Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

रोकिएन एसएलसी ठेक्का, शिक्षाका कर्मचारी नै मिलाउँछन् सेटिङ

विहीबार, २५ चैत्र २०७२

काठमाडौं – विगत बर्षहरुमा जस्तै यसबर्ष पनि तराईका केही जिल्लामा एसएलसीको परीक्षा  ठेक्कामा सञ्चालन भएको फेला परेको छ । यस बर्ष एसएलसीको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक हुने भए पनि यसअघि पटक–पटकको प्रयासमा एसएलसी उत्र्तिण हुन नसकेका विद्यार्थीलाई शहरी क्षेत्रका ब्यवसायिक प्राईभेट ईन्स्टिच्युटहरुले एसएलसी उत्र्तिण गराउने ठेक्का लिएर परीक्षामा सहभागी गराएका हुन् ।

शहरमा ईन्स्टिच्युट सञ्चालन गर्ने गिरोहले आफुहरुले सेटिङ् मिलाएका परीक्षा केन्द्र मार्फत यसबर्ष पनि एसएलसीको ब्यापार गरेका छन् । लामो समयसम्म तराई मधेशमा भएको आन्दोलनका कारण पठन पाठन नभए पछि पूर्वि तराईका जिल्लामा परीक्षाले सबैको ध्यान केन्द्रित गरे पनि एसएलसी परीक्षा पास गराउन ठेक्का लिने गिरोहले त्यसको फाईदा उठाएका छन् । एसएलसी परीक्षा अवधीमा पूर्वी तराईका जिल्लामा स्थलगत अध्ययन/अवलोकनका लागि निस्किएका शिक्षा पत्रकार प्रकृती अधिकारीले केन्द्र खरीद गरेर परीक्षा दिने क्रम यसबर्ष पनि नरोकिएको बताए ।

रौतहट, बारा र पर्सा पुग्दा पास हुने ठेक्कामा परीक्षा दिईरहेका विद्यार्थी भेटिएको अनुभव उनले सुनाए । उनले भने “रौतहट सदरमुकामा पुग्दा अन्यत्र जिल्लबाट एसएलसी दिन आएका सयौं विद्यार्थी होटलमा बसेर परीक्षामा सहभागी भएको समेत फेला पारियो ।” अझै पनि शिक्षामा ब्यवसाय गर्ने एजेन्टहरुले एसएलसी पास गराउन तराईका जिल्लाहरुमा खरीद हुने सेन्टर पत्ता लगाएर ब्यापार गरिरहेको पत्ता लागेको अधिकारीले जानकारी गराए ।

त्यस्ता एजेन्टहरुले बिकाउ विद्यालय र शिक्षा कार्यलयमा सम्पर्क गरेर नै ठेक्कामा एसएलसीको ब्यापार चलाईरहेका छन् । रौतहटको एक होटलमा बास बस्दा पत्रकार अधिकारीले भेटेका विद्यार्थी चितवन, मकवानवुर लगायतका जिल्लाबाट एसएलसी पास हुने गरी परीक्षा दिन आएको बताएका थिए । त्यस्ता परीक्षार्थीलाई परीक्षा दिलाउन एजेन्टहरुले शिक्षा कार्यलयका कर्मचारी मार्फत जिल्लाका भित्री ग्रामिण क्षेत्रका केन्द्रमा पु¥याउने गरेका रहेछन् ।

यस अघिको परीक्षा प्रणालीमा एसएलसी उत्र्तिण हुन नसकेका विद्यार्थीलाई संकलन गरेर उनीहरुले ठेक्कामा एसएलसी संचालन गर्दै आएका छन् । यसबर्ष पनि त्यो क्रम नरोकिएको पत्रकार अधिकारीको भनाई छ । सामान्य विद्यार्थीलाई ७५ प्रतिशत दैनिक हाजिरी हुनुपर्ने नियम सहितको ब्यवस्था छ । तर ठेक्कामा एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीको हकमा त्यो नियमले पनि अवरोध नगरेको पाईएको छ ।

