गर्न सकेको छैन् । 

४ बर्षमा भवन बनेन, अख्तियारको छानबिन 

साझा प्रकाशनले किताब छाप्न र भण्डारणका लागी निर्माण शुरु गरेको भवन चार बर्षसम्म पनि बन्न सकेको छैन् । लामो समयसम्म पनि भवन नबनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो भवनमाथी छानबिन गरिरहेको छ । बिहीबार त्यही भवनमा साझाले आठ बर्षपछि आफ्नो साधारणसभा सम्पन्न गर्यो ।  

आर्थिक हिनामिना गरेको भन्दै अख्तियारले पूर्व सञ्चालक समितीमाथी पनि छानबिन अगाडी बढाएको छ । सहकारी विभागले भवन बनाउने जिम्मा लिएपनि अहिलेसम्म सो भवन बन्न सकेको छैन् । 

साझाकै एक कर्मचारीका अनुसार ४ करोड बजेट छुट्याइएको सो भवन निर्माण नहुँदा नै पुरानो सञ्चालक समिती र भवनको फाइल अख्तियारको छानबिनमा परेको हो ।   ममता झा नेतृत्वको सञ्चालक समितीले साझालाई टाट पल्टाउने अवस्थामा पुर्याएको पनि ती कर्मचारीले बताए ।  

हालका सञ्चालक शर्माले अख्तियारले छानबिन गरिरहेको भएपनि भवन निर्माणको बाँकी काम अगाडी बढीसकेको बताए । उनले अबको एक बर्षमा भवन बनिसक्ने पनि दाबी गरेका छन् ।   त्यै भवनमा बिहीबार आयोजित २३ औँ साधारणसभाको उद्घाटन कार्यक्रमले आमन्त्रण गरिएकाहरु धेरैलाई खल्लो तुल्यायो । कतिपयले आफ्ना जिज्ञासा राख्ने क्रममा नै आफुलाई लज्जित तुल्याएको बताएका थिए । 

राष्ट्रकवि माधवप्रसाद घिमिरे, सस्ंकृतिविद सत्मोहन जोशी, पूर्वशिक्षामन्त्री दिनानाथ शर्मा र प्रदीप नेपाल सहभागी कार्यक्रममा सयौँ साहित्यकार तथा श्रष्टाहरु उपस्थित थिए ।  

प्रकाशित मिति २०७२ चैत्र २६ गते । 

प्रतिक्रिया