त्यसैगरी पश्चिम तराईको जिल्ला कपिलवस्तुमा पनि खुला विद्यालयको नाममा करिब १ सय त्यस्ता विद्यार्थीले परीक्षा दिईरहेका छन् । बुटबलको एक ईन्स्टिच्युटले विद्यार्थीलाई एसएलसी पास गराईदिने ठेक्का लिएर कविलवस्तु पु¥याएको फेला परेको छ । स्थानीय पत्रकार किरणमान वज्राचार्यका अनुसार तौलिहवाको सिद्धार्थ बोर्डिङमा केन्द्र कायम गरेर त्यस्ता विद्यार्थीले परीक्षा दिईरहेका छन् ।

कविलवस्तुमा विगत बर्षमा जस्तै उत्र्तिण हुन आउने संख्यामा कमी नआएको उनले बताए । करिब १ सय विद्यार्थी बुटबलदेखि गाडी नै रिजर्भ गरेर परीक्षा दिन कपिलवस्तु सदरमुकाम तौलिहवा आवत जावत गरिरहेको उनले बताए । पत्रकार वज्राचार्यले भने “बुटबलको प्राईभेट ईन्स्टिच्युटले कपिलवस्तुमा परीक्षा दिलाउन कुन हैसियतले ल्यायो भन्ने कुरा जिज्ञासाको बिषय भएको छ ।” ती विद्यार्थीले खुला विद्यालयका नाममा बुद्धपद्म माबिले सञ्चालन गरेको विद्यालयमा भर्ना भएर परीक्षामा सहभागी भएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताए । उनले विगत बर्षहरुका तुलनामा यसबर्ष जिल्लामा परीक्षा मर्यादित भएको दाबी गरे ।

परीक्षा केन्द्र रहेको विद्यालयका प्रअ नैं परीक्षा केन्द्राध्यक्ष रहने ब्यवस्था भएकाले परीक्षा सहज रुपमा सञ्चालन गर्न सहज भएको गौतमले बताए । जिल्लामा २६ केन्द्रबाट करिब ८ हजार विद्यार्थीले परीक्षा दिईरहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । जिशिअ गौतमले भने “यसबर्ष पनि कपिलवस्तुमा एसएलसी ठेक्कमा संचालन भयो भनेर शंका गर्नु बेकार हो ।” विगत बर्षमा परीक्षामा अनियमतिता हुने गरेको स्मरण गर्दै यसबर्ष मर्यादित परीक्षा सञ्चालन गराउन आफु सफल भएको गौतमको दावी छ ।

ठेक्कामा परीक्षा दिलाउन सकृय गिरोहले जिल्ला शिक्षा कार्यलयका पुराना कर्मचारीलाई हात लिएर यस्तो काम गर्दै आएका छन् । त्यस्ता कर्मचारीले स्थानीय विद्यालयका प्रअहरुसँगको मिलोमतोमा काम गर्ने श्रोतले बतायो । यसबर्ष पनि त्यो गिरोहले बाहिरी जिल्लाका विद्यार्थी जिल्लामा ल्याएर एसएलसी दिलाउन सफल भएको छ ।

ठेक्कामा एसएलसी दिलाउने गिरोहले विगत बर्षमा जस्तै तराईका कतिपय जिल्लामा जिल्ला शिक्षा कार्यलय मार्फत सेटिङ मिलाएर आफ्नो ब्यापार चलाएका छन् । तर शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यलयले भने परीक्षा मर्यादीत भएको दाबी गर्दैं आएको छ ।

मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख डा. डिल्लीराम रिमाल परीक्षा मर्यादित रुपमा सञ्चालन भएको दावी गर्छन् । अनुगमनका क्रममा संखुवासभा, तेह्रथुम, धनकुटा हुदै मोरङ पुगेका रिमालले फोनमा भने ‘पहिलेको भन्दा परीक्षामा धेरै सुधार भएको फेला पारेको छु ।’

परीक्षाको अनुगमन गर्न मन्त्रालयले संघीय प्रदेश अनुसार सह–सचिवलाई जिल्ला जिल्ला खटाएको थियो । १७ जना सहसचिवको छुट्टा छुट्टै समूह बनाएर भएको अनुगमनले परीक्षा मर्यादीत भएको दाबी गर्दै आफ्नो रिपोर्ट तयार गरिरहेको मन्त्रालय श्रोतले जनाएको छ ।

फाईल फोटो

प्रकाशित मिति २०७२ चैत २५ गते

प्रतिक्रिया